ट्राभल कम्पनीद्वारा स्ट्रेचर सहयोग

ट्राभल कम्पनीद्वारा स्ट्रेचर सहयोग

बागलुङ, १० जेठ । काठमाडौँमा रहेको सुमेघ टुर्स एन्ड ट्राभल्सले बागलुङको गलकोटस्थित १२ वटा स्वास्थ्य संस्थालाई ‘स्ट्रेचर’ प्रदान गरेको छ ।

ट्राभल्सले सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक लाख मूल्य बराबरका १२ वटा ‘स्ट्रेचर’ निःशुल्क सहयोग गरेको हो । आपत्कालीन अवस्थामा बिरामी बोक्न प्रयोग हुने ‘स्ट्रेचर’ पाउनेमा गलकोट प्राथमिक स्वास्थ्य केन्द्रसहित ११ वटा स्वास्थ्य चौकी छन् ।

जसमा हटिया, मल्म, काँडेबास, रिघा, पाण्डवखानी, हिल, अर्गल, तारा, नरेठाँटी, अमरभूमि र दुदिलाभाटी गाविसका स्वास्थ्य चौकी रहेका छन् ।
गलकोट हटियामा जन्मनुभएका पर्यटन व्यवसायी एवम् ट्राभल्सका कार्यकारी निर्देशक मेघ केसीले ति ‘स्ट्रेचर’ हालै सम्बन्धित स्वास्थ्यसंस्थालाई हस्तान्तरण गरेको हो ।

“स्वास्थ्य सेवा लिन सर्वसाधारणलाई सुविधा होस् भनेर ‘स्ट्रेचर’ सहयोग गरेका हौँ” सञ्चालक केसीले भने । ट्राभल्सले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामाजिक सेवाका क्षेत्रमा आफूहरू सधैँ सहयोग गर्न तयार रहेको सञ्चालक केसीको भनाइ छ ।

Trending News