चीन–नेपाल– भारत सम्बन्ध : अन्तर्राष्ट्रिय सम्मेलन

दियो पोस्ट  

 

काठमाडौँ, ६ जेठ । चीन–नेपाल–भारत सम्बन्धका प्रमुख प्रवृत्ति र नेपालको नवीन विकासका रणनीति विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ ।

साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (सियाम), इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज् र सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारले चीन र भारतले हासिल गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताए ।
उनले भने– “विगतको समीक्षा गर्दै वर्तमानलाई बुझेर मुलुकको विकासका लागि उपयुक्त रणनीतिक मार्ग निर्धारण गर्नुपर्छ ।”

विकासका रणनीति निर्धारण नगरी निष्क्रिय रहँदा कहीँ पनि नपुगिने यथार्थ औँल्याउँदै उपप्रधानमन्त्री गच्छदारले विगतका असफलता र त्रुटिबाट सिक्दै नयाँ उत्साहका साथ विकासको पथमा अग्रसर हुनुपर्नेमा जोड दिए।
उनले एसियाली मुलुकलाई जल र स्थलमार्गबाट जोड्ने चीनको एक क्षेत्र एक सडक नीति नेपालका निम्ति लाभदायी हुने बताए।
उप प्रधानमन्त्री गच्छदारले गत वैशाखको भूकम्प र त्यसपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले नेपालीको जीव नलाई अति कष्टकर तुल्याएको भए पनि राष्ट्रले झेल्नु परेको त्यस्तो अति असहज परिस्थितिमा पनि नेपालीले धैर्य र एकता प्रस्तुत गरेका बताए ।
आपसी समझदारी र सहयोगबाटै नेपाल–भारतबीचका समस्या समाधान हुनुपर्ने चाहना नेपाली जनताले व्यक्त गरेका पनि उपप्रधानमन्त्रीले स्मरण गराए ।

साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले चीन र भारत नेपालका शुभेच्छुक हुन् भन्दै खुला सिमाना, सांस्कृतिक एवम् धार्मिक सम्बन्धका कारण भारतसँग नेपालको अधिक सम्पर्क एवम् अन्तक्र्रिया हुने गरेको बताए।

उनले नेपालको अपार जलस्रोतको उचित विकासका निम्ति चीन र भारतसँग सहकार्य गर्न उत्तिकै आवश्यक भएको विचार व्यक्त गरे।

 

सिफारिस