काठमाडौँ । भारत-पाकिस्तानबीच शुक्रबार रातिदेखि फेरि सुरू भएको ड्रोन आक्रमण शनिबार दिउँसो पनि जारी छ। पाकिस्तानले भारतीय सैन्य र हवाइ अड्डाहरूलाई लक्ष्य गरेर गरेको आक्रमणको जबाफ भनेर भारतले पाकिस्तानका ८ वटा सैन्य र हवाइ अड्डाहरुमा निशाना साँधेको दाबी हिन्दुस्तान टाइम्सले गरेको छ।
शनिबार बिहान भारतले पाकिस्तानका तीनवटा हवाइ अड्डामा आक्रमण गरेको भनेको थियो। दिउँसो पत्रकार सम्मेलनमा भारतीय सेनाका कर्नल सोफिया कुरेशीले रडार, गोलाबारूद्ध भण्डारण र कमान्ड सेन्टरहरूसहितलाई लक्ष्य गरेर ८ ठाउँमा सटिक आक्रमण गरिएको बताएकी थिइन् ।
भारतका विभिन्न भूभागहरुमा शनिबार दिउँसो विस्फोट भएको आवाज सुनिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतका लुधियाना, फरिदकोट, राजस्थानका जोधपुर, जइसाल्मर श्रीगंगानगर, पोखरन, बार्मर लगायतका जिल्लाहरूमा रेड अलर्ट जारी गरिएका छन् ।
बर्नालामा राति ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म ब्ल्याकआउट घोषणा गरिएको छ। जम्मू(कश्मिरका संवेदनशील क्षेत्रका वस्तीहरू खाली गरिँदैछ। बिहीबार राति दुई देशबीच ठूलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण भए पनि शुक्रबार दिनभरि भारत-पाकिस्तानी भूभागहरू शान्त थिए।
भारतले शुक्रबार रातिदेखि पाकिस्तानका ८ वटा सैन्य र हवाइ अड्डालाई लक्ष्य गरेर आक्रमण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। पाकिस्तानका रफिकी, मुरिद, चकाला, रहिम यार खान, सुक्कुर, चुनियन, पसुरूर र सियालकोटमा हवाइ र सैन्य अड्डाहरूमा आक्रमण गरिएको हिन्दुस्तान टाइम्सले लेखेको छ।