चितवन, ६ वैशाख । गत नौ महिनामा जिल्लामा पूँजीगततर्फ २७ प्रतिशत मात्र खर्च भएको छ । गत वर्ष यसै अवधिमा १२ प्रतिशत मात्र खर्च भएको थियो ।
असार मसान्तमा हतारमा योजना सम्पन्न गर्ने र पुँजीगत खर्च सक्ने परिपाटीको निरन्तरताका रुपमा पूँजीगत खर्च सुरुमा कम हुने गरेको पाइन्छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यस आवका लागि जिल्लामा चालुतर्फ रु पाँच अर्ब ९४ करोड ३६ लाख १० हजार बजेट विनियोजन भएको छ भने पूँजीगततर्फ रु तीन अर्ब ३८ करोड ४४ लाख ६६ हजार विनियोजन भएको छ ।
चैत मसान्तसम्ममा चालुतर्फ ६८ प्रतिशत अर्थात् रु चार अर्ब नौ करोड ७१ लाख र पूँजीगततर्फ २७ प्रतिशत अर्थात् रु ९१ करोड ५४ लाख तीन हजार खर्च भएको छ । प्रमुख कोष नियन्त्रक नारायणदत्त शर्माले फागुन मसान्तसम्म पूँजीगततर्फ २० प्रतिशत मात्रै खर्च भएको जानकारी दिए ।
जिल्लामा पूँजीगततर्फ सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडकखण्डमा यस आवमा खर्च हुँदैछ । रु एक अर्ब ८८ करोड ८८ लाख ५२ हजार बजेट भएको उक्त आयोजनाले चैत मसान्तसम्म १९ दशमलब ८१ प्रतिशत बजेट खर्च गरेको छ । सो योजनामा रु ३७ करोड ४३ लाख १९ हजार खर्च भएको शर्माले बताए ।
यस्तै डिभिजन सडक कार्यालयका विभिन्न योजनामा हालसम्म निकासा भएको बजेट रु ४५ करोड ६९ लाख ५० हजारमध्ये रु २० करोड ४१ लाख ४९ हजार अर्थात् ४४ प्रतिशत खर्च भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको बजेट रु १५ करोड ३८ लाख ९८ हजारमध्ये रु १० करोड १४ लाख छ हजार अर्थात् ६६ प्रतिशत खर्च भएको छ ।
जिल्लाका ७९ कार्यालयमध्ये ५१ मा पूँजीगत खर्च निकासा हुने गर्छ । चालुतर्फ सबैभन्दा बढी जिल्ला शिक्षा कार्यालयका लागि रु एक अर्ब, ३९ करोड ६६ लाख ४२ हजार विनियोजन भएकोमा रु ९१ करोड ८२ लाख ४२ हजार खर्च भएको छ । गत आवमा पूँजीगततर्फ रु दुई अर्ब ६१ करोड ५६ लाख ८८ हजार बजेट विनियोजन भएकामा चैत मसान्तसम्ममा रु ३१ करोड ७५ लाख ८२ हजार मात्रै खर्च भएको शर्माले बताए ।