मोरङ, १९ चैत । एसियाली विकास बैंकले विराटनगरको समग्र विकासका लागि थप तीन अर्ब २५ करोड रुपैयाँ सहयोग गर्ने भएकोे छ ।
एसियाली विकास बैंकले दोस्रो चरणको कार्यक्रमअन्तर्गत यति ठूलो रकम सहयोग गर्न लागेको हो । यस सम्बन्धमा केही दिनअघि विराटनगर आउनुभएका एसियाली विकास बंैकका देशीय निर्देशक केनिची योकोयामाले उक्त सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको विराटनगर उपमहानगरपालिकाका कर्मचारीले बताएको छ ।
उहाँले हाल एडिबीको सहयोगबाट निर्माण भइरहेका ढल, नाला र कालोपत्रे सडकको निरीक्षण गर्नुभयो । रु तीन अर्ब २५ करोड थप सहयोगमध्येबाट दुई अर्ब २५ करोड रुपैयाँ विराटनगरको ढल, नाला र कालोपत्र सडकका लागि र एक अर्ब रुपैयाँ डङ्ग्राहामा फोहरमैला प्रशोधन केन्द्र निर्माणका लागि रहेको विराटनगर उपमहानगरपालिकाले जनाएको छ ।
हाल निर्माण भइरहेको कामप्रति खुसी हुँदै थप सहयोगका लागि प्रक्रिया सुरु गर्न योकोयामाले उपमहानगरपालिकालाई आग्रह गरे । हाल विराटनगर नगर क्षेत्रमा निर्माण भइरहेको ढल, नाला र कालोपत्र सडक एसियाली र्बंकको पहिलो चरणको सहयोग कार्यक्रमअन्तर्गत निर्माण भइरहेको छ । विराटनगर उपमहानगरपालिकाको सहरी विकास तथा योजना महाशाखाका प्रमुख इन्जिनियर भरत न्यौपानेले एडिबीको आश्वासनपछि उपमहानगरपालिकाले आवश्यक प्रक्रिया प्रारम्भ गरिसकेको बताए ।
उहाँका अनुसार सहयोगका बारेमा टुङ्गो लागेपछि थप कामका लागि पाँच महिनाभित्रमै टेन्डरको प्रक्रिया प्रारम्भ हुन्छ । एडिबीले हाल विराटनगरको समग्र विकासका लागि पहिलो चरणमा सहयोग गरिरहेको दुई अर्ब ४० करोड रुपैयाँ अपुग हुने देखिएपछि थप सहयोग गर्ने वचन दिएको हो । पहिलो चरणको सहयोग रकमबाट ६४ किलोमिटर मुख्य क्षेत्रमा नाला, ढल र कालोपत्र सडक निर्माण हुँदैछ ।
उपमहानगरपालिकाले एडिबीबाट प्राप्त हुने थप सहयोग रकमबाट नाला निर्माण भएको स्थानमा सडक कालोपत्र बनाउने योजना अघि सारेको छ । हालसम्म पक्की नालाको पहुँच नभएका चौकमा समेत उक्त रकमबाट नाला निर्माण गर्ने जनाइएको छ । यसका लागि विराटनगरको रानी क्षेत्रलाई बढी प्राथमिकता दिइएको छ । इन्जिनियर न्यौपानेले बताए, “थप सहयोग रकमबाट बढी डुबान हुने क्षेत्रलाई प्राथमिकतामा राखेर उपमहानगरपालिकाले योजना बनाइरहेको छ । पहिलो चरणको सहयोगबाट कालिका कन्सट्रक्सनसँग भएको सम्झौताअनुसार ९० प्रतिशत नालाको निर्माण पूरा भएको छ भने १० प्रतिशत मात्र ढलको काम पूरा भएको छ ।
यस्तै, विवादित डङ्ग्राहामा फोहर प्रशोधनका लागि सहमति जुटाएर मात्र प्रक्रिया अगाडि बढाउन पनि एडिबीले नगरपालिकालाई सुझाव दिएको छ । तीन वर्षअघि डङ्ग्राहामा फोहर प्रशोधन केन्द्रको निर्माण प्रक्रिया सुरु भएलगत्तै स्थानीयवासीले विरोध जनाएपछि उक्त योजना फिर्ता गएको थियो ।