मुल्लाह मारिएको अमेरिकी राष्ट्रपति ओबामाद्वारा पुष्टि

दियो पोस्ट  

हनोई, १० जेठ । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको समाचारको अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुष्टि गर्नुभएको छ । ओबामाले मन्सुर मारिएको समाचारको पुष्टि गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

साथै उनले मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणी पनि गर्नुभएको अर्को एक समाचारमा जनाइएको छ ।

राष्ट्रपति ओबामाले एक विज्ञप्तिमा भने– हामीले एकजना आतङ्कवादी संगठनको नेतालाई हटाइसकेका छौँ जसले अमेरिकी सैनिक तथा समग्र अफगान नागरिकका विरुद्ध हिंसात्मक युद्धको घोषणा गरेको थियो ।

राष्ट्रपति ओबामाले भने– हामीले र समग्र शान्तिप्रेमी अफगान नागरिकले गरेको शान्ति स्थापनाको अपेक्षालाई मन्सुरले पटक पटक लत्याइदिएका थिए जसका कारण हाल अफगानिस्तानका शान्तिप्रिय जनता दिन प्रतिदिन मारिन बाध्य छन् ।

अमेरिकी सेनाको हवाई कारबाहीका क्रममा ती मुल्लाह पाकिस्तानमा मारिएका हुन् । उनको हत्याको समाचार अमेरिकी सेनाले दिएको थियो ।

सो समाचारको पुष्टि हुन बाँकी रहेको भनी अफगान सरकारले सुरुमा प्रतिक्रिया दिएको भएपनि आइतबार राति नै उक्त समाचारको पुष्टि गरेको छ ।