फराह (अफगानिस्तान), ३ जेठ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा सोमबार बम हमला गरी कम्तीमा पनि चार जना प्रहरीको हत्या गरिएको समाचार छ ।
सोमबार ती प्रहरीको हत्या गरिएको फराहका प्रान्तीय प्रवक्ताले जनाएका छन् । फराहको जुवान जिल्लामा भएको हमलामा परी चार जना प्रहरी सहिद भएका छन्– उक्त प्रान्तका प्रवक्ताले सोमबार अपरान्ह जानकारी दिएका छन् ।
इरानसँगको सीमा क्षेत्रमा रहेको फराह क्षेत्रको एक सडकमा सशस्त्र विद्रोहीले राखेको बम विस्फोट हुदा ती प्रहरी मारिएका समाचारमा जनाइएको छ ।
प्रवक्ता मोहम्मद नासिर मेहरीले नियमित गस्तीमा रहेको प्रहरी समूहलाई लक्ष्य गरेर सो विस्फोट गराइएको थियो ।
उक्त विस्फोटमा परी प्रहरी चढेको भ्यान नराम्ररी जलेको छ भने चार जनाको ज्यान गएको छ । त्यसैगरी त्यसमा परी अरु केही प्रहरी पनि घाइते भएका छन् ।
उक्त विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर पनि त्यसमा अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिवान विद्रोहको हात रहेको जानकारी प्रहरीले प्राप्त गरेको जनाएको छ ।
अफगानिस्तानमा सुरक्षाकर्मीमाथिको हमला पछिल्ला दिनहरुमा बढ्दै गएको छ । अफगानिस्तानमा यसअघि सुरक्षा दिएको नेटो सैनिक भने स्वदेश फर्किसकेको छ ।