फुजेलका अधिकारी हत्या मुद्दाको साक्षी बकपत्र सुरु

दियो पोस्ट  

चितवन, ५ वैशाख । फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्र आजबाट जिल्ला अदालत चितवनमा सुरु भएको छ । वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु गरिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार विद्याराज पौडेलले बताए।

सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको बकुलहर आएको बेला कृष्णप्रसादको अपहरण पछि अज्ञात समुहले हत्या गरेको थियो ।
सो हत्यासम्बन्धी अदालतमा कर्तव्यज्यान मुद्दा चलिरहेको छ । २०६१ साल जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिनुभएको थियो । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले २०७१ साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य विदेशमा रहेको बताइँदै आएको थियो । सरकारी वकिलका तर्फबाट थुनछेक मुद्दालाई पुनरावेदन अदालतमा पेस भएकामा २०७१ साल असार महिनामा पुनरावेदन अदालत हेटौँडाले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको थियो ।

सो पश्चात् सर्वोच्च अदालतमा थुनछेक बहसपछि सर्वोच्चले गत पुस ६ गते आरोपी १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नु भन्ने आदेश दिएको थियो । सो पश्चात् पौडेल फरार छन् । जिल्ला अदालत चितवनले सर्वोच्चको आदेशअनुरुप आजबाट साक्षीको बकपत्र सुरु गरेको हो ।

वकपत्र गर्नेको नाम दर्ता हुने क्रम सुरु भइरहेकाले कति जनाको बकपत्र हुन्छ भन्न नसकिने स्रेस्तेदार पौडेलले बताउनुभयो । किटानी जाहेरी परेकामा छविलाल पौडेलसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी ९क०, रामप्रसाद अधिकारी ९ख०, मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी रहेका छन् ।