परम्परागत पत्रकारितामा डिजिटल माध्यमको प्रवेशः जोखिम कि अवसर ?

पत्रकारितामाथि थपिएको चुनौती

दियो पोस्ट  

गीता अधिकारी

काठमाडौँ । गत वर्ष फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबासकै कोठामा १४ वर्षीया शालिन पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिइन् । उनको मृत शरीरको पोष्टमार्टम हुनुअघि नै इन्टरनेटमार्फत विभिन्न किसिमका अफवाह फैलाउने काम भयो । सञ्चार माध्यमबाट पनि सनसनीपूर्ण खबर आइरहे । युट्युब च्यानल, सामाजिक सञ्जाल र अनलाइन मिडियाले राम्रो काम पाए भने अभियन्ताहरू भनिनेहरूका अनेक अन्तरवार्ता र व्याख्या विश्लेषण सार्वजनिक भए । जसले गर्दा आम नागरिकले पनि शालिनको आत्महत्या नभइ बलात्कारपछि हत्या नै भएको निष्कर्ष निकाले । मृत भेटिएको ८ दिनपछि जब पोस्टमार्टम रिपोर्ट आयो, त्यस विषयमा आएका सबै खबर झुटा ठहरिए, उनको मृत्युको कारण झुण्डिएरै भएको खुल्न गयो ।

शालिनको घटना त एउटा प्रतिनिधि उदाहरण मात्र हो । पछिल्लो समय अदालतमा मुद्दा चल्दै गरेका विषयलाई समेत असर पार्ने गरी अनेक सूचनाको बाढी आउने गरेको छ । जसले गर्दा निष्पक्ष घटनाको छानबिन गर्न प्रहरी प्रशासनदेखि अदालतलाई समेत अप्ठ्यारो पर्ने गरेको छ । यस्तै अर्को घटना हो, पल शाह काण्ड । आफूमाथि जबर्जस्तिकरणी भएको भन्दै मुद्दा दर्ता गरेकी युवतीमाथि विभिन्न युट्युब च्यानल, अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत निरन्तर प्रहार भइरह्यो । उनले सहन नसकेर आत्महत्याको बाटो रोज्ने निर्णयमा समेत पुगेको बताएकी थिइन् ।

व्यक्तिगत रिसीइवी, घर झगडा, मनमुटावजस्ता विषयलाई उछालेर भ्युज बटुल्नका लागि अनेक फन्डा गर्दै समाजलाई झुटो सूचनाको भागी बनाउने तथा परिवार र समाजमा विचलन ल्याउँदै डलर खेती गर्ने प्रवृत्ति मौलाउँदा मूलधारको पत्रकारिता समेत छाँयामा पर्न थालेको छ । त्यो भीडबाट साँच्चिकै पत्रकार र उनीहरूले लेखेका सत्य तथ्य सूचना सामग्री केलाउनसमेत पाठक, दर्शकलाई सकस पर्न थालेको छ ।
यति भन्दाभन्दै, आधुनिक सञ्चारका माध्यम समय सुहाउँदो, सर्वसुलभ र छिटोछरितो पनि छन् । मिनेटभरमै लाखौँ श्रोता, दर्शकमाझ सूचना पु¥याइ, छिनमै उनीहरूको प्रतिक्रिया पाउन सकिने कुरा पत्रकारिताका लागि वरदान नै हो भन्दा फरक नपर्ला । मूलधारका पत्रकार तथा मिडियाले पनि अहिलेका प्रयोगकर्ता, पाठक, दर्शकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै परिस्कृत सामग्रीहरू पस्किँदै उनीहरूको विश्वास आर्जन गर्न सकिने अवसर पनि आधुनिक माध्यमले दिएका छन् ।

पत्रकारिता के हो ?

द न्युज वल्र्ड इन्साइक्लोपेडियामा पत्रकारितालाई ‘समसामयिक चाखको समाचार तथा विचार जनसमक्ष फैलाउने पेसा’ भनिएको छ । पत्रकारितामा सूचना समाचार सङ्कलन, लेखन, प्रशोधन, समीक्षा, सम्पादन एवं सम्प्रेषणजस्ता प्रक्रियापछि मात्रै सामग्री प्रकाशन÷प्रसारणमा जान्छ । यसर्थ पत्रकारिता हुनका लागि समाचार वा समाचारजन्य सामग्रीको सम्प्रेषण अनिवार्य छ । कुनैसमय समाचारपत्रमा लेखिने लेखनलाई मात्रै पत्रकारिता मानिन्थ्यो । २० औँ शताब्दीमा रेडियो टेलिभिजनजस्ता प्रसारण माध्यमको विकास भयो । अनलाइन हुँदै पत्रकारिता अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’तर्फ अघि बढिसकेको छ ।
त्यसैले पत्रकारिताको परिभाषाको दायरालाई फराकिलो बनाउँदै अहिले ‘छापा तथा विद्युतीय माधमबाट पत्रपत्रिका, म्यागेजिन, पुस्तक, ब्लग, वेबकास्ट, सामाजिक सञ्जाल तथा इमेलमार्फत सूचना, समाचार, टिप्पणी तथा फिचरको श्रव्य, दृश्य सामग्रीहरूको सङ्कलन, सम्प्रेषण र वितरण गर्ने कार्यलाई पत्रकारिता भन्ने गरिएको छ ।
बढ्दो प्रविधिको प्रयोगसँगै छापा पत्रकारिताको प्रभाव विश्वभर नै कम हुँदै गएको देखिन्छ । कुनै समय नेपाली पत्रकारिता क्षेत्रमा दबदबा जमाएका तथा पाठक, दर्शकको रुचीको पहिलो स्थान ओगट्ने छलफल साप्ताहिक, देशान्तर साप्ताहिक, दृष्टि साप्ताहिक, जनआस्था साप्ताहिक दैनिक तथा साप्ताहिक पत्रिकाहरू अहिले पत्रिका छापेर बजारमा पु¥याउनभन्दा डिजिटल रूपमा उपलब्ध हुन थालेका छन् । अन्य केही पत्रिका त अहिले प्रकाशन नै हुँदैनन् पनि । पत्रकारितामा पत्र अर्थात् पत्रिकाको युग ओरालो बाटोमा लागेको त होइन भन्ने प्रश्न आम जनमानसमा उब्जिन थालेको छ ।

रूपान्तरित सञ्चार माध्याम

पछिल्लो समय ‘श्रव्यदृश्य’ समाचारको अभिन्न अङ्ग बनिसकेको छ । अब आँखाले पढ्ने मात्रै होइन हेर्ने, पढ्ने र सुन्ने तीनथरी चरित्र बोकेका समाचार नहुने हो भने त्यस्ता समाचार अडियन्सको रोजाइमा कमै पर्ने अवस्था हुन थालेको छ । जसले गर्दा मूलधारका मिडिया हुन् या समाचार संस्थाहरूले आफूलाई ‘हाइब्रिड’ विषयवस्तु उत्पादनमा ध्यान केन्द्रीत गर्दैछन् । विशेषगरी परम्परागत विषयवस्तुमा केन्द्रीत रहेका न्युज एजेन्सीहरूमा समेत भिडियो खोज्नेहरूको सङ्ख्या बढ्दो छ । त्यसैले यी संस्थाहरू पनि यो सेवा सुरू गर्न बाध्य छन् । ‘न्यु मिडिया’ भनिएका अनलाइन सञ्चार माध्यमहरूमा भिडियो अनिवार्य सर्त बनेको छ । ‘भर्चुअल अडियन्स’लाई लक्षित गरी यो फिचर दिन समाचार पत्रमा सम्भव नहुने भएकाले ती मिडिया अनलाइन भर्सनमा जान बाध्य छन् ।

प्रसारण पत्रकारिताको कुरा गर्दा आवाज केन्द्रित रेडियो पत्रकारिता पनि सोहीअनुसार रूपान्तरण हुँदैछ । ‘श्रव्यदृश्य’ मूल विशेषता भएको टेलिभिजन पत्रकारिता कामचलाउ भिडियो दिएर उम्किने अवस्था छैन । सन् १९३० को दशकमा औपचारिक रूपमा सुरु भएको टेलिभिजन प्रसारण प्रविधि अहिले मानिसहरूले चाहेको बेला हेर्न मिल्ने गरी ‘भिडियो अन डिमान्ड’ ख्ष्मभय यल मझबलम देखि ख्ज्प् तथा द्धप् प्रविधिमा जानुपर्ने दबाबमा छ ।

जसरी सन् १९९० को दशकमा विकास भएको इन्टरनेटले फस्टाएको अनलाइन मिडियाका कारण परम्परागत माध्यमले आफ्नो प्रभाव, पहुँच र लोकप्रियताका लागि अनलाइन मिडियाको सहारा नलिइ नहुने अवस्था थियो । आजको ‘न्युमिडिया’ पनि सामाजिक सञ्जालसँग अन्तरसम्बन्धित छ भन्दा फरक नपर्ला । अनलाइन मिडियाका माध्यामबाट प्रसारण गरिएका सामाग्री पाठकसम्म पु¥याउनका लागि पनि सामाजिक सञ्जालको नै साहारा लिनुपर्ने अवस्था छ । नेपालको तथ्याङ्कलाई हेर्ने हो भने १ करोड ३६ लाख भन्दा बढी प्रयोकर्ताले फेसबुक प्रयोग गर्छन् । त्यस्तै ५ लाख ५३ हजार ट्वीटर, २३ लाख भन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ता र झण्डै एक करोड ५८ लाख मानिसहरू इन्टरनेटको पहुँचमा छन् । उनीहरूमध्ये अधिकांशले आफ्नो सूचना तथा समाचारको माध्यम यिनै सामाजिक सञ्जाललाई बनाउने गरेका छन् ।
सामाजिक सञ्जालका विभिन्न स्वरुपको प्रयोग गरी मिडिया, मिडियाकर्मी, गृहिणी, युवा व्यवसायीलगायत सबैले लाभ लिइरहेका छन् । व्यापारीले यसकै माध्यमबाट आफ्नो व्यापारको प्रचार गरिरहेका छन् । महिला तथा गृहिणीले समेत आफ्नो घरमै बनाइएको खानेकुरा बिक्री वितरण आयआर्जनसमेत गर्न थालेका छन् । त्यसैले सामाजिक सञ्जाल सदुपयोग गर्न जानेमा सञ्जाल र नजानेमा जञ्जाल पनि हुनसक्ने कुरालाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।

पत्रकारितामाथि थपिएको चुनौती

हातहातमा मोबाइल हुँदा पछिल्लोसमय नागरिक पत्रकारिता फस्टाउँदो छ । जसले गर्दा मूलधारको पत्रकारिताले आफ्ना अडियन्समाथिको दबदबा जोगाइरहन निकै मिहेनत गर्नुपरेको छ । पत्रकारिता, पत्रकार र पत्रकारिताका प्राथमिक विषय के हुन् ? व्यक्तिगत वा सार्वजनिक मर्यादा र गोपनियताका सीमा कहाँसम्म छन्, भन्ने विषयलाई नै पुनःपरिभाषित गर्नुपर्ने भएको छ ।

सामाजिक सञ्जालको उपस्थितिपछि सूचना र जानकारीका लागि सञ्चार माध्यममा निर्भर हुने अवस्था करिब समाप्त भएको छ । साथै, रेडियो, टेलिभिजन र पत्रिकाको नाममा परम्परागत तरिकाले काम गरिराख्ने व्यक्ति र माध्यम दुवैलाई नयाँ विषयवस्तु र प्रस्तुतीको शैलीमै परिवर्तन ल्याउनुपर्ने हुँदा अर्को चुनौती छ । हातहातमा हुने मोबाइल र इन्टरनेटको पहुँचले आम नागरिक नै सूचनाको निर्माण र प्रवाहकर्ताको रूपमा देखिएका छन् । घटनाका बारेमा मिडियाले जानकारी दिनुअघि नै पाठक, दर्शकहरू त्यस विषयमा जानाकार भइसकेका हुन्छन् । अब घटनाको जानकारी मात्रै दिएर पुग्दैन, सत्यतथ्यको गहिराइसम्म पुगेर खोजमुलक सामग्री नपस्किए आम पाठक, दर्शकले मिडियालाई नपत्याउने जोखिम पनि त्यत्तिकै छ ।

पत्रकारिता विशेषतः विज्ञापनको कमाइबाट चल्ने पेसा हो । आर्थिक रूपमा पनि अहिले सामाजिक सञ्जालले पत्रकारितामाथि ठुलो चुनौती थपेको छ । कतिपय संस्थाले विज्ञापनका लागि आफ्नै सामाजिक सञ्जालका अकाउन्टहरू प्रयोग गर्ने तथा कतिपयले अनलाइन माध्यमलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेकाले पनि विज्ञापनकै भरमा टिकिराखेका मूलधारका मिडियालाई अब टिक्न गाह्रो पर्दैछ । यस्तै अवस्थामा समाचार माध्यम पुरानो ढर्रालाई छाडेर नयाँ शैलीमा पाठक दर्शकमाझ प्रस्तुत हुनुपर्ने दबाबमा छन् ।

सूचनादाता र पत्रकारका बिचमा दर्शकहरूलाई जानकारी नहुँदा पनि भिडबाट वास्तविक पत्रकार छुट्याउन कठिन पर्ने गरेको छ । सबै युट्युब च्यानल मिडिया हुँदैन, युट्युबमा सामग्री बनाउने सबै पत्रकार होइनन् । तर आम मानिस सबैलाई यो थाहा छैन । एआइले गर्दा जुन भिडियो या सामाग्री इन्टरनेटमा हे¥यो त्यस्तै किसिमका सामाग्रीहरूको सिरिज नै आइरहने र आम मानिसले यसैलाई पत्रकारिता मानिदिँदा चुनौती थपिएको छ । सत्य तथ्य भन्दा भ्रामक कुरा फैलाउने युट्युब तथा सामाजिक सञ्जालहरू मौलाउनु पनि पत्रकारिताका लागि चुनौतीको विषय हो ।

अवसरको ढोका

नेपाल बन्दको बारेमा जानकारी दिन एकजना युवाले बनाएको ‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेज पछिल्लो समय नेपाली युवामाझ निकै लोकप्रिय छ । ठुला मिडियाले दिएको समाचारभन्दा ज्यादा सामाजिक सञ्जाल प्रयोगकर्तालाई यो पेजबाट आएका सूचना तथा जानकारी बढी भरपर्दो लाग्छ । यसका साथै, अहिलेका पाठक दर्शकमा धैर्यता भन्ने छैन । उनीहरूलाई छोटो समयमा धेरै जानकारी प्राप्त गर्ने ध्येय हुन्छ । त्यसैले लामो लामो खण्डहरूमा लेखिएका समाचारमूलक सामग्रीहरूले उनीहरूलाई आकर्षण गर्नै छाडेको छ । अडियन्सको रुचिलाई ख्याल गर्न सके यस्ता पेजहरू त सूचनाको भरपर्दो माध्याम बन्छन् भने पत्रकारिताको नैतिकता बुझेका मिडियाहरूले प्रविधिको प्रयोग गरी सिस्टममा सूचना प्रवाह गर्न सके पहिला भन्दा बढी पाठक दर्शकमाझ पुग्न पनि सकिन्छ ।
सामाजिक सञ्जालको उपस्थितिपछि आम नागरिक मात्र होइन, सूचना सङ्कलन, स्रोतसँगको सम्बन्ध विस्तार, सूचना प्रवाह र पहुँचका हिसाबले मिडिया र मिडियाकर्मीलाई पनि निकै सहज भएको छ । पाठक, दर्शक र श्रोताका गुनासा र प्रतिक्रिया तत्काल प्राप्त गरी विषयवस्तुमा सुधार र सञ्चार रणनीति विकासमा टेवा पुगेको छ । समग्रमा नयाँ नयाँ कथावस्तु थाहा पाउन र सङ्कलन गर्न, आफ्नो कामको प्रचारप्रसार र प्रवद्र्धन गर्न, लक्षित वर्गसँग जोडिरहन, स्रोतहरूसँग विश्वासिलो सम्बन्ध बनाउन, स्रोत र जानकारीको सत्यापन गर्न, विश्वव्यापी अडियन्ससँग जोडिएर आफ्नो पहुँच र सम्पर्कको दायरा फराकिलो बनाउन तथा आफ्ना लागि सम्भावनाका नयाँ नयाँ अवसर पहिचान गर्न सामाजिक सञ्जाल पत्रकारका लागि अचुकअस्त्र बनेको छ ।
आजभन्दा २० वर्षअघिसम्म पनि सूचना, जानकारीका लागि मानिसलाई पत्रिका पसलसम्म धाएर पत्रिका किन्नुपर्ने बाध्यता थियो । अथवा रेडियो, टेलिभिजन खोलेर एक–एक, वा दुई–दुई घण्टाको अन्तरालसम्म कुरेर सूचनाहरू थाहा पाउनुपर्ने हुन्थ्यो । तर अहिले त्यो झन्झट हटेको छ । बिहान उठ्नासाथ आँखा मिच्दै मोबाइल खोलेर देश–विदेशका सम्पुर्ण घटनाक्रमका बारेमा जानकारी लिन सकिन्छ । सस्तो, सुलभ र आफूले चाहेकै समयमा, चाहेको सामाग्रीहरू हेर्न, पढ्न र सुन्न सकिने भएपछि आधुनिक सञ्चार माध्यामहरूको लोकप्रियता अझै मौलाउने क्रममा छ ।
आधुनिक सञ्चार माध्यामले छापा माध्यममा चुनौती थपिएको भए पनि यसलाई अवसरका रुपमा पनि ग्रहण गर्न सकिने नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष शिव गाउँले बताउनुहुन्छ । नेपाल टेलिभिजनको समयचक्र कार्यक्रममा अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभयो, ‘छापा माध्याम माध्यामको हकमा प्रश्न चिन्ह नै हो तर पत्रकारिताको हकमा होइन । असल पत्रकारिता अर्थात खोज पत्रकारिताका मार्फत पाठक, दर्शकले त्यसअघि थाहा नपाएका विवरणहरू तथ्यमा आधारित रही विष्लेषणात्मक सामग्रीहरू पस्किन सकियो भने माध्यमहरू सङ्ककटमा पर्दैनन् ।’ अहिले पत्रकारितामा समाचार कम र सूचना ज्यादा दिने प्रवृत्ति मौलाएको छ । प्रविधिले सूचना सजिलै थाहा पाउने सुविधा दियो, जसले गर्दा पुरानो शैलीको पत्रकारिता संकटमा पर्दै गएको भान भयो । पत्रकारिताको स्वरुप बदल्दै समय सान्दर्भिक बनाउन सकिए यी माध्यमहरू वास्तवमै अवसर भएको उहाँको भनाइ छ ।

परम्परागत सञ्चार माध्यमले समाचारको पहुँच वृद्धि गर्ने आधारका रूपमा आधुनिक माध्यामरूको प्रयोग बढाउँदै लगेका छन् । बढी भन्दा बढी दर्शक पाठकसमक्ष पुग्न सामाजिक सञ्जाल सहयोगी सिद्ध छन् । एउटा पत्रिका वा अनलाइनमा आएको समाचार अर्कोले पढेर युट्युबमा राखिदिने हो भने पनि ती सामग्रीहरूले थप श्रोता, दर्शक पाउँछन् ।

युट्युब तथा सामाजिक सञ्जाललाई सूचनाको माध्यम बनाउँदा देशभरी हजारौँले रोजगारी पाएका छन् । वार्षिक करोडौं रेमिट्यान्स आएको छ भने सूचना, जानकारी, ज्ञान र मनोरन्जनको माध्यम थपिएको पनि छ । सञ्चारको विश्वव्यापीकरण गर्दै मानवीय रुची र चासो र ओझेलमा परेका विषयवस्तुलाई प्राथमिकता दिइरहेको छ । ओझेल परेका प्रतिभाको प्रष्टफुटन सँगै कल्याणकारी पत्रकारिता भइरहेका पनि छन् ।

नेपाल तथ्य जाँचका सम्पादक एवं मिडिया प्रशिक्षक उमेश श्रेष्ठका अनुसार मुलधारका सञ्चार माध्यमले वेवास्ता गरेको विषयलाई युट्युब मार्फत हाइलाइट गर्ने काम सकारात्मक छ । मुलधारका मिडियाले तयार गरेको सामग्रीहरूमा भन्दा युट्युबरहरूले तयार गरेका सामग्रीको भ्यूज बढी देखिन्छ । ‘सही प्रयोग गर्न सक्दा राम्रो छ । तर युट्युब मार्फत गलत अभ्यासहरू पनि भइरहेका छन् । यसले मुलधारका मिडियालाई चुनौती दिएको छ’, उहाँ भन्नुहुन्छ । सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाका अनुसार आम पब्लिकले आफ्नो धारणा आफैं सार्वजनिक गर्न पाउनु अहिलेका सञ्चार माध्यामहरूको सकारात्मक पाटो हुन् । तर यी माध्यामबाट प्रस्तुत गरिने कतिपय विषयवस्तुले समाजलाई सङ्गठित र सद्भावको रूपमा भन्दा विघटित र विग्रहतिर लैजाने, नकारात्मकता फैलाउने गरेको पाइएको छ ।

व्यवसायिक पत्रकारले पत्रकारिताको मर्यादा, नैतिकतालाई ख्याल गर्छ, सत्य कुरा, लुकाउन खोजिएको कुरालाई बाहिर ल्याउन अग्रसर हुने तर अहिलेका प्रविधिमा आधारित माध्यामहरूले आफूखुशी सूचनाहरूको प्रसार गर्ने गरेको पाइएको त्रिभुवन विश्व विद्यालय, आम सञ्चार तथा पत्रकारिता केन्द्रिय विभागका प्राध्यापक डा. कुन्दन अर्यालको बुझाइ छ । यद्यपि, पत्रकारिताको मूल्य मान्यता अनुसार सामग्री तयार गरी प्रसारण गरेमा आधुनिक सञ्चार माध्याम परम्परागत मिडिया भन्दा सूचना प्रवाह गर्ने सन्दर्भमा प्रभावकारी छ । मुलधारका टिभीबाट प्रसारण गरिएका सामाग्रीहरू सङ्ग्रह गर्ने र वितरण गर्ने कार्य युट्युबबाटै हुने गरेको छ ।

नयाँ सूचना प्रविधिको प्रयोगको स्थितिले नै मिडिया सामग्रीको खपतको स्थिति निर्धारण गर्छ । स्मार्टफोनसँगै इन्टरनेटको पहुँच भएको ठाउँमा परम्परागत मिडियाको उपभोग घट्दै गएको छ । सेयरकास्ट इनिसियटिभले सन् २०२२ मा गरेको सर्वेक्षणको प्रतिवेदनमा कोभिड–१९ को महामारी पछि रेडियो टिभीको श्रोता दर्शक घट्दै गएको र इन्टरनेटको पहुँचमा वृद्धिसँगै डिजिटल प्लेटफर्मको प्रयोग बढ्दै गएको उल्लेख छ । प्रतिवेदन अनुसार नेपालमा १८ वर्ष भन्दा माथिका ६३ प्रतिशत मानिस इन्टरनेट प्रयोगकर्ता छन् । ६७ प्रतिशत मानिसको हातमा स्मार्टफोन छ । ५९ प्रतिशतले इन्टरनेटबाट समाचार र ताजा जानकारी लिने गर्दछन् । जबकी २०१८ मा इन्टरनेट प्रयोगकर्ता जम्मा ३३.१ प्रतिशत मात्रै थिए । त्यस्तै स्थानीय समाचार र जानकारीको लागि युट्युब प्रयोग गर्ने सन् २०२० मा ४ प्रतिशत रहेकोमा सन् २०२२ मा १५ प्रतिशत पुगेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार स्रोतको रूपमा युट्युब प्रयोग गर्ने उपभोक्ता दुई वर्षमा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ । यसर्थ युट्युबमा सामग्री राख्दा सत्य, तथ्य, विश्वसनीय र सन्तुलन मिलाएर मात्रै राख्नुपर्छ । युट्युब मार्फत पत्रकारिता गर्नेलाई निषेध हैन, क्षमता विकास गर्दै जिम्मेवार बनाउनु पर्ने आवश्यकता देखिन्छ ।

अबको बाटो

सामाजिक सञ्जालको मूल ध्येय सामाजिक सद्भाव कायम गर्दै आधुनिक दिनचर्यालाई अझ व्यवस्थित बनाउने नै हो । तथापि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न विश्वभर नै नियमनका उपाय अवलम्बन गर्न थालिएका छन् । युट्युबको प्यारेन्ट कम्पनी गुगलले ‘युट्युब कम्युनिटी गाइडलाइन्स’ पालना नगर्ने भिडियोहरू कडाईका साथ हटाउने प्रवन्ध लागू गरिरहेको छ । यता नेपाल सरकारले समेत ‘सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८०’ जारी गरिसकेको छ । प्रेस काउन्सिल नेपालले पनि युट्युबलगायतका सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन आचारसंहिता अभिमुखीकरण लगायत विभिन्न जागरणमूलक गतिविधि गरिरहेको छ । यी क्रियाकलाप युट्युब लगायत सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न उपयोगी हुन सक्छ ।

पत्रकारिताका लागि माध्यम चाहिन्छ । युट्युब तथा सामाजिक सञ्जालहरूले पत्रकारिताको मूल्य, मान्यता, सिद्धान्त, आचार संहिता पालना गरेर सामग्री पस्कन सक्छन् । क्यामेरा बोक्ने र भिडियो बनाएर सार्वजनिक गर्ने मानिसले आफूलाई पत्रकार ठान्ने गरेका छन् । दर्शकले पनि पत्रकार र सूचनादाताका बिचमा भिन्नता छुट्याउने, सही सूचना दिने माध्याम, सही र गलत सूचनाका बिचमा भिन्नता पहिल्याउन सक्ने खुबीको विकास हुनुपर्ने आजको आवश्यकता हो । त्यसका लागि मिडिया साक्षरता र पाठक स्वयम्मा नै जागरण आउनुपर्छ ।