
बीबीसी । भारतको १७ औँ लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले प्रचण्ड विजय हाँसिल गरेपछि दुनियाभरका मिडियामा तहल्का मच्चिएको छ । अत्याधिक मिडियाहरुले नरेन्द्र मोदीको जितलाई हिन्दू राष्ट्रवादी पार्टीको जित भनेका छन् । मुस्लिम देशका मिडियाहरुले समेत भारतमा नरेन्द्र मोदीको जितलाई प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिरहेका छन् ।
अरब न्युजमा तलमिज अहमदले एक वैचारिक स्तम्भ लेखेका छन् जसमा प्रधानमन्त्री नरेन्द्र्र मोदीले आफ्नो कार्यकालभरि खाडी मुलुकहरुसंगको सम्वन्ध मजवुत बनाएको र सो सम्वन्ध आगामी दिनहरुमा समेत कायम हुने बताएका छन् । ‘ भारतको उर्जा सुरक्षा र विकास खाडि मुलुकबाट तेल आयातमा निर्भर रहन्छ । भारतले ८० प्रतिशत पेट्रोलियम पदार्थ खाडी मुलुकबाट आयात गर्दछ ।’ उनले लेखेका छन्,‘वास्तवमा भारतमा भौतिक विकास गर्नका लागि खाडी मुलुकको लगानी अत्यावश्यक रहेको छ ।’
अरब न्युजका अनुसार खाडी मुलुकमा अत्याधिक भारतीय युवाहरु काम गरिरहेका छन् । यसै कारणले गर्दापनि नरेन्द्र मोदीले खाडी मुलृुकलाई धेरै महत्व दिएका छन् । मोदीले आफ्नो पहिलो कार्यकालमा मुस्लिम देशहरुको भ्रमण समेत गरेका थिए । संयुक्त अरब इमिरेट्स (यूएइ) र साउदी अरबले प्रधानमन्त्री मोदीलाई उच्च सम्मान समेत दिएको थियो ।
पाकिस्तानी मिडियामा प्रधानमन्त्री नरेन्द्र मोदीको जितको चर्चा त छ नै साथसाथै भोपालमा प्रज्ञा सिंह ठाकुरको जितलाई पनि महत्वपुर्ण दिएर प्रकाशन र प्रसारण गरिएको छ । भारतमा मुसलमान विरुद्ध बम आक्रमणका प्रमुख अभियुक्तले भाजपाबाट निर्वाचन जितेको भन्दै पाकिस्तानी संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरेका छन् । कुनै आतंककारी आक्रमणमा मुछिएका व्यक्ति भारतको संसदमा चुनिएको यो पहिलो घटना हो ।
पाकिस्तानको चर्चित पत्रिका डनले मोदीको जितमा कडा सम्पादकिय प्रकाशन गरेको छ । भारत दुनियाँको ठुलो लोकतान्त्रिक मुलुक भएको भएतापनि त्यहाँ अझैपनि साम्प्रदायिक राजनीति फुलिरहेको र त्यसले भारतीय गणतन्त्रको भविष्यमा प्रत्यक्ष असर पार्ने सो पत्रिकामा लेखिएको छ । राजनीतिक विश्लेषकहरुले समेत प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भाजपाले यस्तो किसिमको जित निकाल्नु अकल्पनिय रहेको बताएका छन् । कल्पनै गर्न नसकिने अवस्थामा पनि सहजै बहुमत आएपछि भारतमा धार्मिक राजनीतिमार्फत सहजै भोट प्राप्त गर्न सकिने देखिएको विश्लेषकहरु बताउँछन् ।
डनले लेखेको छ, ‘महिनादिन भन्दा बढी चलेको चुनाव प्रचारप्रसारमा प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान विरोधी अभिव्यक्तिहरुको उल्लेख्य रुपमा प्रयोग गरेका थिए । भारतले पाकिस्तानी भुमिमा एयर स्ट्राइक गरि राष्ट्रवादी भावनालाई उक्साउने काम गरेको थियो । अहिले चुनाव सक्किसकेको छ र मतगणनाको अन्तिम नतिजा पनि सार्वजनिक हुने क्रममा छ । हिन्दु अतिवादको नारा लिएर चुनाव लडेका प्रधानमन्त्री मोदीले उक्त हिन्दृु अतिवादी नारालाई नियन्त्रणमा राख्ने झिनो आशा गरिएको छ ताकी अल्पसंख्यकहरुको मनमा पनि शान्ति र सुरक्षाको भावना कायम रहन सकोस् ।’
पाकिस्तानी न्यूज वेभसाइट ‘द न्यूज’मा वरिष्ठ पत्रकार एजाज सईदले लेखेका छन्,‘ विपक्षी पार्टी तथा २० करोड मुसलमानका लागि २०१४ को जितको तुलनामा मोदीको यो जित बढी महत्वपुर्ण रहेको छ । ’ जब अयोध्यामा राम मन्दिरका लागि आन्दोलन चलिरहेको थियो त्यतिबेला पनि विजेपीले ठुलो जित हाँसिल गरेको थिएन । यस जितमा प्रधानमन्त्री तथा उनका वफादार अमित शाहको महत्वपुर्ण योगदान रहेको कुरा सर्वविदितै छ । तर, मोदीले जुनजुन विषयवस्तु र नाराहरुको माध्यमबाट चुनाव जितेका छन् त्यसलाई कार्यन्वयन गर्न सक्छन कि सक्दैनन् भन्ने प्रश्न पनि उठेको छ ।

मोदीको जितले मुसलमानलाइ कस्तो प्रभाव पार्छ ? एजाज सइदले लेखेका छन्, ‘बहुमतको आधारमा मोदीले भारतीय गणतन्त्र र संविधान आफ्नो हिसाबबाट आकार दिने कुरा निश्चित नै छ ।’ पछिल्लो पाँच बर्षको कार्यकालमा मोदीलाई सर्वोच्च अदालत, विश्वविद्यालय तथा अन्य संस्थानमा भएका विभिन्न गोलमालहरुको आरोप समेत लगाइएको छ । भारतका मुसलमानहरुको मनमा विश्वास पैदा गर्नसमेत प्रधानमन्त्री मोदीको विशेष जिम्मेवारी रहन आउँछ ।

गल्फ न्युजले भारतीय प्रधानमन्त्री मोदीले यो कार्यकालमा पहिलो कार्यकालभन्दा बढी साहशीक कामहरु गर्न सक्ने ठोकुवा गरेको छ । त्यस्तै अलजजिराले नरेन्द्र मोदीले चलाएका चुनावी क्याम्पियनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्ुनावी प्रचारप्रसारसंग तुलना गरेको छ । भारतमा पछिल्लो पाँच बर्षमा मुुसलमानविरुद्ध हिन्दु अतिवादीहरुले धेरैपटक आक्रमण गरेको कारण अबको कार्यकाल पनि मुसलमानको लागि चिन्ताको विषय रहेको बताएको छ ।