नवलपरासी, १२ जेठ । लुम्बिनी विकास कोषले नवलपरासीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कोषविरुद्ध निकै विरोध भएको छ ।
भगवान् गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तुप र बुद्धको मावली पण्डितपुरको विकासका लागि मङ्गलबार परासीमा गरेको अन्तरक्रिया कार्यक्रममा कोषविरुद्ध नाराबाजी नै भएको हो ।
लुम्बिनी विकास कोषले लुम्बिनी जत्तिकै महत्व रहेको रामग्राम स्तुपलाई बेवास्ता गर्दै आएको भन्दै कार्यक्रममा सहभागी स्थानीयवासीले नाराबाजी गरेका हुन् । स्थानीयवासी तथा रामग्राम दिगो पर्यटन प्रवद्र्धन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले लुम्बिनी विकास कोष मुर्दावाद, हामीलाई रामग्राम विकास कोष चाहिन्छ भन्दै नाराबाजी गरेका हुन् ।
कार्यक्रममा वितरण गरिएको लुम्बिनी विकास कोषले प्रकाशन गरेको लुम्बिनी दर्पण नामक स्मारिकामा समेत रामग्राम स्तुपबारे केही उल्लेख नगरिएको भन्दै उपाध्यायले आक्रोशित हुँदै स्मारिका च्यात्नुभएको थियो ।
लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङ, कोषाध्यक्ष ओम अर्याल, नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरी, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा केही राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी रहेको उक्त कार्यक्रममा नाराबाजी भएपछि कोषका पदाधिकारीले रामग्रामलाई लुम्बिनी विकास कोषले अबदेखि बेवास्ता नगर्ने प्रतिबद्धता जनाएका छन् ।