दूध बेचेर पानी किन्दै

diyopost.com
bestnp  मंगलबार, जेठ ११, २०७३ | ५:५७:५०

रामपुर (पाल्पा), ११ जेठ । खडेरीले गाउँमा पानीको हाहाकार भएपछि मदनपोखरा छापका कृषकले दूध बेचेको रकमले पानी किनेर पशुपालन व्यवसाय चलाउँदै आएका छन् । यहाँका कृषकलाई व्यवसाय गर्न खडेरीका बेला हरेक वर्ष चैत, वैशाख र जेठमा दूध बेचेर पानी किन्नुपर्ने बाध्यता छ ।

परिवारको दिगो आयआर्जनको पशुपालन व्यवसाय बनाएका यहाँका कृषकले दैनिक ३० लिटरदेखि १०० लिटरसम्म एक घरपरिवारले दूध उत्पादन गरेर बिक्री गर्छन् । दूध बेचेर लिएको आम्दानीले एक घरपरिवारले दैनिक ३०० देखि एक हजार लिटरसम्म पानी किन्ने गरेको अगुवा कृषक बलबहादुर सिंजालीले बताए ।

दूध बेचेर लिएको आम्दानीबाट यहाँ दैनिक चार ट्याङ्करभन्दा बढी पानी भित्रने गर्दछ । गाउँ नजिकै मूल, कुवा र अन्य पानीका स्रोत नहुँदा यहाँका कृषकले दिनहुँ पानी किनेर व्यवसाय गर्न समस्या भएको बताउँछन् ।

दूध बेचेर जीविका चलाउनका निम्ति छाप गाउँका सबै कृषकले हिजोआज गाईपालन व्यवसाय अपनाएका छन् । पानीको आपूर्ति सहज भएको खण्डमा यस गाउँलाई दूध उत्पादनको नमुना पकेट क्षेत्र बनाउन सकिने पशुसेवा केन्द्र मदन पोखराका पशुस्वास्थ्य प्राविधिक शेरबहादुर रानाले बताए ।

एक गाग्री पानी लिन एक दिन
पानीको भरपर्दो मुहान नहुँदा यहाँका स्थानीयलाई एक गाग्री पानी लिन एक दिन लाग्ने गरेको छ । दाङको तुलसीपुर–७ प्रतावकोट, नाउला, दाङपानीका बासिन्दा एक गाग्री खानेपानी लिन एक दिनको समय खर्चिदै आएका छन् ।

भौगोलीक विकटताका कारण नगरपालिका भए पनि शिक्षा स्वास्थ्य, विद्युत् तथा सञ्चारको विकासले गति लिन नसकेको उक्त स्थानमा खानेपानीको पनि प्रमुख समस्या छ ।

पानीको मुहान टाढा तथा नजिकमा मुहान नहुँदा त्यहाँका स्थानीयवासीले घन्टौँ हिँडेर खानेपानी लिन जानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । “नजिकमा मुहान छैन, भएको एउटा धारामा पनि पालोअनुसार पानी भर्नुपर्ने बाध्यता छ ।”

त्यसैगरी काफल ढुङ्गा खानेपानी योजनाअन्तर्गत पाइप लाइन बिछ्याएर खानेपानीको जोहो गर्दै आए पनि हाल सो खानोपानीको पाइप वर्षात्को पहिरोले बगाएपछि करिब ७० घरधुरीले एउटा धाराबाट पानी खान बाध्य भएका छन् । “गत सालको वर्षात्मा आएको पहिरोले ३०० मिटर पाइप वगाएको छ, पाइपलाइन मर्मत हुन सकेको छैन्” –स्थानीय सुकबहादुर गुरुङले भने ।

सानोतिनो बजेटले खानेपानीको योजना सम्पन्न नहुने भएकाले मुहान भए पनि पानीको समस्या हुँदै भएको स्थानीय बताउँछन् । तुलसीपुर–७ का वडा सचिव खगराज भट्टराईले भने, “पानीको समस्या वडामा निकै छ, दुई हजार बढी जनसङ्ख्या रहेको वडामा कुनै योजना छैन खानेपानीको एक गाग्रीपानी लिन ३÷४ घन्टा लाग्छ–।” रासस

सम्बन्धित खबर