काम नगरी खानु छैन! कसरी मनाउनु मजदुर दिवस ?

- प्रियंका दुतराज  

काठमाडाैँ। बिहिबार दिउँसो बानेश्वरको सडकमा केही हुल ‘प्लेकार्ड’ बोकेका मानिसहरु देखिए । केहीछिन पछि त्यस्तै अर्को हुल नारा लगाउँदै आए । उनीहरुका हातमा पनि प्लेकार्ड थिए । प्लेकार्डमा लेखिएको थियो,–संसारका मजदुरहरु एक हौँ ! मजदुर एकता जिन्दावाद !! समान कामको समान ज्याला लागु गर !!! आदी इत्यादी । प्लेकार्डबाटै थाहा हुन्थ्यो कि, आज ‘मजदुर दिवस’ हो ।
तर, सोही सडकको छेउमा निर्माणधिन घरमा मजदुरको रुपमा काम गरिरहेकी २९ वर्षीय सबिना घिसिङलाई न कामबाट फुर्सद थियो, न त मजदुर दिवसका बारेमा नै थाहा थियो ।
आज मई १, अर्थात १३६ औँ मजदुर दिवस । यस अवसरमा सडकमा बिभिन्न मजदुर संगठनले ¥याली निकालेका थिए । उनी भने काममै ब्यस्त थिइन् ।

मजदुर दिवसको बारेमा आफुलाई केही थाहा नभएको उनले बताइन् । ‘बिहान बेलुकी काम नगरि खानु छैन । एक दिन काम गर्न नआए अर्को दिन साहुले कामबाट निकालिदिन्छन् । के दिवस मनाउनु ?’ उनले प्रश्न गरिन् ।
ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्न निकै मुस्किल हुने गरेको उनी बताउँछिन् । ‘बिहानदेखि बेलुकीसम्म काम गर्नु पर्छ । एकदिन पनि आराम छैन । साँझ घर फर्किदाँ जिउ दुखेर सुत्न समेत सक्दिन ।’

महिनावारी भएको बेलामा समेत काममा आउनु पर्दा निकै गाह्रो हुने गरेको उनको अनुभव छ । भन्छिन्, ‘जति नै गारो भएपनि काम नगरि खानु छैन । बालबच्चा पाल्नै पर्यो । उनीहरुलाई पढाउनु पर्यो । कोठाभाडा तिर्नै पर्यो । घरको समस्याले गर्दा महिनावारी भएको बेला पेट दुखेर जति गाह्रो भए पनि काममा आउनै पर्यो ।’

सबिनासंगै ज्यामी काम गर्ने सिन्धुलीका ३१ बर्षिय अजय कुुवँरलाई पनि मजदुर दिवसले छोएको छैन । सडकको ¥याली देखेर उनी एकछिन टोलाउँछन् । त्यसपछि पूनः काममै केन्द्रित हुन्छन् । ‘मजदुर दिवस कुन चराको नाम हो’, उनलाई थाहा छैन ।
‘मजुदुर दिवस भन्छन्, तर सुकिला मुकिलाले मात्र दिवस मनाएको देख्छु । हामी जस्ता मजदुरलाई त कसैले वास्ता नि गर्दैनन् । उनले गुनासो गरे ।

केही वर्ष अघि बैदेशिक रोजगारीको शिलशिलामा दुवई पुगेका उनी ६ महिनामै स्वदेश फर्किनु पर्यो । स्वदेश फर्केपछि उनले पूनः ज्यामी काम सुरु गरे । तर काम अनुसारको ज्याला नपाएको उनको गुनासो छ ।

 

यता, राजधानीको धोविखोला छेउमा मकै पोलेर जिविकोपार्जन गर्दै आएकी बनेपाकी ५४ बर्षिय गंगा थापाको अवस्था पनि उस्तै छ । मकै पोलेर कमाएको दुई चार सय रुपैयाँले घर ब्यवहार चलाउन किनै मुस्किल हुने गरेको उनी बताउँछिन् । काठमाडौँको महंगी उस्तै छ । त्यसमाथि हामीलाई गरिखाने वातावरण नै छैन ।’

मकै खान आउने ग्राहकमध्येका एक जनाले उनलाई मजदुर दिवसको दिन ¥यालीमा बोलाएका थिए । बिहिबार उनी मकै पोल्न छाडेर ¥यालीमा जाने तरखर गर्दै थिइन् । तर यो दिवस किन मनाइन्छ भन्ने बारेमा भने उनलाई थाहा छैन । भन्छिन्, ‘हिँजो एकजनाले जुलुसमा आउनु भनेर गएका छन् । रमाइलो हुन्छ रे । एकछिन फुर्सद निकालेर भएपनि जुलुसमा जाने हो ।’ उनी मकै पोल्न छाडेर जुलुसमा जान हतार गर्दै थिइन् ।

हरेक राजनीतिक पार्टीहरुले मजदुर तथा आम श्रमिक वर्गको अधिकारका लागि भन्दै छुट्टा-छुट्टै संगठन बिस्तार गरेका छन् । मजदुरका नाममा खोलिएका ति संगठनका बारेमा आफुहरुलाई केही थाहा नभएको उनको भनाई छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ माओवादी निकट मानिने श्रमिकहरुको संगठन हो । संगठनका अध्यक्ष जगत सिंखडाले आफुहरु मजदुरहरुको हक अधिकारका लागि संघर्ष गरेको बताउँछन् । नेकपा माओवादीले मजदुरकै हक हितका लागि १० वर्षसम्म जनयुद्ध गरेको स्मरण गर्दै  उनले आफुहरु सधै मजदुरका पक्षमा रहेको बताए ।

महासंघले आज राजधानीको प्रज्ञा प्रतिष्ठानमा मजदुरका नाममा सभा आयोजना गरेको छ । पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्वोधन गर्ने उक्त कार्यक्रममा माओवादी निकट मानिने मजदुरहरुको उपस्थिति रहेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकका समस्या, गुनासो र मुद्दामा आफुहरु सधै प्रतिवद्ध रहेको बताउँछन् । श्रम ऐन, २०७४ ले श्रमिकलाई दैनिक ८ घण्टा र साप्ताहिक रुपमा ४८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाउने व्यवस्था गरेको भएता पनि ब्यवहारमा त्यस्तो नपाइएको उनले गुनासो गरे ।

यता, नेपाली काङगेस निकट मानिने नेपाल टे«न युनियन काङगेसले समेत लतितपुरको जावलाखेलमा श्रमिक दिवसको सन्दभमा ¥याली लगायत पार्टि सभाको कार्यक्रम आयोजना गरेको संगठनका अध्यक्ष योगेन्द्र कुमार कुवँरले जानकारी दिए । कार्यक्रममा नेपाली काङगेस पार्टिका अध्यक्ष शेरबहादुर देउवा लगायत पार्टीका शीर्ष नेताको उपस्थिति रहेको उनले बताए ।

कतिपय राजनीतक पार्टीहरुले मजदुर संगठन खोलेर मजदुरमाथि राजनीति गरिरहेका उनको आरोप छ ।
आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो ।