खिम्ति—ढल्केबर आयोजनाः थातथलो छाड्नुपर्ने भएपछि चिन्तित

diyopost.com
दियो पोस्ट   शुक्रबार, बैशाख ०३, २०७३ | ५:१९:१८

सिन्धुली , ३ वैशाख । कमलामाई नगरपालिकाका विभिन्न गाविसका स्थानीयवासी लामो समयदेखिको थातथलो छाड्नुपर्ने भएपछि चिन्तित देखिन्छन् ।

खिम्ति—ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न हाइटेन्सनका टावर विस्तार गर्ने क्रममा बाबुबाजेका पालादेखि भोगचलन गर्दै आएको पैतृक सम्पत्ति छाड्न पर्दा उनीहरु केही गम्भीर देखिएका हुन् ।

उनीहरु आफ्नो गाउँमा विद्युत् विकास हुन लागेकोमा भने खुसी भएका छन् । सोझासिधा केही गाउँले मुआब्जा लिनसमेत गएका छैनन् । केही टाठाबाठाले भने आयोजनाबाट प्राप्त रकमलाई सदुपयोग गरी काठमाडौँमा समेत घर तथा सम्पत्ति जोडेका छन् ।

नगरपालिकाअन्तर्गत ठूलीटार, रतनचुरा, भद्रकाली, कर्करे, बकुडाडालगायत गाविसका गाउँलेले खिम्ति—ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन पीडित सङ्घर्ष समिति गठन गरी पीडित पक्षलाई हकहितलाई ध्यान दिन आग्रह गरेका छन् । समितिले सम्बन्धित पक्षलाई दबाब दिन धर्नासमेत दिँदै आएको थियो । स्थानीय प्रहरी प्रशासनले गत आइतबार धर्नास्थलमा सामान्य बल प्रयोग गरी आयोजना अगाडि बढाएको छ । प्रहरीसँगको सामान्य झडपमा परी केही गाउँले घाइतेसमेत भएका छन् ।

समितिका अध्यक्ष सुरेन्द्रस्वर मोक्तानले न्यायोचित रुपमा क्षतिपूर्ति तथा आयोजनाबाट प्राप्त हुने रोजगारीको अवसर, सेयर लगायतमा सहभागी गराउन माग गरे ।

खिम्ति—ढल्केबरको आयोजना विश्व बैङ्कको लगानीमा सन् २००२ मा सुरु भएको थियो । सन् २००६ मा आयोजना कार्यान्वयनका लागि ठेकेदारसँग सम्झौता भएको थियो । सन् २००९ मा आयोजना सक्ने लक्ष्य राखिएको थियो । विभिन्न कारणले ती कार्य पूरा हुन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले सो आयोजनाले देशको विद्युत् उत्पादनमा ठूलो महत्व राख्ने र अन्य आयोजनाका समेत विद्युत्लाई त्यहीँबाट तान्ने व्यवस्था गरिएकाले त्यसलाई कसैले पनि अवरोध गर्न नहुनेमा जोड दिए। उहाँले राष्ट्रिय गौरवको आयोजनालाई कसैले पनि अवरोध गरेमा त्यसलाई अगाडि बढाउन आवश्यक सुरक्षा स्थानीय प्रशासनले मिलाउने जानकारी दिए ।

लामो समयसम्म रोकिएको आयोजना सम्बन्धित पक्षको सरोकार भएका कारण तथा सरकारले सुरक्षा प्रदान गरेका कारण अगाडि बढाउन लागिएको छ । यसलाई अगााडि बढाउने क्रममा अवरोध गर्न नहुने र विभिन्न पक्ष विपक्षमा गाउँले विभाजित हुन पनि हुँदैन ।

खिम्ति—ढल्केबर आयोजना प्रमुख श्याम यादवले स्थानीयलाई नियमअनुसार दिनुपर्ने सुविधा उपलब्ध गराइसकिएको जानकारी दिँदै आयोजनालाई चाँडो सम्पन्न गर्न सकेमा त्यसको लाभ स्थानीयवासीले पनि प्राप्त गर्ने बताए।

त्यस क्षेत्रमा १५९ कित्ता जग्गा अधिग्रहण गरिएकोमा सडक विभागले करिब रु २२ करोड तथा आयोजनाले रु ६ करोड मुआब्जाबापत उपलब्ध गराएको छ । २९ जनाले मात्र मुआब्जा बुझेका छैनन् ।

स्विजरल्यान्ड सरकारले निर्माण गरिदिएको स्विस सिन्धुली सेकेन्डरी इङ्गलिस स्कुल पनि हाइटेन्सन विस्तारका क्रममा प्रभावित भएको छ जहाँ सुलभ मूल्यमा अङ्ग्रेजीमा स्थानीय विद्यार्थीलाई अध्ययन गराइँदै आएको छ । कक्षा १ देखि १० सम्म पढाइने विद्यालयमा १६ शिक्षक तथा ३०० विद्यार्थी छन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष बमविक्रम थापाले स्थानीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै विद्यालयको विकल्पको माग गर्नुभयो ।

उहाँले प्राचीन समयदेखि बसेका मानिसको संस्कृति र रीतिरिवाजलाई विस्थापित गर्न नहुने विचार व्यक्त गरे ।

नेपालका आदिवासीको मानवअधिकारसम्बन्धी वकिल समूहका वकिल भीम राईले कुनै पनि स्थान तथा क्षेत्रमा विकास गर्ने क्रममा त्यहाँ आदिमकालदेखि बसोबास गर्दै आएका मानिसको भावनालाई सम्मान र सम्बोधन गर्नुपर्ने बताए ।

सम्बन्धित खबर