एक्सपर्ट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट: त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

दियो पोस्ट  

काठमाडौं, जेठ १० । एक्सपर्ट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजबाट राजधानीमा सुरु भएको छ । शुक्रबार किर्तिपुर क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले गरे ।

प्रतियोगितामा प्रदेश स्तरीय ७ टीम र ३ विभागीय गरि १० टिमको सहभागीता रहेको छ । आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ ।

जीतको सुरुवात गरेको आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । आर्मीले दिएको २७० रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर दुई ३१.४ ओभरमा जम्मा १०७ रनमा समेटिएको थियो ।

आर्मीलाई जिताउन शहाव आलमले ४ तथा र शुसन भारीले ३ विकेट लिएका थिए । यसैगरी जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले एक विकेट लिएपछि प्रदेश २ को पारि समेटिएको थियो । प्रदेश २ का लागि हरि शंकर साहले सर्वा्धिक २१ रन बनाउँदा समसद शेख १६ तथा सुधिर चौधरी १५ रनमा आउट भए ।

टस हारेर पहिला व्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७८ रन बनाएको थियो । आर्मीका लागि राजु रिजालले सर्वाधिक ९० रन बनाए । ओपनिङ आएका राजु र कप्तान बिनोद भण्डारीले १२१ रनको साझेदारी गर्दै टिमलाई बलियो सुुरुआत दिलाएका थिए ।

राजुले ९० रन बनाउँदा ५ चौका र २ छक्का प्रहार गरे । यसैगरी भण्डारीले ९ चौकाको मद्दतले ६६ रन बनाए ।

रोहित कुमार पौडेलले ४७ रन बनाउँदा हरिबहादुर चौहानले २६ रनको योगदान गरेका थिए । सुशन भारी १२ रनमा नट आउट हुँदा करन केसी ११ रनमा पेभेलियन फर्किए । प्रदेश २ का हरिशंकर साहले तीन विकेट लिए ।

१० ओभरको स्पेल पुरा गरेका साहले १ ओभर मेडन राख्दै ५५ रन खर्चिएका थिए । रसिद खान, विवेक यादव, समसद शेख र विशाल सुस्लिङले एक एक विकेट लिए ।

TATA ADD