राजेश हमालले विज्ञापन खेलेको जगदम्बा स्टिल सबैभन्दा ठूलो लोडसेडिङ माफिया, साँढे २ अर्ब नतिर्न जालझेल !

दियो पोस्ट  


काठमाडौं, २७ चैत्र । हेलिकोप्टरबाट ओर्लिलिएपछि नेपाली चलचित्रका महानायक राजेश हमालले भन्छन्,‘यो विशाल फ्याक्ट्री । राष्ट्रको सबैभन्दा ठूलो स्टिल फ्याक्ट्री । यो हो जगदम्बा स्टिल (चोरी औँला उठाउँदै) ।’
हमालले विज्ञापनमा स्टिलकै कारखाना पुगेर भन्छन्,‘यस फ्याक्ट्रीद्वारा उत्पादित ५० टन भन्दा बढी फलामे बस्तुहरु देशका महत्वपूर्ण संरचना निर्माण गर्न प्रयोग भइसकेका छन् । साथै मुलुकको निर्माण सामग्रीमा लगभग ५० प्रतिशत हिस्सा अगट्न सफल यो हो जगदम्बा स्टिल……।’


हमालको अर्को हवादारी गफ पनि उक्त भिडियोमा देख्न सकिन्छ–‘नेपाल सरकारलाई देशमा भएका स्टिल कम्पनिहरु मध्ये सबैभन्दा धेरै राजश्व बुझाउने स्टिल फ्याक्ट्री । भनेर होइन बनेर नम्बर वान ।’


टेलिभिजनमा देखिने यो दृष्य सामान्यतया निकै आकर्षक पनि लाग्छ । तर, वास्तविकता भने अर्कै छ । नेपाली चलचित्रका महानायक राजेश हमालले विज्ञापन गरेको यो स्टिल राज्यलाई साँढे २ अर्ब ५० करोड विजुली महशुल नबुझाएपछि विवादमा तानिएको छ ।


शंकर ग्रुपकमा महापवन्धक रहेका शाहिल अग्रवाल मालिक रहेको जगदम्बा स्टिलले नेपाल विद्युत प्राधिकरणलाई २ अर्ब ५० करोड रुपैयाँ तिर्नुको सट्टा आनाकानी गरिरहेको पाइएको छ । अग्रवाल शक्तिकेन्द्रको प्रयोग गर्दै अर्बौ रकम मिनाहा गर्ने दाउमा रहेको उच्च स्रोतको दाबी छ ।
अग्रवालको स्वामित्व रहेको जगदम्बा स्टिललाई नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइनमार्फत चौविसै घण्टा विद्युत उपलब्ध गराउँथ्यो ।


‘डेडिकेटेड फिडर र ट्रंक लाईन’ मार्फत विजुली प्रयोग गरेपछि अग्रवाललाई बिलिङ भने नगरेको उच्च स्रोतको दाबी छ । विद्युत प्राधिकरणकै मिलेमतोमा बिलिङ नगरिएको बताईन्छ । २०७३ देखि २०७५ फागुनसम्मको शुल्क २ अर्ब ५० करोड बुझाउन बाँकी रहेको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा बिलिङ नगरेको बताउँदै आएका छन् । तर, २०७३ सालमा प्रधानमन्त्री केपी शर्मा ओली थिएनन् ।
मुलुकलाई १८ घण्टासम्म लोडसेडिङमा राखेर व्यापारीहरुलाई डेडिकेटेड फिडर र ट्रंकलाईन मार्फत २४ घण्टा विजुली उपलब्ध गराइएको थियो । विजुलीको बील नबुझाउने ठूला घरानियाँको सुचीमा शहिल अग्रवाल पहिलो नम्बरमा छन् । अरबौँ रुपैयाँ शुल्क नबुझाउने जगदम्बा स्टिललाई सरकारले अझैसम्म लाइन दिइरहेको छ ।


‘सर्वसाधरणले ५ सय रुपैयाँ नबुझाउँदा लाइन काट्न पुग्छन् । तर , ठूला घरानिया व्यापारीले साँढे २ अर्ब रुपैयाँ नबुझाउँदा र अटेरि गरिरहँदा नेपाल विद्युत प्राधिकरण के हेरेर बसिरहेको छ,’ नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका एक कर्मचारी भन्छन्,‘उज्यालोको नायक भनिने कुलमान घिसिङ एमडीले पैसा उठाएर देखाउनु हुन्छ भन्ने विश्वास छ ।’