ज्वालामुखि गाउँपालिका अध्यक्ष बन्न दर्जन बढी नेताको रस्साकस्सी : कसले पाउला टिकट ?

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र २८, २०७८ | १५:१७:०४

काठमाडौं । स्थानिय तहको निर्वाचनको मिति घोषणा भएसँगै दलहरुबीच उम्मेदवारको विषयलाई लिएर आन्तरिक रस्साकस्सी छ । वडा तहदेखि गाउँपालिका र नगरपालिका तथा महानगरपालिकाको नेतृत्वलाई लिएर दलभित्रै उम्मेदवारको आकांक्षी व्यापक छ ।

धादिङका विभिन्न स्थानिय निकायमा उम्मेदवार बन्ने होडबाजी नै छ । जिल्लाको ज्वालामूखि गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष बन्न दल भित्रै तिब्र प्रतिष्पर्धा छ । प्रमुख सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेपनि आकांक्षीहरुको भिड ठूलो छ ।

नेपाली कांग्रेसभित्र गाउँपालिका अध्यक्ष बन्न दर्जनौँको आकांक्षा छ । ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल ‘टान’का अध्यक्ष समेत रहेका खुम बहादुर सुवेदीले आफू अध्यक्षमा उठ्न लागेको प्रचार गराउँदै आएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने अभियानमा रहेका उनी राजनीतिक भन्दापनि व्यवसायीक व्यक्ति हुन् । उनी लामो समयदेखि ठमेल क्षेत्रमा ट्रेकिङ व्यावसायमा आवद्ध छन् । यदि कांग्रेसमा भिम ढुंगाना पक्ष बलियो भए उनले सुवेदीलाई टिकट दिलाउने संभावना छ ।

त्यस्तै हाल गाउँपालिका अध्यक्ष रहेका विनोद तिमिल्सिना पनि दोहोर्याउने मनस्थितिमा छन् । तर, उनको कार्याकाल भ्रष्टाचार र अनियमिततामा डुबेका कारण उनलाई फेरी अध्यक्ष दिन नहुने कार्यकर्ताको राय छ । यता ज्वालामुखि गाउँपालिका २ का वडाध्यक्ष रन बहादुर शाही पनि गाउँपालिका अध्यक्षको प्रमुख दाबेदार हुन् । पार्टी भित्र सभापति शेरबहादुर देउवा पक्षमा खुलेर लागेका शाही गाउँपालिका अध्यक्षका प्रमुख दाबेदार रहेको ज्वालामुखिका कांग्रेस कार्यकर्ता बताउँछन् । उनलाई गाउँपालिका अध्यक्ष वा उपाध्यक्षमा उठाउनुपर्ने कार्यकर्ताको माग छ । यसअघि पार्टीको पालिका सभापति उम्मेदवारी घोषणा गरेपनि उनले पार्टीकै अर्को नेतालाई सहयोग गरेर त्याग गरेका थिए । त्यस्तै महाधिवेशन प्रतिनिधि नरेन्द्र भट्ट पनि दाबेदार छन् । खरीका टिका काप्री चैनपुरका यमनाथ दनाईको पनि दाबी छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र भित्र पनि उम्मेदवारलाई लिएर रस्साकस्सी छ । गठबन्धन बिना माओवादी एक्लै निर्वाचनमा होमिए गाउँपालिका अध्यक्षमा लक्ष्मि थापालाई उम्मेदवार बनाउन बलियो मत छ । तत्कालित सशस्त्र युद्धमा शाही नेपाली सेनाद्वारा लक्ष्मिको श्रीमान सोमबहादुर थापाको हत्या भएको थियो । शहिद परिवार उनलाई माओवादीले हालसम्म कुनै पनि लाभको पदमा राखेको छैन ।

गत स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज शालिकराम जम्मकट्टेलले आफू निकट मदिरा व्यापारी विष्णु श्रेष्ठलाई गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएका थिए । तर, पार्टी कार्यकर्तासँग समेत परिचित नभएका श्रेष्ठले नराम्रो हार व्यहोर्नु पर्यो । त्यतिबेला जमकट्टेलमाथि टिकट बिक्रीको आरोप समेत लागेको थियो ।

गाउँपालिका अध्यक्षमै अर्का नेता तथा पूर्व जनमुक्ति सेना कमाण्डर दिपक बस्नेत सुरुप्रतापको पनि दाबी छ । बस्नेतको कमाण्डमा धादिङमा विभिन्न फौजी कारबाही गरिएको थियो । पूर्व जनसेनाको प्लाटुन भिसी समेत रहेका बस्नेतलाई निर्वाचनमा टिकट दिए चुनाव जित्न सकिने माओवादीको आँकलन छ ।

त्यस्तै अर्का नेता गणेश तिवारी ‘श्याम’को पनि अध्यक्षमा दाबी छ । माओवादीमा लामो समयदेखि सक्रिय गणेश माओवादीको गाउँपालिका इन्चार्ज समेत हुन् । उनी समेत टिकटको आकांक्षी छन् । त्यस्तै माओवादीबाटै हरि दनाईको पनि बलियो दाबी छ ।

 

नेकपा एमालेले गाउँपालिका अध्यक्षमा पुन राम प्रसाद अधिकारीलाई उठाउने संभावना रहेको छ । यसअघि थोरै मतान्तरले पराजित भएका अधिकारी निष्ठावान नेता मानिन्छन् । हाल गाउँपालिका उपाध्यक्ष रहेकी जानुका सिंखडा पनि गाउँपालिका अध्यक्षको दाबेदार हुन् । त्यस्तै एमाले ज्वालामुखिका पालिका अध्यक्ष राजेश अधिकारीको पनि दाबी छ ।

त्यस्तै वडा नम्बर ३ का वडाध्यक्ष रहेका रुद्रमान श्रेष्ठ समेत एमालेका तर्फबाट गाउँपालिका अध्यक्षको आकांक्षी छन् ।

नेपाल कम्युनिस्ट पार्टी समाजवादी पनि ज्वालामुखिमा सक्रिय रहेको पार्टी हो । समाजवादीका तर्फबाट गाउँपालिका अध्यक्षको प्रमुख दाबेदार भानु दुवाडी हुन् । ज्वालामुखि १ मैदी घर भएका उनी समाजवादीका गाउँ पार्टी अध्यक्ष समेत हुन् । त्यस्तै ज्वालामुखि ४ खरीका वडाध्यक्ष टिका काप्री पनि गाउँपालिका अध्यक्षका प्रमुख दाबेदार हुन् ।

 

सम्बन्धित खबर