कोमल उपाध्यायले भिजिट भिषामा दुबई पुर्याएका १९ नेपाली दुबईको जेलमा !

diyopost.com
दियो पोस्ट  शुक्रबार, बैशाख ०२, २०७९ | १४:४४:५१

काठमाडौं । भिजिट भिषाको नाममा मानव तस्करी गर्दै आएका दुबई स्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिज प्रा.लीका मालिक कोमलराज उपाध्यायका कारण दर्जनौँ नेपाली दुबईको जेलमा बस्नु परेको छ ।

राजन ठकुरी र उपाध्यायको मिलेमतोमा दुबई रोजगारी दिलाईदिन्छु भन्दै दुबई पुर्याइएका १९ जना नेपाली नागरिक यतिबेला दुबई इमिग्रेशनको जेलमा रहेको त्यहाँबाट फर्किएपछि देविलाल विश्वकर्माले जानकारी दिए ।

गत फेब्रुअरी १७ देखि उनीहरु जेलमा रहेको देविलाले दियोपोस्टलाई जानकारी दिए । ‘हामीलाई फेब्रुअरी १७ मा इमिग्रेशनमा लगियो । कैदीको भेषमा राखियो । म ५३ दिन जेल बसेपछि एउटा चप्पल र टिसर्टको भरमा नेपाल फर्किएँ । काठमाडौं आएपछि मसँग एउटा झोला पनि थिएन,’ उनले भने,‘जेलमा रहेका साथीहरुले हामीलाई पनि निकाल्ने प्रक्रिया थाल्न आग्रह गर्नुभएको छ । म आएको हप्तादिन भयो ।’

उनका अनुसार भिजिट भिषामा दुबई पुगेका सुरेन्द्र तामाङ, मित्र छन्तेल, शिव विक, राज कुमार थारु, प्रशुराम बतार, शोभन सिंह राई, हरेन्द्र राई, अभिषेक परियार, सुरेश विष्ट, रोहित विष्ट, मेघराज गिरी, शेरबहादुर डांगी, अजित केसी, नगेन्द्र प्रसाद न्यौपाने, राजकुमार गौतम, सरोज कटवाल, शिव पौडेल, असलमान तामाङ, प्रताप मल्ल गरि १९ जना नेपाली जेल भित्र छन् ।

उनीहरु मध्ये कोही १ वर्षअघि भिजिट भिषामा रोजगारीका लागि दुबई पुगेका छन् ।

उपाध्यायले मानव तस्करी गर्दै आएको विषयमा पहिलो पटक दियोपोस्ट डटकमले खबर प्रकाशन गरेको थियो । त्यसपछि नेपालका सबै जसो सञ्चार माध्यमले प्रमुखताका साथ खबर प्रकाशन गरेका थिए । दियोपोस्टमै समाचार प्रकाशन भएपछि उपाध्याय दुबईमा पक्राउ परेका थिए । यता उनकी श्रीमती रञ्जना ढकाल प्याकुरेल समेत नेपाल प्रहरीको खोजी सुची छिन् ।

दुबईमा जेलमा रहेका अर्का एक नेपालीका अनुसार जेल भित्र २० घण्टामा एक पटक खाना दिने गरेको छ । ‘हामीले यो समस्या दुबईस्थित नेपाली दुतावासलाई पटक पटक भन्यौँ । श्रम मन्त्ती किसान कुमार श्रेष्ठलाई भनेकै एक महिना भयो । तर, कसैले उद्दारको पहल गरेन,’ ती नेपालीले भने,‘सबैले हुन्छ हुन्छ मात्रै भन्छन् । तर, उद्दार भने कसैले गर्दैनन् । हामी त खान नपाएरै मर्ने भइसक्यौँ ।’

सम्बन्धित खबर