काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार असफल भएको बताएका छन् । आइतबार संघीय संदसदमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकार चल्न नसकेको भन्दै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताए ।
सांसद सञ्जयकुमार गौतमले मुलुकलाई अघि बढाउन केही समय राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको समेत बताए । ‘म शीर्षस्थ नेताहरुलाई राष्ट्रिय सहमति निर्माण गर्न आग्रह गर्छु । सहमति कायम गरेर केही निश्चित दूरी सँगै नहिँडे प्राप्त उपलब्धिहरू संकटमा पर्न सक्छन् ।’
मुलुकले राष्ट्रिय सहमति निर्माण गर्नु पर्ने आवश्यकता ओल्याउँदै उनले भने, ‘राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्न सक्यौं, संविधान संशोधन गर्न सक्यौं, जनतामा आशा र भरोसा प्रदान गर्न सक्यौं र मुलुकलाई निश्चित दूरीसम्म संँगै हिंडाउन सक्यौं भने मात्रै हामी एक ठाउँमा पुगौंला । अन्यथा, हामीले ल्याएको गणतन्त्र, संघीयता, तीन तहका सरकार जोखिममा पर्ने अवस्था छ ।’ सांसद गौतमले राजनीतिक पार्टी र नेतृत्वको कमजोरीका कारण जनतामा निराशा पैदा भएको बताए ।
उनले वर्तमान सरकारले पनि जनतामा आशा र भरोसा जगाउन नसकेको बताए । ‘सरकार हाम्रो छ । कांग्रेस र एमाले मिलेर बनेको सरकार छ । तर, एउटा सांसदका रूपमा हेर्दा पनि सरकार सरकार जसरी चलिरहेको छैन । जनतामा आशा र भरोसा जगाउन सकिरहेको छैन ।’
उनले राज्यका तीनवटै अंग सरकार, संसद्, न्यायालयप्रति जनतामा भरोसा पैदा हुन नसकेको बताए । ‘सरकार सरकारजसरी चलेको छैन । संसद् जसरी चल्नु पर्ने हो, त्यसरी चलेको छैन । संसद्मा जुन ‘भाइब्रेशन’ हुनुपर्ने त्यो छैन । जनताका समस्या जसरी उठ्नुपर्ने हो, त्यो भइरहेको पाउँदिनँ । न्यायपालिका प्रति पनि जनताका आशा भरोसा पैदा हुन सकेको छैन । नयाँ सोच र सम्भावना देखाउन सकेको छैन,’ उनले भने ।