एआइले नर्सिङ पेशालाई ‘रिप्लेश’ गर्न सक्दैन-डा.साविहा यासमिन

दियोपोस्ट संवाददाता

 

काठमाडौं । विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको एआईले अन्य पेशालाई असर गरेपनि नर्सिङ पेशालाई कुनै असर गर्न नसक्ने नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डाक्टर साविहा यासमिनले बताएकी छन् । आइतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै डा.यासमिनले स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको नर्सिङ पेशाको विकल्प नै नरहेको जिकीर गरिन् ।

बिरामीको सेवा र उपचारमा नर्सहरुको भुमिका महत्वपूर्ण हुने उनले बताइन् । उनले भनिन्, ‘कुनैपनि स्वास्थ्य सेवाको म्यानेजमेन्ट सिस्टममा नर्सहरु पर्दा पछाडीका हिरो हुनुहुन्छ । बिरामीलाई यतिधेरै केयर गरिदिनुहुन्छ कि तपाईहरुको ठाउँ कुनै डाक्टरले लिन सक्दैनन् । एआइले पनि तपाईहरुको करुणा, माया र हेल्थ केयरलाई रिप्लेस गर्न सक्दैन । डाक्टरहरुको त्यत्ति खोजी हुँदैन जति नर्सहरुको हुन्छ ।’

नर्सहरुले बिरामीको लागि गर्ने स्वास्थ्य सेवा अद्भुत रहेको उनको भनाई छ । डा.यासमिनले नर्सहरुलाई आमाको संज्ञा दिँदै बिरामीको स्वास्थ्य हेरचाहमा नर्सहरुले गरेको योगदानलाई प्रत्येक बिरामीहरुले धन्यवाद दिनुपर्ने बताईन् ।। ‘नर्सहरुको काममा कसैसँग तुलना हुन सक्दैन । बिरामीले डाक्टरलाई जसरी धन्यवाद भनेर जानुहुन्छ त्यसरी नै नर्सहरुलाई पनि भन्नुपर्छ ।’ उनले भनिन् ।

प्रबन्ध निर्देशक डा. यासमिनले हेल्थ केयर सिस्टममा डाक्टरहरु मस्तिष्क र नर्सहरु मुटु रहेको उनले जिकीर गरिन् । ८० प्रतिशत बिरामीहरु नर्सहरुको स्याहारका कारण निको भएर घर जान सकेको बताउँदै उनले भनिन्, ‘जुनदिन नर्स हुँदैनन् त्यही दिन हेल्थकेयर सिस्टम विश्वबाट कोल्याप्स हुन्छ । ८० प्रतिशत बिरामीहरु नसैका कारण घर गइरहनु भएको छ । जुनदिन नर्सहरु हुनुहुन्न त्यो दिन विश्वभरबाट हेल्थकेयर सिस्टम कोल्याप्स हुन्छ ।’

नेपाल मेडिकल कलेज नर्सिङ सेवालाई सवल, प्रभावकारी बनाउन सदैव सकारात्मक रहेको उनको भनाई छ । नर्सहरुको क्षमता अभिबृद्धि गर्नका लागि कलेजले समयसमयमा तालिमहरु दिने उनले बताईन् ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा.मोदनाथ मरहठ्ठाले प्रत्येक नर्सहरुले आफुलाई फ्लोरेन्स नाइटेङ्गल बनाउन प्रेरित हुनुपर्ने बताए । फ्लोरेन्स नाइटेङ्गलले विश्वकै स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको स्मरण गर्दै आइसियूको सुरुवात पनि फ्लोरेन्स नाइटेङ्गलकै अवधारणा रहेको चर्चा गर्दै मरहठ्ठाले कलेजको स्वास्थ्य सेवामा नर्सहरुले पुर्याउनु भएको योगदानको प्रसंशा गर्दै प्रा.डा. मरहठ्ठाले नर्सहरुको पेशागत हित र व्यवसायिक दक्षता अभिबृद्धिमा कलेज सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।

नर्सिङ कलेजका अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्यायले नर्सहरुप्रति समर्पित कविता वाचन गर्दै नर्सहरुले बिरामीको उपचार र स्याहारमा पुर्याएको योगदानको स्मरण गरे । नेपालको सन्दर्भमा नवजात शिशुको मृत्युदर, मातृ मृत्युदर, पोलियो उल्मुलन गर्नुमा समेत स्वास्थ्य परीचारिका (नर्स) हरुमा महत्वपूर्ण भूमिका रहेको भन्दै नर्सहरुले स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्दै कलेजकी मेट्रोन नविना सिंहले सरकारले नर्सिङ शिक्षाको विकास, विस्तार र प्रवर्द्धनमा काम गर्नुपर्ने बताए । विश्वभर नर्सहरूको माग भइरहेको बेला सरकारले नर्सिङ कलेज बन्द गर्दा दक्ष जनशक्ति अभाव भइरहेको जनाउँदै बन्द भएका कलेज खोल्नुपर्ने उनको धारणा थियो । मेट्रोन सिंहले नर्सिङ पेशा व्यवसायिक भन्दा पनि मानव सेवाभाव भएको उनले बताए ।

कार्यक्रममा नेपाल मेडिकल कलेजका विगत १५ वर्षदेखि कार्यरत २९ जना नर्सहरुलाई सम्मान समेत गरिएको थियो ।

अन्तराष्ट्रिय नर्सिङ डेकै अवसरमा कलेजका कार्यरत नर्सहरुले आकर्षक नृत्यसँगै गीत समेत प्रस्तुत गरेका थिए भने नाटक मार्फत नर्सिङ केयरकी जन्मदाता फ्लोरेन्स नाइटेङ्गलको जीवनी प्रस्तुत गरेका थिए । साथै, कलेजमा उपचाररत करिब २ सय बिरामीहरूलाई फलफुल समेत वितरण गरिएको छ ।

आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्म १२ मे १८२०मा भएको थियो । उनलाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ । दया र सेवाकी प्रतिमूर्ति नाइटिङ्गेललाई ‘द लेडी विद द ल्याम्प’ ९बत्ती लिएकी केटी० भनेर विश्वभर सम्मान गरिन्छ । अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो वर्ष ‘हाम्रा नर्सहरू, हाम्रा भविष्य, नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई सुदृढ बनाउँछ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउँदैछ ।

सिफारिस