
जेन्सी । भारतीय लोकसभाको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ। स्थानीय समयअनुसार बिहान ८ बजेबाट मतगणना शुरु भएको हो। ९० करोड मतदाता भएको भारतमा ११ अप्रिलदेखि १९ मई सम्म निर्वाचन भएको थियो । मत परिणामले कसको सरकार बन्ने भन्ने पनि निश्चित गर्नेछ ।
भारतीय तल्लो सदन लोकसभामा ५४३ सिट छन् । यसका लागि ८ हजार ४० उम्मेदवार मैदानमा थिए । चुनाव सकिए लगत्तै भारतीय मिडियाहरूले गरेको मत सर्वेक्षणले यसपालि पनि सत्तारूढ बीजेपीकै गठबन्धनले जित्ने देखाएका छन् । ती मत सर्वेक्षणले सवा अर्ब जनसंख्या भएको भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने देखाएका छन् किनकी २०१४ मा बहुमत ल्याएको भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रयाटिक अलाइन्स एनडिएले नै यसपालि पनि बहुमत ल्याउने सम्भावना बढेको छ ।