सिरियाली विपक्षी वार्ता टोलीका प्रमुखद्वारा राजिनामा

दियो पोस्ट  

 

बेरुत, १७ जेठ । सिरियाली विपक्षी समूहका नेताले जेनेभामा जारी रहेको भनिएको शान्तिवार्तामा आफ्नो सहभागिता नरहने भन्दै त्यसबाट हात झिकेका छन् ।

साथै उनले विपक्षी समूहको वार्ता समिति संयोजकबाट राजिनामा पनि दिएको उनले आफ्नो ट्वीटर अकाउन्टमार्फत जनाएका छन् ।

गत महिनादेखि नै जेनेभामा वार्ता हुने भनिएकोमा सफल रुपमा वार्ता हुन नसकेको भन्दै यसका कारण झन सरकारले आफ्नो पक्षका नागरिकमाथि हमला गरी कारबाहीका नाममा मार्ने गरेको आरोप उनको छ ।

सोही कारण आफूले उक्त वार्ता समितिबाट पनि हात झिकेको बताएका हुन् ।

यसअघि तीन चरणमा वार्ता भएको भनिएको थियो तर सो वार्ता सफल हुन सकेको थिएन । हाल पनि पछिल्लो पटक वार्ताको प्रयास भएको भनी संयुक्त राष्ट्रसंघले जानकारी दिएको थियो ।

तर सो वार्ता समयमा सुरु हुन नसकेको पनि समाचारमा जनाइएको छ । बरु सरकारले विपक्षीहरुको वस्ती एवम् आश्रयस्थलहरुलाई छानी छानी तारो बनाएको पनि उनले आरोप लगाएका छन् ।

सिरियाली विपक्षी समूहका संयोजक मोहम्मद अल्लोसले आपूmले सो समूहबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।

साथै उनले वार्ताका लागि सघाउने भनेका अन्तर्राष्ट्रिय समुदायले पनि यथेष्ट रुपमा सहयोग नगरेको र आफ्ना कार्यकर्तालाई थुनाबाट मुक्त गर्न नसकेको बताएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै जनआन्दोलन सुरु भएको थियो । यो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

पाँच बर्ष लामो यस आन्दोलनमा हालसम्म २ लाख ८० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । यसैगरी लाखौँ व्यक्तिले आफ्नो घर छोडी छिमेकी देशमा शरणार्थी जिवन बिताउनु परेको छ ।

यसअघि पनि पटक पटक शान्तिवार्ता भएका त थिए तर ती वार्ताहरु सफल हुन भने सकेको छैन ।

यस आन्दोलनको शान्तिपूर्ण समाधानका लागि पहलस्वरुप संयुक्त राज्य अमेरिका र रसियाले पनि युद्धविरामका प्रस्ताव गरेबमोजिम सिरियामा दुई महिनाअघिदेखि युद्धविराम भएको थियो ।

युद्धविरामको क्रम जारी नै रहेपनि त्यहाँको सेनाले कारबाहीका नाममा सर्वसाधारणको हत्या गरिरहेको आरोप विपक्षीहरुको रही आएको छ ।

सो कारबाहीका क्रममा सेनाले पछिल्लो समयमा सिरियामा आन्दोलन गरिरहेका नागरिकका आश्रयस्थललाई तारो बनाएको विपक्षीहरुको आरोप छ ।

अलोसले भनेका छन्– शान्तिवार्ताका नाममा जारी रहेको भनिएको युद्धविरामको पालना गर्न विपक्षीहरुमात्र बाध्य भएका छन् र सरकारी सेनाले विभिन्न स्थानमा कारबाही जारी राखेका छन् ।

सिरियामा शान्ति स्थापनाका लागि खटेका संयुक्त राष्ट्रसंघका विशेष दूत स्टेफेन डि मिस्टुराले आगामी हप्तामा नै शान्ति वार्ताको आयोजना गर्ने कुनै सोच नरहेको बताएका छन् ।