नयाँ दिल्ली, १७ जेठ । भारतको उत्तरी राज्य उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी, चट्याङ र मुसलधारे बर्षाबाट कम्तीमा २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
गत शुक्रबार रातिबाट उत्तर प्रदेशमा सुरु भएको आँधीबेहरी र चट्याङबाट १८ व्यक्तिको मृत्यु भएको बताइएको छ । उत्तर प्रदेशका बिभिन्न भागमा आएको यस प्रकोपको कारण ती व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
त्यसैगरी उत्तराखण्डमा पनि यस प्रकोपबाट छ व्यक्तिको मृत्यु भएको जनाइएको छ । रुखहरु जरैदेखि ढल्ने र कमजोर घरको संरचनाहरु भत्किदा ती व्यक्तिको ज्यान गएको बताइएको छ ।
गत हप्ता पनि उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेहरी र चट्याङ्का कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको थियो ।
उत्तर प्रदेशको पश्चिमी र मध्यभागहरूमा सुरु भएको चट्याङ र आँधीबेरीका कारण ती व्यक्तिहरूको मृत्यु भएको यसअघि बताइएको थियो ।
उत्तर प्रदेशको ६ वटा जिल्लामा चट्याङ पर्नुका साथै आँधीबेहरीबाट २३ व्यक्तिको मृत्यु भएको थियो । सो प्रकोपका कारण सयौँ रुख र विद्युतका खम्बा ढलेर व्यक्तिहरूको मृत्यु भएको बताइएको छ ।
उक्त क्षेत्रमा गएको करिब तीन दिनदेखि वर्षा पनि जारी रहेको छ । सो वार्षाका कारण बाढी पहिरोको प्रकोप पनि देखिएको अर्को एक समाचारमा जनाइएको छ ।
तर हालसम्म बाढीका कारण नागरिकको मृत्यु भएका समाचारहरु भने आएका छैनन् ।