हेटौँडा, ८ जेठ – २ हजार ५ सय ६०औँ बुद्धजयन्तीका अवसरमा यहाँका बौद्ध उपासकउपासिकाले हेटौँडा उपमहानगरपालिका वडा ४, ९ र १०मा रहेको बौद्ध विहारमा आज बिहान पूजा अर्चना गरेका छन् ।
यहाँ निकालिएको छुट्टाछुट्टै पदयात्राले उपमहानगरपालिकाको परिक्रमा गरेका थिए । सो अवसरमा मकवानपुरका प्रजिअ डा मानबहादुर विक, स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापा, मकवानपुर क्याम्पसका सहप्राध्यापक डा गणेश लामा, उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेश पोखरेल लगायत पदयात्रा र पूजामा सहभागी थिए ।
राष्ट्रसङ्घमा बुद्धजयन्ती विशेष समारोह
बुद्धजयन्तीको अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा शनीवार एक विशेष समारोह आयोजना गरियो ।
त्यस अवरसमा महासचिव बानकी मुन, महासभाका कार्यबाहक अध्यक्षका साथै बङ्गलादेश, भुटान, क्याम्बोडिया, भारत, इण्डोनेसिया, जापान, लाओस, मलेसिया, म्यान्मा, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुसी महासङ्घ, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले मन्तव्य व्यक्त गरेका थिए ।
भेसाक दिवसका रुपमासमेत मनाइएको बुद्धजयन्ती समारोहमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि एवम् राजदूत दुर्गाप्रसाद भट्टराईले अहिंसा र मध्यमार्गजस्ता बुद्धका उपदेशले दुई शताब्दीदेखि मानव समाजलाई मार्गदर्शन गराएको बताए ।
अहिंसा, करुणा र सहनशीलताजस्ता बुद्धका उपदेशलाई सबैले सम्झनुपर्नेमा राजदूत भट्टराईले जोड दिइका थिको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ । उनले मानव दुःख र कष्टलाई अन्त्य गर्ने बौद्ध उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको समेत बताए ।
त्यसअघि आजै बौद्धभिक्षुलाई भोजन दान गरिएको थियो । श्रीलङ्काली स्थायी नियोगले आयोजना गरेको भोजन दान कार्यक्रममा नेपाली स्थायी नियागका पदाधिकारीले त्यहाँ एकत्रित भएका बौद्धभिक्षुलाई नेपाली भोजन गराएका उक्त नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।