गाजामा इसराइली ‘हवाइ आक्रमण’मा परि ३० जनाको मृत्यु !

दियोपोस्ट संवाददाता  

एजेन्सी । गजापट्टिको जबालिया क्षेत्रमा इसराइलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ अधिकारी समेत मारिएका छन् ।
रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिसहरू हमासको बन्धकमा छन्। तीमध्ये केहीको मृत्यु भइसकेको आकलन छ। नुसेरातमा भएको अर्को हवाई आक्रमणमा त्यस क्षेत्रको नागरिक आपतकालीन सेवाका एक वरिष्ठ अधिकारी अशरफ अबु नार र उनकी श्रीमतीको मृत्यु भएको रोयटर्सले जनाएको छ।

सन् २०२३ को अक्टोबर ७ यता गजामा २२० जना पत्रकारहरू इसराइली हमलामा मारिएको तथ्यांक छ। इसराइली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले आइतबार खान युनिसमा इसराइली सैनिकहरूलाई भेटेर गजाको युद्ध अनन्त नभएको बताएका थिए। उनले हमासका कमान्ड सेन्टर अधिकांश ध्वस्त पारिएको पनि बताएका थिए।

‘हामी बन्धकहरूलाई घर ल्याउन, हमासलाई ध्वस्त पार्न हामीसँग भएका सबै उपकरण प्रयोग गर्नेछौं,’ जामिरले भनेका छन्। इसराइलक हवाई हमलापश्चात अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले विज्ञप्ती जारी गर्दै आफ्ना दुई अधिकारी मारिएको बताएको छ।

उसले गजामा ठूलो संख्यामा नागरिकहरू मारिएको र यस्तो अवस्थालाई अन्त्य गर्न तत्काल युद्धविराको विकल्प नरहेको भनेको छ। गजाबाट सञ्चालित मिडियाहरूले गजापट्टिका ७७ प्रतिशत भूभाग इसराइली सेनाले कब्जा गरेको बताएको छ। उनीहरुले जमिनबाट पनि बमबारी गर्दै घरहरू ध्वस्त पारेको र त्यहाँबाट मानिसहरूलाई विस्थापित गरेको बताएको छ।

हमास र इस्लामिक जिहादको सशस्त्र शाखाले आइतबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर गजाका धेरै क्षेत्रहरूमा कार्यरत इजरायली सेनाविरुद्ध बम र ट्याङ्क विरोधी रकेट आक्रमण गरिएको बताएको छ।  गजामा युद्धविरामका लागि पहल भइरहेको भए पनि ठोस परिणाम आउन सकेको छैन। यसअघि ४२ दिने युद्धविरामताका एक सयको हाराहारीमा बन्धकहरूलाई हमासले रिहा गरेको थियो।

 

सिफारिस