पेट्रोल पम्प सञ्चालक पक्राउ

दियो पोस्ट  

गौशाला, १६ वैशाख । महोत्तरी प्रहरीले बुधबार साँझ जिल्लाको रामगोपालपुर गाविसबाट एक पेट्रोल पम्प सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामगोपालपुर–७ मा महालक्ष्मी आयल स्टोर्स सञ्चालन गर्दै आएका सञ्चालक जिल्लाको औरही–५ बस्ने मुकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए  ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा गएको नापतौल अनुगमन टोलीले रामगोपालपुर–७ स्थित महालक्ष्मी आयल स्टोरमा मापभन्दा कम मात्रामा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरेको भन्दै सो पम्पका सञ्चालक चौधरीलाई पक्राउ गरेको छ ।

अनुगमन टोलीले सो पम्पबाट पाँच लिटर पेट्रोलमा १९० मिलिलिटर र पाँच लिटर डिजेलमा ११० मिलिलिटर कम माप भएको पाएपछि उनलाई पक्राउ गरिएको सहायक प्रजिअ थापाले बताए  ।

पेट्रोलियम पदार्थ कम तौल गरी बेचेर ठगी गर्दै आएका पम्प सञ्चालक चौधरीमाथि प्रहरीले ठगी मुद्दा चलाई आवश्यक कारबाही अगाडि बढाइसकिएको प्रहरी उपरीक्षक भट्टराईले बताए  ।