जेनभा, १ वैशाख । सिरियामा गएको पाँच वर्षदेखि जारी रहेको हिंसाको अन्त्यका लागि बुधबारबाट शान्ति वार्ता सुरु भएको खबर छ ।
उक्त वार्ता जेनेभामा सुरु भएको बताइएको छ । बुधबारबाट सो वार्ता जेनेभामा सुरु भएको समाचार संयुक्त राष्ट्रसङ्घीय अधिकारीले पनि दिएका छन् ।
बुधबार यता सिरियामा सरकारी नियन्त्रणमा रहेका स्थानहरुमा आमनिर्वाचनको लागि नागरिक मतदान गर्न लामबद्ध भएका छन् । यसै दिन उता जेनेभामा भने शान्तिवार्ता सुरु भएको बताइएको छ ।
बुधबार सिरियामा संसद्को निर्वाचनका लागि मतदान सुरु भएको छ । यस निर्वाचनलाई विपक्षीहर भने बहिस्कार गरेका छन् । तर सरकारी नियन्त्रणमा रहेका कतिपय स्थानमा बुधबार मतदान हुँदैछ ।
जेनेभामा बुधबार सुरु भएको शान्ति वार्ताको मध्यस्थता संयुक्त राष्ट्रसङ्घले गरेको छ । यस वार्तामा सिरियाली सरकारका प्रतिनिधिको सहभागिता छ ।
यस वार्ताको अगाडि सिरियाली राष्ट्रपतिका विशेष प्रतिनिधि, रसिया र इरानी अधिकारीहरुसँग पनि राष्ट्रसङ्घीय प्रतिनिधिले भेट गरेका छन् ।
वार्ताको सुरुवातभन्दा अघि गरिएको यस भेटका क्रममा रसिया र इरानले वार्ताको निकासका लागि राष्ट्रसङ्घलाई आग्रह गरेको बताइएको छ ।
सिरियामा दुई महिना अघिदेखि नै युद्धविराम सुरु भएको हो । युद्धविरामको अवस्था अहिले पनि कायमै छ । तर यति लामो समयसम्म पनि सिरियाका बारेमा वार्ता भने सुरु हुन सकेको थिएन ।
रसिया सिरियाको सहयोगी देश हो । यस वार्ताको अगुवाई पनि अमेरिका र रसियाले नै गरेका हुन् । तर सिरियाली विपक्षीले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको थिएन ।
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ ।
सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजारभन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएका तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ ।
यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब नौ हजार महिला रहेका छन् ।
यसैगरी गैरजिहादी विद्रोही लडाकू ४६ हजार ५०० जना जति मारिएका छन् भने हजारौँको सङ्ख्यामा इस्लामिक र अतिवादी लडाकूहरु पनि परेका छन् । यी लडाकूहरुमा विदेशीसमेत रहेका छन् ।
सिरियामा आन्दोलनरत विपक्षीहरुले आ–आफ्ना हिंसात्मक गतिविधि रोक्नुका साथै आगामी दिनमा अन्य विभिन्न अतिवादी समूहहरुका तर्फबाट संचालित हिंसाको अन्त्यका लागि पनि पहल गर्र्ने विषयमा दुई शक्ति राष्ट्र अमेरिका र रसियाको सहमति भएको थियो ।
अब सिरियामा स्थायी शान्ति आउछ भन्ने बलियो आशा जागेको जनताले जनाएका छन् । यस वार्ताप्रति आपूmहरु आशावादी रहेको जानकारी यसअघि पनि बताउदै आएका छन् ।
निर्वाचनलाई मान्यता छैन–राष्ट्रसङ्घ
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार हाल सिरियामा सुरु भएको भनिएको आमनिर्वाचनका लागि संयुक्त राष्ट्रसङ्घले मान्यता नदिने बताएको छ ।
सिरिया हाल कतिपय प्रान्त विपक्षीहरुको कब्जामा रहेको छ । सीमित मात्र भूभाग आफ्नो कब्जामा रहेको भएपनि राष्ट्रपतिले आमनिर्वाचनको आह्वान गरेका छन् ।
तर सो निर्वाचन अवैधानिक रहेको भन्दै पाँच वर्षदेखि आन्दोलन जारी राखेका विपक्षीहरुले निर्वाचनमा सहभागिता नजनाउने जनाएका छन् ।
देशका सबैजसो नागरिकले मतदानमा सहभागिता जनाउने अवस्था नरहेको र लाखौँ लाख नागरिक देश छोडेर भाग्नुपर्ने अवस्था रहेकोले यो निर्वाचन वैधानिक नरहेको धारणा राष्ट्रसंघको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki