चितवन, ७ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान ९ बजे खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ५०० घन मिटर जति पहिरो खसेको छ ।
बिहान १०ः३० बजेदेखि एकतर्फी सडक खुलाइएको भए पनि ठूलो पहिरो खसेका कारण साँझसम्ममा मात्र दुईतर्फी सडक खोल्न सकिने उनले बताए । पहिरोमा ठूला ढुङ्गा खसेका कारण ढुङ्गा फोर्ने काम जारी रहेको छ । पहिरो पन्छाउन एक्साभेटर, लोडर र टिपरसहित जनशक्ति परिचालन गरिएको छ ।
पहिरो खसेको स्थान मुग्लिनबाट छ किमी नारायणगढतर्फ पर्दछ । सडक मर्मतका क्रममा भित्ता फोरिएका कारण पानी पर्दा हिलो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेको खनालले बताए । पहिरो खसेसँगै यात्रु प्रभावित भएका छन् ।
तीनदिनअघि सोही सडकखण्डको भालुढुङ्गामा पहिरो खसेपछि दुई दिनसम्म सडक एकतर्फी रुपमा सञ्चालन हुँदा यात्रुले हैरानी बेहोर्नुपरेको थियो