कैदीको ‘युवतीसँग होटलमा मस्ती’ प्रकरण : ५ महिनाअघि खुलाशा, सिडिओकै शंकाष्पद भूमिका !

दियो पोस्ट  

काठमाडौं, ९ वैशाख । धादिङ कारागारका कैदीले धादिङको पुछारबजार स्थित एक होटलमा युवतीसँग रात विताउने गरेको घटना यतिबेला निकै चर्चामा छ ।

एपी वान टेलिभिजनले धादिङ कारागारका कैदी प्रेम तामाङ र एक युवतीबीच होटलमा बसिरहेको भिडियो नै सार्वजनिक गरेपछि घटना फेरी चर्चामा आएको हो ।


तर, दियोपोस्ट डटकमले आजभन्दा ५ महिनाअघि माघ २४ गते नै समाचार प्रकाशन गरेको थियो । कार्यबाहक जेलर मदन श्रेष्ठ र चौकिदार टोक बहादुर तामाङको मिलेमतोमा कैदी प्रेम तामाङले युवतीसँग रात विताएको घटना सार्वजनिक भएपनि प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले छानबीनको नाटक मात्रै गरे ।


तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालको नेतृत्वमा छानबीन समिति गठन गरेको भएपनि सिडिओ भागिरथ पाण्डले समाचार लेख्ने पत्रकार र दियापोस्ट डटकमलाई नै बयान लिन जिल्ला प्रशासन कार्यालय बोलाएका थिए ।


दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई उक्त घटनाबारे समाचार लेखेको भन्दै बयानका लागि विभिन्न प्रश्नहरु तयार पारिएको थियो । तर, विश्वकर्माले प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठसँग पत्रकारले आफूले लेखेको विषयमा जिल्ला प्रशासन कार्यालयमा बयान दिन अस्विकार गरेका थिए ।
कारागार भित्र भएको अनियमितताको विषय समाचारमा उल्लेखित अभियुक्तहरुलाई छानबीनको दायरामा ल्याउनुको सट्टा सिडिओ पाण्डेले पत्रकार विश्वकर्मालाई नै बयानमा लिन निर्देशन दिएका थिए ।


बयानका लागि तयार पारिएको प्रश्नको ३ नम्बर बुँदामा पत्रकारलाई अनौठो प्रश्न सोधिएको थियो ।
‘कारागार कार्यालयका ना.सु मदन मुकार श्रेष्ठसँग तपाईंको झैझगडा, चिनजात नाता रिसिइबी केही छ वा छैन ?’ प्रश्नमा लेखिएको छ ।


त्यस्तै अर्को प्रश्नमा कारागार भित्रको सुचना कसरी प्राप्त गर्नु भयो ?’ भनेर सोधिएको छ ।
पत्रकार आचार संहिताको बुँदा नम्बर ८ मा समाचारको विश्वासनियताका लागि स्रोतलाई गम्भिर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्ने उल्लेख छ ।

दियोपोस्टमा समाचार प्रकाशित भएपछि तत्कालिन चौकितार टोक बहादुर तामाङलाई हटाएको थियो । तत्कालिन जेलर मदन श्रेष्ठ र सिडिओ पाण्डेको मिलेमतोमा नयाँ चौकिदार रुपक चापागाईंलाई नियुक्त गरिएको थियो ।

उक्त नियुक्तीमा समेत आर्थिक लेनदेनको खुलाशा भएपछि सिडिओ पाण्डेले नवनियुक्त चौकिदार चापागाईंलाई हटाएको बताएका थिए । तर, कारागार स्रोतका अनुसार हालसम्म पनि चापागाई नै चौकिदारको रुपमा कार्यरत छन् ।

भिडियो सार्वजनीक भएपछि प्रमुख जिल्ला अधिकारी पाण्डेले फेरी छानबीन गर्न सहायक प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा समिति गठन गरेका छन् । ५ महिनाअघि देखि छानबीन गरेको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

त्यसो त धादिङकै प्रमुख जिल्ला अधिकारीको असक्षमताको कारण यस्ता घटना पटक पटक बाहिर आएपनि छानबीन भएको छैन । तर, अहिले फेरी जिल्ला प्रशासनकै मातहतको छानबीन समितिमाथि पनि प्रश्न उठेको छ । जिल्लाकै समाजसेवी राधिका सापकोटाले छानबीन समितिमाथि नै प्रश्न गरेकी छिन् । ‘यो त आफै बोक्सी आफै धामी भएन र,’ उनको प्रश्न छ,‘काराघारमा भएको घटनाको छानबिन गर्न सुरक्षाकै टिम ? यसको रिजल्ट अहिलै अनुमान गर्दा हुने भयो ।’

५ महिना अघि प्रकाशित समाचार

धादिङ कारागारभित्र जेलर र चौकिदारको धन्दा : ‘रु ५ हजारमा मदिरा, होटलमा युवती भेट्न ३० हजार’

TATA ADD

सिफारिस