विपत परेका २२ घरलाई बाह्रबिसे नगरपालिकाद्वारा लालपुर्जा वितरण

- निरोज चौलागाईं  

सिन्धुपाल्चोक  । प्राकृति विपत्तिबाट बिस्थापित भएका बाह्रबिसे नगरपालिकाका भित्रका २२ घर परिवारले शनिबार घर निर्माणको लागि जग्गा धनी पुर्जा पाएका छन् । बाह्रबिसे नगरपालिकाभित्र बाढी पहिरो तथा प्राकृति विपत्तिको मारबाट विस्थापित परिवार नगरपालिका भित्र जग्गा उपलब्ध गराइ पुर्जा बितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ । हामीले बाढी पहिरो तथा प्राकृति विपत्तिबाट विस्थापित भएर घरवार तथा जग्गा बिहिन भएका स्थानीयको पहिचान गरि जग्गा धनी पुर्जा दिएका छौँ,’ नगरप्रमुख बालकृष्ण बस्नेत भन्छन्,‘नगरभरिको प्राकृति विपत्तिबाट विस्थापित भएकाहरुको पहिचान गरेर यस अघि १४ घर परिवार र शनिबार २२ घर परिवारलाई पुर्जा दिएको हो ।’
सिन्धुपाल्चोकमा स्थानीय तहमा सम्भवत बाह्रबिसे नगरपालिकाले नै पहिलो पटक यसरी लालपुर्जा वितरण गरेको हो । ‘यसरी जग्गा धनी पुर्जा उपलब्ध गराउने अझै धेरै परिवार समस्या पर्नु भएको छ । उहाँहरुको थप पहिचान गरेर नगरपालिका अघि बढ्ने छ,’ बस्नेतले भने ।
नगरपालिकाले लालपुर्जा दिएपछि स्थानियबासी खुसी छन् ।
‘अघिल्लो सरकारको पालादेखि विस्थापित भएका थियौँ अहिले आएर पुर्जा पायौ घर बनाउन पाउने भएपछि हामी खुसी छौँ,’ स्थानिय तिलकबहादुर सेवा दमाई भन्छन्,‘हामीले अहिलेसम्म धेरै पीडा भोग्नु प¥यो अब घर बनाउन जग्गा पाउँदा खुसी छु ।’
त्यस्तै अर्का विस्थापित कमला देवि कार्की भन्छिन्,–‘विस्थापित भएको ७७ सालदेखि विस्थापित भएका हामीले बल्ल पुर्जा पाएका छौँ । हामीलाई पुर्जासगै घर निर्माण गर्न सरकारले दिने ५ लाख सदुपयोग गरेर जीवन निर्बाहको लागि एउटा बास बनाउँछु ।’ हालसम्म जिल्ल भर जग्गा खरिद गर्ने ४८१ परिवार छन् त्यसमध्ये बाह्रबिसे नगरपालिकाका ३६ परिवारले जग्गा पाइसकेका छन् । ५८ परिवारले घर निर्माण गरिसकेका छन् ।