काठमाडौं, ३१ वैशाख । शुक्रबार राजधानीको सभागृहमा भाषण गर्दै गर्दा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरण निकै समय रोकिन पर्यो । कारण उनलाई हलबाट कार्यकर्ताले हुटिङ गरेर बोल्नै दिएनन् । जनयुद्धकालिन मुद्दाको विषयमा ५ माओवादी घटकले गरेको अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्न पुगेका बैद्यले सम्बोधनको क्रममा माओवादी एकताको विषयमा कुरा गरेपछि कार्यकर्ताले एकता गर्न दबाब दिएका थिए ।
‘माओवादीहरुको एकताको लागि पहिलो कुरा विचार हो । भनेर भन्नुस्’ बैद्यले यसो भन्दै गर्दा कार्यर्ताले ठूलो हुटिङ गरेका थिए । त्यसैबीच एक कार्यकर्ताले ठूलो स्वरमा ‘भन्नुस् मात्र नभन्नुस् एकता पनि गर्नुस्’ भन्दै कराएका थिए ।
मन्चमै रहेका एमाओवादी अध्यक्ष प्रचण्डले शान्त हुन भन्दै हात उठाउनु परेको थियो । बैद्यले पटकपटक मेरो कुरा सुन्नुस् भनेका थिए ।
युद्धकालिन मुद्दाहरु ब्युँताउनु र माओवादीकै सरकार हुनु विडम्बना भएको भन्दै उनले एमाओवादीलाई सरकार छाड्न समेत आग्रह गरेका थिए । ‘यदि तपाईंहरु सरकार छाडेर बन्दुक बोक्न तयार हुनुहुन्छ भने, हामी एकताको विषयमा सोच्न सक्छौं,’ बैद्यले भने ।
उनले माओवादीले विगतमा गल्ति कमजोरी गरेको स्विकार गर्नुपर्ने तर्क समेत गरे । आफूहरुले द्वन्दकालिन मुद्दालाई लिएर प्रधानमन्त्री केपी ओलीलाई भेट्न जाँदा प्रचण्डले ओलीलाई जोडदार कुरा राख्दा पनि खासै केही नभएको उनको भनाई थियो ।
‘गणतन्त्रका लागि लड्नेहरुलाई हिजो गणतन्त्र विरोधीहरुले जेल हाल्ने यही हो परिवर्तन ?’ प्रश्न गर्दै वैद्यले भने, ‘हामी माओवादीहरु गम्भिर बन्नुपर्ने बेला आएको छ ।
बैद्यले फेरी नयाँ सहमति गर्नुपर्ने बताएका छन् ।
उनले माओवादीलाई जेल हाल्ने सपना कुनै पनि हालतमा पुरा नहुने जिकिर गरेका थिए ।