आइएसद्धारा भएको बम आक्रमणमा १२० को मृत्यु

दियो पोस्ट  

बेरुत, ११ जेठ । सिरियाली सरकारको गढ मानिएका दुई छुट्टाछुट्टै स्थानमा सोमबार इश्लामिक स्टेट (आइएस) समूहद्वारा गराइएका विस्पोटमा परी कम्तिमा १२० जनाको मृत्यु भएको छ । घटनामा सयौंको संख्यामा घाइते भएका छन् ।

विस्पोटमा परी जावलेह शहरमा ७३ जनाको मृत्यु भएको र यसबाट अझ दक्षिणमा अवस्थित टारटस शहरमा ४८ जनाको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।  प्राप्त समाचार अनुसार उक्त स्थानमा सोमबार बिहानै झण्डै सात आत्मघाती विस्पोट गराइएको थियो ।

संस्थाका प्रमुख रमि अब्देल रहमानले सिरियामा सन् २०११ पछि भएका केही ठूला हमलामध्ये सोमवार भएका आक्रमण पनि भएको बताउनुभएको छ । आइएस समूहले घटनाको जिम्मेवारी आफ्नो समाचार संस्था अमाक न्यूज एजेन्सी मार्फत लिएको छ । दुवै शहर सिरियाली सत्तापक्षको पकड रहेको इलाका हुन् ।

सिरियाली राष्ट्रपति बसार अल असादको परिवार जावेलेहबाट २५ किलोमिटर पूर्व कार्दहबाट दमास्कस आएको हो । उक्त इलाकामा मुख्यतया अलावित नामक सिया समुदायको बसोबास रहँदै आएको छ ।

सिरियाको तटीय क्षेत्रमा आइएसको उपस्थिती नभएको मानिन्छ तर यसको जिहादी विरोधी समूह र अलकायदाको स्थानीय समूह अल नुस्रा फ्रन्टको प्रभुत्व रहेको छ ।

यमनमा भएको आत्मघाती हमलामा ४५ को मृत्यु

यमनको दक्षिणी सहर एडेनमा भएको दुई आत्मघाती हमलामा ४५ जना सेनामा भर्ती हुन गएका युवाको मृत्यु भएको यहाँको सुरक्षा अधिकारीले सोमबार बताएका छन् ।

एक जना आत्मघाती कार हमलाकारीले सेनाको भर्ती केन्द्रमा लाइनमा बसेका मानिसलाई केन्द्रको बाहिरी भागबाट विस्फोट गराई आक्रमण गराएको थियो । जसबाट २० जनाको मृत्यु भएको थियो ।

अर्को एक जना खुट्टामा विस्फोटक पदार्थ बोकी भर्ती हुन उभिएका युवा भएको लाइनमा पुगी विस्फोट गराएको थियो । पछिल्लो घटनामा २५ जनाको ज्यान गएको थियो ।

घटनाको कुनै समूहले जिम्मेवारी लिएको छैन । यमनमा विश्व समुदायद्वारा मान्यता प्राप्त सरकारले सिया विद्रोहीविरुद्धको लडाइँलाई सन् २०१४ देखि सञ्चालन गर्दैै आए पनि उल्लेख्य सफलता पाउन सकिरहेका छैन ।

यमन अलकायदा तथा इस्लामिक स्टेट समूहसँग आवद्धता राख्ने विभिन्न झुन्डको आश्रयस्थल भएको छ । रासस÷एपी