खुदुनाबारीमा जडीबुटीको सम्भावना

diyopost.com
bestnp  शुक्रबार, चैत्र १९, २०७२ | ४:४२:५२

भद्रपुर, १९ चैत । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी, जिल्ला वन कार्यालय, कृषि विकास कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय झापाद्वारा संयुक्तरुपमा झापाको खुदुनाबारीमा जडीबुटीसम्बन्धी परिचयात्मक कार्यक्रमको सांसद प्रेमबहादुर गिरीले बिहीबार उद्घाटन गरे ।

चुरेसँग जोडिएको खुदुनाबारीमा जडीबुटीको प्रचुर सम्भावना रहेको र यहाँबाट उत्पादित जटीबुटी रस, गुण, वीर्य, विपाक आदिले उच्चतम रहने भएकाले खुदुनाबारीमा जडीबुटी खेतीको सम्भावना एवम् भविष्यबारेमा स्थानीय जनतालाई सचेत एवम् जागरुक बनाउनु कार्यक्रमको उद्देश्य रहेको छ । एकदिने सो परिचयात्मक कार्यक्रममा सरोकारवाला, स्थानीय जनता र सामुदायिक वनका करिब ५० जना सहभागी थिए ।

सो अवसरमा सांसद गिरीले यो क्षेत्रमा दुई वर्षदेखि जडीबुटी खेतीको विषयमा अध्ययन एवम् अवलोकन भइरहेको अवस्थामा स्थानीय जनताको चासोबिना यो कार्य अघि बढ्न नसक्ने बताउनुभयो । आयुर्वेद स्वास्थ्य विभाग, वन विभाग र अन्य सहयोगी विभागको कार्यगत एकताले मात्र जडीबुटीका लागि अतिउपयुक्त मानिएको खुदुनाबारीमा यसको खेती भएमा निर्यात गरी प्रशस्त आम्दानी गर्न सक्ने र रोजगारी पनि बढाउन सकिने सांसद गिरीको भनाइ थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका प्रमुख डा सूर्यनारायण मेहताको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख इन्द्रमणि भण्डारी, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, खुदुनाबारी गाविस सचिव तुलसीप्रसाद निरौलाले पनि जडीबुटीको सम्भाव्यतामाथि प्रकाश पारेका थिए ।

सम्बन्धित खबर