काठमाडौं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा नेपाल समाजवादी पार्टी (नेसपा) भित्र विवाद चर्किएको छ । माओवादीसँगको एकता प्रक्रियालाई अन्तिम रुप दिन पहल भइरहेका बेला पार्टी भित्र विवाद चर्किएको हो ।
पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सांसद गंगानारायण श्रेष्ठ र उनको समूह माओवादी पार्टीसँग एकताको तयारीमा छन् । तर, पार्टी अध्यक्ष महिन्द्रराय यादव यथास्थितिमा एकतामा नहुने भन्दै एकताको बिपक्षमा देखिएका छन् ।
माओवादीसँगको एकता प्रक्रिया टुङ्ग्याउन श्रेष्ठ समूहले ११ जेठमा केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यसलाई खण्डन गर्दै अध्यक्ष यादवले पार्टीको आधिकारिक बैठक नरहेको स्पष्ट पारेका छन् ।
यादवनिकट महासचिव रमेशप्रसाद यादवले बिहीबार विज्ञप्ति जारी गर्दै ११ जेठमा पार्टीको केन्द्रीय समितिको आधिकारिक बैठक नरहेको जनाएका छन् । विज्ञप्तिमा उनले नेकपा माओवादी केन्द्रबीच रुपान्तरणसहित एकता गर्न नेपाल समाजवादी पार्टी दृढ रहेको बताएका छन् ।
‘नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच एकताको सन्दर्भमा रुपान्तरणसहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु,’ विज्ञपितमा भनिएको छ ।