पर्वत , १९ चैत । जिल्ला कारागार पर्वतबाट दुईजनाले एसएलसी परीक्षा दिन सुरु गरेका छन् ।
बिहीबारदेखि सुरु भएको परीक्षामा विभिन्न अभियोगमा जेल चलान भएका दुईजनाले कारागारभित्रैबाट परीक्षा दिएका हुन् । विभिन्न अभियोग लागेर पुर्पक्षका लागि कारागार चलान भएका उनीहरुलाई कारागारभित्रैबाटै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ ।
परीक्षामा सहभागिता जनाउने कैदीबन्दीमध्ये नियमिततर्फ कृष्ण रोका रहेका छन् । उनले शिवालय खुल्ला मावि कुष्माबाट फारम भरेका थिए ।
त्यस्तै आंशिकतर्फ सुमन परियार रहेका छन् । उनले होली चाइल्ड बोर्डिङ स्कुल बागलुङबाट आवेदन भरेको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए। रोका लागुऔषध र परियार हातहतियार खरखजानाअन्तर्गत पुर्पक्षका लागि थुनामा परेका हुन् ।
कारागारमा सञ्चालन भएको परीक्षालाई व्यवस्थित गराउनका लागि शिवालय ‘ख’ केन्द्रका केन्द्राध्यक्ष पूर्णचन्द्र काफ्लेमार्फत व्यवस्था मिलाइएको जिशिअ पौडेलले बताए । कारागारभित्रको एसएलसी परीक्षा मर्यादित बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाईएको उनले बताए ।
आफूहरु जेलभित्र रहे पनि परीक्षा दिन पाएकामा उनीहरुले खुसी व्यक्त गरेका छन् ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki