सर्लाही, ६ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्षले प्रचण्डले ‘मधेससँग ‘लभ’ गरेर प्रतिगामी केपी ओलीसँग विहे’ गरेको आरोप लगाएका छन् । मधेस जागरण अभियानको क्रममा मंगलबार सर्लाहीको डुमरियामा आयोजक सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘प्रचण्डले मधेसँग पटक पटक लभ गर्नुभयो तर मधेसलाई धोका दिँदै प्रतिगामी केपी ओलीसँग विहे गर्नुभयो,’ प्रचण्डलाई आरोप लगाउँदै बाबुरामले भने ।
उनले ४७ सालको संविधानलाई उत्कृष्ट भन्नेहरुले अहिलेको संविधानलाई पनि उत्कृष्ट भन्ने गरेको भन्दै संविधानमा सहमति गरेर एमाओवादीले गल्ति गरेको बताए । आफू एमाओवादीमा रहँदा पार्टीको तर्फबाट वर्तमान संविधानमा ५७ बुँदे असहमति पेस गरेको उनको भनाई थियो ।
भट्टराईले देशको नेतृत्व मधेसी, पहाडी र हिमाली मिलेर गर्नुपर्ने भन्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई अखण्ड नेपालको नारामा आउन आग्रह गरे ।
आफूलाई दक्षिणपन्थि भनेर लगाइएको आरोपको खण्डन गर्दैै उनले अरु प्रगतिशिल हुन नसक्ने ठोकुवा गरे । उनले नयाँ शक्तिलाई नजन्मिदै मार्ने षड्यन्त्र भएको भन्दै एक दिन सत्यको जित भएरै छाड्ने उद्घोष समेत गरे । भट्टराईले नयाँ शक्तिमा भ्रष्टहरु अटाउन नसक्ने ठोकुवा समेत गरे ।
मधेस जागरण अभियानमा रहेका भट्टराई दैनिक दर्जन सभाहरुमा संबोधन गर्दै हिँडिरहेका छन् ।