डोटी, १४ वैशाख । यस वर्ष हिउँदेबालीको उत्पादनमा करिब ३५ प्रतिशतले कमी आउने भएको छ ।
लामो समयदेखिको खडेरीका कारण हिउँदेबाली राम्ररी फस्टाउन नपाएकाले उत्पादनमा कमी आउने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत कृष्णदत्त पाण्डेयले जानकारी दिए ।
यस्तै जिल्लाको दक्षिण पूर्वी क्षेत्रका सात वटा गाविसमा हिँउदेबालीमा ७५ प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान गरिएको छ । त्यस्तै चवरा चौतारा, सिमचौर, गगुडा गाविसमा ५० प्रतिशतसम्म उत्पादनमा गिरावट आउने तथा बाँकी गाविसमा १० देखि १५ प्रतिशतसम्म उत्पादन घट्ने बताइएको छ ।
गत वर्षको तथ्याङ्क अनुसार जिल्लामा हिउँदेबाली १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएकोमा २९ हजार ९८८ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा लगाइएको हिउँदेबाली १९ हजार ४२१ मेट्रिक टन मात्रै उत्पादन हुने कृषि विकास कार्यलयको अनुमान छ ।
विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ११ हजार ७४६ रहेको छ । वार्षिक रुपमा प्रतिव्यक्तिका लागि २११ किलो खाद्यान्न आवश्यकता पर्ने तथा वार्षिक रुपमा पूरै जनसङ्ख्यालाई ४४ हजार ६७८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने वरिष्ठ कृर्षि विकास अधिकृत डा तपेन्द्र शाहले बताए ।