घुम्ती शिविरबाट सात सय जना लाभान्वित

घुम्ती शिविरबाट सात सय जना लाभान्वित

म्याग्दी १४ वैशाख । म्याग्दीको दुर्गम र विकट क्षेत्र रुममा सोमबार सम्पन्न भएको एकीकृत घुम्ती शिविरबाट करिब ७०० सर्वसाधारण लाभान्वित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सञ्चालित शिविरमा भौगोलिक रुपमा विकट बस्तीका बासिन्दालाई गाउँमै सरकारी सुविधा उपलब्ध गराइएको हो ।

सातवटा सरकारी कार्यालयको टोलीले ६९६ जनालाई विभिन्न किसिमको सेवा प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी यादव आचार्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ८२ जनालाई नागरिकता वितरण र निर्वाचन कार्यालयले ८६ जनाको तस्बिरसहितको मतदाता नामावली दर्ता गरेको छ ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालयको टोलीले ४० जनाको स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्शको साथै पाँच जनालाई अपाङ्गता सिफारिस र सात जनालाई परिवार नियोजन सेवा प्रदान गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयले २२७ जना कृषकलाई तरकारीको बिउ, परामर्श र पशु सेवा कार्यालयको टोलीले २४९ जना कृषकको एक हजार ७०९ वटा पशुपक्षीको लागि औषधि र परामर्श सेवा प्रदान गरेको सहायक प्रजिअ आचार्यले बताए ।

शिविरमा महिला तथा बालबालिका कार्यालयले पाँच जनालाई अपाङ्गता परिचयपत्र र जिल्ला वन कार्यालयले वन डढेलो नियन्त्रणसम्बन्धी सन्देश प्रवाह गरेको थियो ।

आर्थिकरुपमा विपन्न, भौगोलिक विकटता, शारीरिक अशक्ततालगायतका कारणले सदरमुकामका कार्यालयसम्म आएर सेवा, सुविधा प्राप्त गर्न नसकेका सर्वसाधारणलाई लक्षित गरेर घुम्ती शिविर सञ्चालन गरिएको हो ।

Trending News