मेघाले नर्भिकको नेतृत्व ‘सम्हाल्न नसकेपछि’ बसन्त चौधरीले भित्र्याए रवी चौधरी !

दियो पोस्ट  

काठमाडौं । नर्भिक अस्पतालको नेतृत्वमा बयोधा अस्पतालमा सिइओ रवी चौधरी आएका छन् । रवीले बयोधामा रहेको आफ्नो शेयर समेत ८ करोडभन्दा बढीमा विक्री गरेर नर्भिकमा भित्रिएका हुन् । उनलाई बसन्त चौधरीले आफूपछिको नेतृत्व हेर्नेगरि नियुक्त गरेको स्रोतले जनाएको छ ।

रवीले यसअघि पनि नर्भिकमै काम गरिसकेका थिए । बसन्तले आफ्नी एकमात्रै छोरी मेघा चौधरीलाई प्रबन्ध निर्देशक नियुक्त गरेका थिए । तर, छोरीले अस्पताल सम्हाल्न नसकेपछि उनी तनावमा थिए । पछिल्लो समय उनले युनाइटेड फाइनान्सका सिइओ समेत रहेका अजय कुमार मिश्रलाई नर्भिकमा सरुवा गरेका थिए । केही महिना अघि मात्रै सिइओ बनेका मिश्र आफूभन्दा माथि रवि चौधरीलाई ल्याएपछि असन्तुष्ट रहेको स्रोतले बताएको छ । एमसीसीका एचआर कन्सल्ट्यान्ट समेत रहेका मिश्र केही महिना अघि बाघ मारेको अभियोगमा पक्राउ समेत परेका थिए ।

स्रोतका अनुसार विभिन्न रोगले ग्रस्त भएका अध्यक्ष बसन्त चौधरी अस्पताल भित्रको बेथितिको विषयमा समेत चिन्तित थिए । ‘चियरमेन सरले विभिन्न समयमा व्यवस्थापकीय नेतृत्व परिवर्तन गर्दै आउनु भएको छ । आफ्नै छोरीबाट पनि सबल नेतृत्व प्रदान हुन सकेन,’ अस्पतालका एक कर्मचारी भन्छन्,‘अहिले रवी चौधरी सरलाई आफू भन्दा एक तह तल रहने गरि ल्याउनु भएको छ । तर, रवी सरलाई ल्याएपछि फेरी सिइओ सापहरुलाई नैतिक संकट परेको छ ।’

सम्बन्धित खबर