काठमाडौं, ६ जेठ । विहीबार माओवादी घटकहरुको एकता घोषणा सभामा नवगठित ‘नेकपा माओवादी केन्द्र’ का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्साही मात्रै बनेनन् भावुक पनि बने । ‘माओवादी एकताको घोषणा भएको छ, यो विगत ५ वर्षमा माओवादी विभाजले शहिद, घाईते अपाङका परिवारका सदस्यहरुकपो मनहरु भाँचिए कुँडिए र माओवादी कमजोर हुँदै आए,’ प्रचण्डले भने, ‘आजदेखि माओवादी विभाजनका दिन सिद्धिए विजयको सुरुवात भएको छ ।’
नेपाली समाजको परिवर्तनको लागि माओवादी जनयुद्धले खेलेको भूमिका उल्लेख गर्दै उनले माओवादीले युगान्तकारी परिवर्तन सम्भव बनाएको दाबी गरे ।
आफूलाई १० वर्षे जनयुद्धको नेतृत्व र पछि विभिन्न समयमा भएका संघर्षको नेतृत्व गर्न जिम्मेवारी दिएको प्रति धन्यवाद दिँदै प्रचण्डले विभाजित माओवादीलाई एक पार्ने नेतृत्व पनि गर्न पाएकोमा खुसी भएको छ ।
‘हामीलाई कमजोर ठान्ने जसले राजतन्त्रका अन्त्यका लागि गणतन्त्र ल्याउन एकात्मक राज्य अन्त्य गरी धर्म निरपेक्षता ल्याउने शक्तिलाई कहिँ न कहिँ कमजोर ठान्ने प्रवृति बढ्दै थियो,’ प्रचण्डले भने, ‘त्यो प्रवृतिको अब पराजयको दिन शुरु भयो ।’
माओवादी एकतालाई माओवादीको मात्रै एकता नभएको भन्दै उनले राष्ट्रिय एकताको संज्ञा दिए । अध्यक्ष प्रचण्डले फेरी राजा ल्याउने र राजतन्त्रलाई पुर्नवहाली गराउन चाहानेहरुको मृत्युको दिन सुरुवात भएको भन्दै उनले त्यही तरिकाले कार्यदिशा बनाएको उल्लेख गरे ।
माओवादीले कार्यदिशामा सामन्तवादमाथि नेपाली जनताको राजनीतिक विजय भएको उल्लेख गर्दै उनले अन्तरिम कार्यदिशा समेत पारित गरेको जानकारी दिए ।
एकता प्रक्रियामा मोहन बैद्य र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई पनि सामेल हुन अपिल गर्दै उनले भने, ‘यो महान प्रक्रियामा भर्खरै छुट्नुभएका आदर्णिय मोहन बैद्यलाई आउन अपिल गर्दछु, बाबुराम जीले पनि अन्तै गएँ भनेर सुख पाउनु हुन्न । नयाँ शक्ति भनेर बुर्जुवाहरुलाई लिएर हिड्न छाड्नुहोस् । अब नयाँ महासागर सुरु भयो ।’
माओवादी एकताले जनतामा खुसीयाली छाएको दाबी गर्दै प्रचण्डले अब कुनै पनि हालतमा आँशु झार्न नदिने बताए ।
अध्यक्ष प्रचण्डका अनुसार नवगठित माओवादीमा ६ सय ९९ जना केन्द्रीय अन्तरिम सदस्यहरु रहनेछन् । आगामी एक वर्ष भित्र महाधिबेशन गर्ने बताइएको छ । नवगठीत माओवादीमा १० वटा पार्टी तथा समुहहरु सामेल भएका छन् ।