काठमाडौं, १० वैशाख । विप्लव नेतृत्वको नेकपा माओवादीका नेता धर्मेन्द्र बास्तोलाले माओवादी नेतालाई पक्राउ गरेको दोस्रो दिन शेरबहादुर देउवाको नाममा पक्राउ पुर्जी जारी गर्ने घोषणा गरेका छन् । ‘माओवादीलाई घेराबन्दी र पक्राउ पुर्जी जारी गरेको दोस्रो दिन हाम्रो जन अदालतले शेरबहादर देउवाको नाममा पक्राउपुर्जी जारी गर्नेछ,’ बास्तोलाले राजधानीमा आयोजित ‘माओवादीहरुको ध्रुवीकरण प्रश्न विषयक अन्तक्र्रिया कार्यक्रममा भने, ‘सरकारी दलालहरुलाई पक्राउ जारी गर्नेछौं ।’
जनयुद्धकालिन मुद्दाहरु ब्युताउन थालिएको परिवेशमा माओवादी नेताहरुले यस्तो अभिव्यक्ति दिएका हुन् ।
वास्तोलाले एमाओवादी अध्यक्ष प्रचण्डले पेरिसडाँडामा गरेको माओवादी नेताको ध्रुवीकरणलाई ‘संसदवादी’ धुर्विरणको संज्ञा दिए । त्यस्तै क्रान्तिकारी माओवादीका नेता हरिभक्त कंडेलले सिद्धान्त निष्ठ एकताको पक्षमा हुनेहरु कुनैपनि हालतमा एमाओवादीमा नजाने भन्दै मन्त्री पद खान हतारभएकाहरु र आन्दोलनबाट विचलितहरु एमाओवादीसँगको एकताको लागि हतारिरहेको बताए ।
भरखरै एमाओवादी परित्याग गरेका नेता हेमन्त प्रकाश ओली प्रचण्डलाई ‘डरपोक’को संज्ञा दिए । ‘प्रचण्ड भनेको डर पोक हुन् । जनयुद्धकालमा दूश्मन आयो भनेपछि भकारी भित्र हल्लिन्थे,’ ओलीले भने, ‘अहिले प्रचण्ड पनि हेगको पासो देखेर डराईरहेका छन् ।’