माओवादी र नेसपाबीच पाँच बुँदे सहमति सहित पार्टी एकता

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबीच पार्टी एकता भएको छ । ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा सोमबार पार्टी एकता घोषणा भएको हो ।

एकतासंगै दुई पार्टीबीच पाँच बुँदे सहमति भएको छ । एकता समारोहमा माओवादीका महासचिव देव गुरुङले नेसपा (गंगानारायण श्रेष्ठ) समूह माओवादी केन्द्रमा समायोजन र पाँच बुँदे सहमति भएको घोषणा गरेका थिए ।

२०७२ सालमा तत्कालीन एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीबाट अलग भएपछि गठन भएको नयाँ शक्ति नेपाल, सङ्घीय समाजवादी, जसपा नेपाल हुँदै २०७९ सालमा भट्टराईकै नेतृत्वमा नेपाल समाजवादी पार्टी(नेसपा) गठन भएको थियो ।

निर्वाचनपछि माओवादीसँग पार्टी एकता गर्ने पूर्वसहमतिबाट भट्टराई अलग भएपछि श्रेष्ठ समूहले अर्का अध्यक्ष महिन्द्र राय यादवलाई साथ दिएका थिए । २०८० साल चैत ३ गते महिन्द्र–गंगानारायण समूहले माओवादीसँग पार्टी एकता गर्ने तीन बुँदे सहमति गरेको थियो ।

तर महिन्द्र समेत एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार पार्टी पुनर्गठन गरी एकता गर्ने निर्णय गर्‍यो । एकताका लागि नेसपाले पठाएको विगतको ९ बुँदे आधार पत्रका आधारमा पार्टी एकता गर्ने निर्णय गरेको दाबी गरेका छन् ।

श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब सय जना केन्द्रीय सदस्यहरू माओवादी फर्किएको नेताहरूले दाबी गरेका छन् । दुई पार्टीबीचको एकताका लागि भएको सहमती पत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका गंगानारायण श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

नेकपा माओवादी केन्द्रमा १० वर्षपछि फर्किएका नेता श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् । ९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए । श्रेष्ठसँगै माओवादी केन्द्रमा फर्किएका अरु नेताहरुको पदीय हैसियत भने टुंग्याउन बाँकी छ ।

यो सँगै माओवादी केन्द्रमा सचिवहरूको संख्या ८ जना पुगेको छ । यसअघि माओवादीमा ७ जना सचिव थिए । दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोख्रेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य माओवादीका सचिव थिए । अब श्रेष्ठ पनि सचिवको सूचीमा थपिएका छन् ।

सहमति पत्रमा उल्लेखित ५ वटा बुँदा यस्ता छन्,

१. पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र माओवाद हुनेछ ।

२. नेपाली समाजवाद विशेषको समाजवादी क्रान्तिको कार्यक्रम हुनेछ ।

३. समाजवादी क्रान्तिका लागि अवस्था अनुसार सडक, सदन, सरकार लगायत सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ । तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र आपसी सहमतिको आधारमा तय गरिनेछ ।

४. पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीको एकरूपताको जनवादी केन्द्रीयता मान्यता अनुसार पार्टी सञ्चालन गरिनेछ । कतिपय सैद्धान्तिक विषय पार्टी महाधिवेशनसम्म छलफल गर्न सकिनेछ ।

५. समायोजन भएका गंगानाराण श्रेष्ठलाई सचिव र अन्यलाई सङ्गठनमा जिम्मेवारी पाएको अनुसार जिम्मेवारी दिइनेछ ।