अमेरीकी विदेश मन्त्री जोन केरी नेपाल आउने

diyopost.com
bestnp  मंगलबार, बैशाख १४, २०७३ | ४:०१:३०

काठमाडौं, १४ वैशाख । अमेरिका भ्रमणमा रहेका उप–प्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र अमेरिकी विदेश मन्त्री जोन केरीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति बाराक ओबामाका प्रमुख विदेश सल्लाहाकार समेत रहेका केरी र थापाबीच नेपालको राजनीतिक अवस्था र भूकम्पपछिको पुर्ननिर्माणको विषयमा छलफल भएको अमेरिका स्थित नेपाली राजदूतावासले जनाएको छ । वासिङ्टन डिसी स्थित विदेश मन्त्रीको कार्यालयमा भएको  भेटमा थापाले केरीलाई नेपाल भ्रमणमा आउन निम्ता दिएका छन् । केरीले यो वर्षको अन्तिममा नेपाल भ्रमणमा आउने बताएका छन् ।
उप–प्रधान तथा परराष्ट्रमन्त्री थापाले नेपालको वर्तमान राजनीतिक अवस्था, संविधान घोषणा, भूकम्पपछिको पुर्ननिर्माणको विषयमा जोन केरीलाई विस्तृत जानकारी दिएका थिए । भेटका क्रममा पुर्ननिर्माणको लागि अमेरिकी सहयोगको सराहाना गर्दै थापाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताएका थिए । जोनकेरीले संविधान घोषणाको लागि नेपाल सरकारलाई बधाई दिँदै जनभावनाको संबोधन गरेर जान नेपाल सरकार अगाडी बढ्ने विश्वास व्यक्त गरे ।
आफूहरुले नेपालको शान्ति, स्थिरता र आर्थिक विकासको लागि अमेरिका जस्तो सुकै सहयोग गर्न तत्पर रहेको भन्दै केरीले नेपालले भरपुर उपयोग गर्न सक्ने उल्लेख गरे । भेटका क्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, नेपाली राजदूतावासका मिसन उपप्रमुख ऋषिराम घिमिरे लगायत सहभागी थिए । नेपाली राजदूत डा. कार्की यो  भेटवार्ताका लागि सक्रिय रहेका थिए ।

सच्याइएको : यसअघि विदेश मन्त्री हुनुपर्नेमा विदेश सचिव भएकोमा माफी सहित सच्याएका छौं ।

सम्बन्धित खबर