
काठमाडौं । लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक भएको छ । विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभवलाई समेटेर लेखिएको पुस्तक महाराजगञ्जमा आयोजित एक कार्यक्रमका बीच आइतबार सार्वजिक गरिएको हो ।
नेपाली कांग्रेसका नेता एवं सांसद डा.शशांक कोइरालाले नियात्रा सङ्ग्रहको विमोचन गरे । बिमोचनका क्रममा नेता कोइरालाले लेखक श्रेष्ठको बिमोचित कृतिको प्रशंसा गरे ।
‘यात्राको तस्बिर’ श्रेष्ठका २७ औं प्रकाशित कृति हो । यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित थियो । श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव समेटेर ‘यात्राको तस्बिर’ नियात्राको तयार पारेका थिए । लेखकले उक्त पुस्तकमा बिभिन्न १७ शीर्षकमा आफ्ना अनुभवहरु समेटेका छन् ।
उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।