फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न भारतीय कम्पनी छनोट, ६ अर्ब बढि लगानी

दियोपोस्ट संवाददाता  

काठमाडौं । दुई वर्षदेखि अलपत्र परेका तीनवटा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको लागि भारतीय कम्पनी छनोटमा परेको छ । गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र निर्माणको जिम्मा पाएको भिए टेक वाबाग कम्पनीले दुई वर्षदेखि अलपत्र बनेका सल्लाघारी, धोविघाट र कोड्कु फोहोरपानी तथा ढल प्रशोधन केन्द्र निर्माणको लागि छनोटमा परेको हो ।

उक्त कम्पनीले झन्डै ४९ मिलियन अमेरिकी डलर अर्थात् भ्याटसहित ६ अर्ब ५४ करोड ६५ लाख ४२ हजार बराबरको ठेक्का पाएको हो ।
तिनवटा प्रशोधन केन्द्र निर्माणको लागि कम्पनी छनोट भैसकेको र एक महिनाभित्रमा सम्झौता प्रक्रियामार्फत काम अघि बढाइने काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का सुचना अधिकारी ई. चन्द्र कुमार पान श्रेष्ठले बताए । ‘पहिलेको ठेक्का रद्ध भएपछि बोलपत्र आह्वान गरिएको थियो’ उनले भने, ‘बोलपत्रको आधारमा भारतिय कम्पनी छनोट भएको छ । अब एक महिनाभित्रै कम्पनीसँग सम्झौता प्रक्रियामा जाने र जतिसक्दो चाडो निर्माणाधिन काम सुरु हुन्छ ।’

फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्य नेपाल सरकारको लगानीमा नभई एसियाली विकास बैंक (एडिबी)को लगानीमा हुन लागेको हो । हाल छनोट भएको कम्पनीसँगको सम्झौतापश्चात २ वर्षमा कम्पनीले निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ भने पाँच वर्षसम्म मर्मत एवमु् सञ्चालन गर्नुपर्नेछ ।

तीनवटा प्रशोधन केन्द्रमार्फत दैनिक ६९ मिलियन लिटर (एमएलडी) पानी प्रशोधन क्षमता रहेको छ । जसअनुसार धोविघाटबाट दैनिक ३७ एमएलडी, कोड्कुबाट दैनिक १७.५ एमएलडी र सल्लाघारीबाट दैनिक १६.२ एमएलडी पानी प्रशोधन हुनेछ । प्रशोधित पानी हनुमन्ते, मनोहरा हुदै बाग्मती नदिमा मिसाउनु नै तिनवटै फोहोर पानी प्रशोधन केन्द्रको उदेश्य रहेको छ ।

उक्त परियोजनाको लागि पिआइडीले सन् २०२३ जुलाईमा पहिलो पटक बोलपत्र आह्वान गरेको थियो । पिआइडीकाअनुसार दुइवटा चिनिया र एकवटा भारतिय कम्पनीले आवेदन दिएका थिए । प्राविधिक र अन्य योग्यताका आधारमा एडिबि र पिआइडीले भारतिय कम्पनीलाई छनोटमा पारेको हो ।

भक्तपुरको सल्लाघारी, ललितपुरको धोबिघाट र बालकुमारीस्थित कोड्कुमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको जिम्मा चिनियाँ कम्पनी साफबोन वाटर सर्भिसले पाएको थियो । निर्माण कार्यमा ढिलाई गरेपछि सन् २०२२ मा उक्त चिनिया कम्पनीसँग ठेक्का तोडिएको थियो । उक्त समयमा जारी निर्माण कार्यको लागि ८८ करोड खर्च भइसकेको छ ।

आफ्नो कम्पनी छनोटमा परेपछि वाबाग कम्पनीका क्षेत्रीय व्यवसाय प्रमुख अर्विन्द दुल्लुले भारतिय मिडिया फाइनान्सियल एक्सप्रेससँग भनेका छन्, ‘निकै महत्वपुर्ण मानिएको नेपालको यस परियोजना निर्माणको लागि छनोट हुन पाउँदा निकै खुसी छु । यसलाई हामीले गरेको काम र हामीप्रतिको विश्वासको फल हो भन्ने बुझेका छौ । यसले वाबागको विस्वासलाई नेपाल र दक्षिण एसियाली मुलुकमा थप प्रगाढ गर्न सघाउने छ।’
वाबाग कम्पनीले यसअघि गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र निर्माणको जिम्मा पाइसकेको थियो ।