….जब प्रेस चौतारीका ‘विचौलिया’ले समाचारको स्रोत माग्दै घुसको अफर गरे

….जब प्रेस चौतारीका ‘विचौलिया’ले समाचारको स्रोत माग्दै घुसको अफर गरे


काठमाडौं, ११ जेठ । पूर्वएमाले निकट पत्रकार संगठन प्रेस चौतरी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि चौतारीकै ‘भूमिगत गिरोह’ले लगाएको ६ बुँदे आरोप सम्बन्धि समाचार गत वैशाख ३० गते दियोपोस्ट डटकममा प्रकाशित भएको थियो ।

प्रकाशित समाचारको खण्डन गर्न बस्नेत आफैले फोन गरे । खण्डन प्रकाशित भयो । भूमिगत गिराहले लगाएको आरोप पत्रमा अर्का एक व्यक्तिमाथि पनि आक्षेप लगाइएको थियो । उनी थिए–दोलखा घर भएका सञ्जिव दाहाल ।

कुनै समय रातोपाटी डटकम, नयाँ पत्रिका राष्ट्रिय दैनिक लगायत सञ्चार माध्यममा पत्रकारिता गरिसकेको दाबी गर्ने उनले समाचार प्रकाशन भएको केहीबेरमै फोन गरेर आफ्नो भनाई राखिदन आग्रह गरे । उनको सम्बन्धमा लागेको आरोपभन्दा तल्लो बुँदामै उनको भनाई प्रकाशन भएको थियो । समाचारको विषयलाई लिएर उनले मलाई भेट्न पटक–पटक गरेपछि । मैले समाचार सम्बन्धि थप केही तथ्य प्रमाण जुटाउने उद्देश्यले उनलाई भेट्ने निधो गरेँ । त्यो भेट मेरो लागि ठूलो शिक्षा बनिदियो ।


०७६ जेठ १ गते विहान । पत्रपत्रिका पढिरहेको थिएँ ।

९८५११३०२*** उनै दाहालको मोबाइल नम्बर थियो ।

‘हेल्लो सुदीप जी । आज त भेटेर चिया खाऔँ । म तपाईंलाई भेट्न चाहान्छु ।’

मैले सहज भनेँ– ‘हुन्छ सिंहदरबार पूर्वीगेट अगाडी मामाको चिया पसलमा आउनुस् ।

उनले भने,‘तपाईंलाई भेट्नुभन्दा अघि बैंक जाउँ कि ?’


मैले भनेँ–‘तपाईंको व्यक्तिगत काम छ भने गर्नुस् हामी भेट्दै गरौंला ।’


उनले थपे,‘होइन होइन म एकैछिनमा आउँछु । भेटेर कुरा चाहीँ गरौँ ।’


फोनमा कुराकानी भएको केही बेरमै उनी सिंहदरबार पूर्विगेट स्थित होर्डिङ बोर्ड नभएको तर ‘मामाको चियापसल’ नामले चर्चित चियापसलमा आइपुगेछन् ।


म केहीबेर दोधारमा परेँ । तर फेरी सोही नम्बरबाट मोबाइलमा रिङ बज्न थाल्यो । मैले फोन उठाइन तर भेटेर सामना गर्ने हिम्मत गरेँ ।


सम्बन्धित ‘लोकेशन’मा पुगेँ । मोबाइल फोनमा रेकर्ड अन गरेँ । भित्र बाहिर नियालेँ । मलाई फोन गर्ने व्यक्तिको हुलिया देखिनँ । ‘सञ्जिव जीलाई खोज्नु भएको हो ?’ अपरिचित व्यक्तिले प्रश्न गरे । मैले भनेँ,‘हो ।’ ती व्यक्तिको इशारा तिर नजर लगाएँ । दाहाल कतै फोनमा बोल्दै थिए । पल्लो कुर्सीमा एक जना पत्रकारलाई देखेँ । उनीसँग परिचय गर्नु थियो । सँधै मामाको चियापसलमा देख भेट भएपनि हामीबीच औपचारिक परिचय थिएन । त्यो दिन मलाई एउटा साक्षी चाहिएको थियो । परिचय हुँदै थियो सेतो सर्ट, कालो पाइन्ट एउटा झोला बोकेको मानिस मेरो अगाडी देखिए ।
उनी थिए– सञ्जिव दाहाल


जसलाई आरोप पत्रमा प्रेस चौतारीको कार्यालय सचिव बनाइएको उल्लेख गरिएको थियो ।
‘बाहिर गएर कुरा गरौँ,’ उनको प्रस्ताव थियो । मैले भनेँ,‘यतै कुरा गरौँ । बरु यहाँ पत्रकारसाथीहरुसँग पनि परिचय गरौँ ।’


मैले केहीबेर अघि परिचय गरेको पत्रकारसँग ‘चिनजान छ ?’ भनेर प्रश्न गरेँ ।


तर, ती पत्रकारसँग दाहालको पुरानै चिनजान रहेछ । ‘दाई र हामी त एकै पत्रिकामा काम गरेका हौँ,’ उनले यसो भनेपछि मसँगै रहेका ती पत्रकारले असहज महशुस गरे ।

किनभने उनले पत्रकारीता गरिरहेको दैनिक पत्रिकामा दहालबारे खबर छापिएको रहेछ । ‘खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको किर्ते हस्ताक्षेर अभियोगमा पक्राउ’ भन्ने खबर छापिएको रहेछ ।


उनलाई असहज हुनु स्वभाविक थियो । दाहाल अर्को टेबलमा गए । मलाई भेट्न आएका पाहुँना नजिक जानु मेरो कर्तव्य थियो । हामीबीच वार्ता शुरु भयो ।

यो प्रसंगलाई अझै स्पष्ट पार्न एक दिनअघि फर्कनु पर्ने हुन्छ ।

उनीबारे आरोप पत्रमा भनिएको थियो– ‘नेकपा केन्द्रीय सदस्य खानेपानी तथा सरसफाई मन्त्री विना मगरको नक्कली हस्ताक्षेर नागरिकता किर्ते गरी विभिन्न व्यक्ति र संस्थासँग आर्थिक संकलन गर्नका लागि वहाँको नाममा सिमकार्ड समेत झिक्ने क्रममा २०७५ भदौ १४ गते प्रहरीद्वारा पक्राउ गरिएका दोलखाका सञ्जिव दाहालर्लाइ संगठनमा कुनै निर्णय नै नगरी अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीको केन्द्रीय कार्यालयको सचिव बनाएका हुन् । उनी कारबाहीमा परेपछि उनलाई हटाएको सुचना निकालिए पनि यो काममा गणेश बस्नेतले निर्देशन दिएर लागेको हुँ भनी गोप्य कुरा खोलीदिन्छु भनेपछि अहिले पनि उनी चोतारीको कार्यालयमा सचिव रहेका छन् । उक्त कार्यालय चौतारीको भएपनि त्यहाँ कोही चौतारीका पदाधिकारी जाँदैनन् । वास्तवमा चौतारीबाट पैसा तिरेर त्यहाँबाट जनता टाइम्स अनलाईन सञ्चालन हुने गरेको छ ।’


कुराकानीको शुरुमा दाहालले आफूले रातोपाटी, नयाँ पत्रिका लगायत सञ्चार माध्यममा पत्रकारीता गरेको अनुभव र पत्रकारीता मार्फत ठूला–ठूला मुद्दा मिलाएको फूर्ती लगाए ।


‘हामी एउटै फिल्डको मान्छे त्यो न्युज कसले दियो भन्नुस्,’ एकाएक उनीबाट धम्कीपूर्ण प्रश्न बर्सिन थाले,‘तपाईंलाई साइबर अपराधको मुद्दा लाग्न सक्छ । त्यो भन्दा अगाडी नै हामीले सेटलमेन्ट गरौँ । मलाई अरु होइन त्यति दिनुस्, यो एक ठाउँमा मात्रै जान्छ । तपाईंलाई सँगै लगेर त्यो मान्छेलाई देखाएर तपाईंकै अगाडी डिलिट गर्दिन्छु ।’

मैले भनेँ,–‘तपाईंलाई दिने त्यस्तो स्रोत मसँग छैन । मैले कसैको फेसबुक टाइमलाइनबाट सेभ गरेको हुँ ।’


उनले भने,‘तपाईंले कुरा मोड्नु भयो । भोली केश चल्दा त तपाईंलाई अफ्ट्यारो भयो नी त फेरी ।’
मेरो प्रश्न थियो,–‘मलाई के केस चलाउनुहुन्छ ।’


उनको जवाफ आयो,‘साइबर क्राइम ।’


०००



आफूलाई पत्रकार दाबी गर्ने एउटा व्यक्तिले अर्को पत्रकारलाई साइबर अपराध धम्की दिइरहेको थिए । मेरा लागि यो अनौठो अनुभव थियो । दियोपोस्टमा प्रकाशित समाचारको चित्त नबुझाउने धेरै मानिस प्रेस काउन्सिल गएका छन् । सायद एक जनाले मात्रै साइबर अपराधमा रिपोर्ट गर्न गएको रिपोर्ट हामीसँग थियो ।

मैले भनेँ,‘कसैले यस्तो आरोप लगायो है भनेर मिडियाले भन्न पाउने कि नपाउने ? त्यो आरोप मैले लगाएको हो र !’


उनले प्रहरीको धम्की दिन थाले,–‘पुलिसको अगाडी ल्याङल्याङ गरेर मरिकाटे छाड्दैन । म जाबो समातेको बेलामै कुरा मिलिसकेको थियो । लास्टमा मलाई विमस्टेक सम्मेलनमा होहल्ला गरेको भनियो ।’


मेरो अगाडी झूट बोले पनि वास्तावमा उनलाई खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको किर्ते हस्ताक्षेर गरेको अभियोगमा पक्राउ त्यतिबेला दरबारमार्गमा रहेका प्रहरी अधिकारीले बताए ।
मन्त्री मगरका लागि नेपाल टेलिकममा ‘प्राइभेट नम्बर’ आवश्यक रहेको भन्दै निवेदन लिएर पुगेका उनलाई दरबारमार्गबाट प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले ३ महिनासम्म थुनामा राखेपछि उनका बाबु सिंहदरबार स्थित खानेपानी मन्त्रालयमा पुगेर मन्त्री मगर अगाडी रुवाबासी गरेका थिए ।

खानेपानी मन्त्री मगरले बाबुकै आग्रहमा सञ्जिवलाई छाडिदिन निर्देशन दिएपछि उनी छुटेका थिए ।
प्रेस चौतारीको तत्कालिन अध्यक्ष बस्नेतमाथि लागेको आरोपपत्र उपलब्ध गराउने स्रोतका लागि उनले विभिन्न धम्की दिँदै थिए ।


‘न्युज तपाईंले नै लेखेको हो । भाषा तपाईंकै हो । समाचार अर्कै ढंगले आयो । अलिकति घुमाउरो होला हामी पत्ता लगाउँछौँ । तपाईंले दुःख पाउनु हुन्छ । हामी जसरी पनि पत्ता लाउन हिँडेको हो । हामी जे पनि युज गरेर पत्ता लगाउँछौँ । मान्छे लगभग पहिचानको नजिक पुगेका छौँ । तर प्रमाण पुगेको छैन,’ उनको धम्कीको शिलशिला जारी थियो,‘तपाईंको घुमफिर कता भएको छ सबै हामीले पत्ता लगाएका छौँ । यो अनामनगर हो । यहाँ तपाईंको सुचना दिने मान्छे पनि हाम्रा छन् । हामी मिडिया बाजी गर्दैनौँ । हामी कुकुरले खुट्टा टोक्यो भनेर हामी कुकुरकै खुट्टा टोक्दैनौँ । अब जाँदा नेतृत्वका लागि त्योसँग साँठगाँठ नगर्न कसरी हुन्छ मिलाएर जाने हो । त्यस्ता मान्छेहरुलाई बेलैमा साइड लगाउने कुरा हो ।’

प्रेस चौतारीका तत्कालिन अध्यक्ष तथा हाल नेकपाको संयुक्त प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतको प्रतिनिधि बनेर आएका दाहालले बस्नेतलाई आरोप लगाइएको समाचार प्रकाशन भएपछि प्रधानमन्त्री ओली नै रिसाएको बताए । प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको राजकीय भ्रमणमा थिए । उनी सोही दिन बेलुका ८ बजे फर्कने कार्यक्रम थियो ।


‘बुढो (प्रधानमन्त्री ओली )हिजो नै रिसाको छ रे । त्यो को हो । म आउँछु तँ ५ बजे आउनु भनेको छ रे । म धेरै कुरा सुन्दिनँ’ भन्नु भएको छ रे । तपाईं पनि सेफल्यान्डिङ हुने हामी पनि हुने काम गरौँ । तपाईंले हिजो साँझ कुरा गरेको त्यो अडियो मलाई पनि पठाएका छन् । मैले त्यो अडियो सुनेको छु,’ उनको धम्की थियो,‘हिजो एक कुरा भन्नु भयो आज एउटा कुरा आयो । बाहिर को–कोसँग कुरा भएको छ अडियो आएको छ । काे सँग कुरा गर्नु भएकाे थियाे । त्याे आएको छ । ’

त्याे साँझ मलाई जनसवाल दैनिकका प्रकाशक रामजी बगालेले फोन गरेका थिए । उनले ‘दोलखाको सञ्जिव भाईको के के भएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।

सोही कल रेकर्ड आफूसँग रहेको भन्दै उनले मलाई निगरानीको भाषा बोले, ‘दरबारमार्ग जाने कुरा थियो । बेलुका चिया खाएर फर्र्किएको होइन । हामीलाई इन्फरमेशन हुँदैन ?’

मलाई लाग्यो बगालेजीसँग भएको कुराकानी यी व्यक्तिले कसरी थाहा पाए कतै सोही कल रेकर्ड बगालेले दाहाललाई त बुझाएनन् ।

‘मैले साथी भाईको हिसाबले के भएको हो भनेर बुझेको हुँ । तर, मेरो मोबाइलमा कल रेकर्ड नै हुँदैन । कल रेकर्ड नै नभएको कुरा तपाईंलाई कसरी आइपुग्यो,’ बगालेको स्पष्टिकरण छ,‘जसले तपाईंलाई रेकर्डको कुरा गर्यो त्यो मान्छे नै फटाहा रहेछ । मैले त्यसरी रकेर्ड पुर्याएको छैन ।’



कुरानकानीको अन्तिममा दाहालले अर्को प्रस्ताव गरे–‘म सँग ‘अड’ लागेको भए म एकाउन्टेन्ट पठाइदिन्छु । उहाँसँग कुरा गर्नुस् ।’


उनको यो शब्दले मलाई कता कता ‘असहज महशुस भयो ।


मैले गलत मान्छेलाई भेटेछु भन्ने आभाष भित्रैदेखि भयो ।


तर संयमता जरुरी थियो ।


मैले भनेँ,‘यस्तो कुरा गर्ने भए मलाई भेट्न नआउनुस् । अब म हिँडेँ । मेरो धादिङ जाने काम छ ।’
उठ्ने बेलामा ती व्यक्तिले झोलाबाट चेक निकाले जस्तो गरे र भने,–‘चेक नै लिनुस् तर त्यो स्रोत दिनुस् ।’


म भाउन्निएछु । एक्कासी उठेर अर्को टेबलमा पुगेँ । जहाँ अन्य पत्रकार साथीहरु थिए । ‘दिउँसो भेट्न आउँछु’ भन्दै हात हल्लाउँदै ती व्यक्ति बाहिरिए । ‘म धादिङ जानु छ । अब तपाईंलाई मैले भट्न सक्दिनँ,’ मेरो अन्तिम वाक्य थियो ।


०००


यो घटनाले मलाई हरेक दिन झटकारिरहन्छ । पत्रकारकै हकहितका लागि गठित प्रेस चौतारीको नेतृत्वमाथि लागेको आरोपको विषयमा समाचार प्रकाशन गर्दा मैले धेरै मानसिक तनाव भोग्नु पर्यो । किर्ते अभियोगमा जेल सजाय भोगेका दाहालसँग भेटेको केही दिनमा एक जना बरिष्ठ पत्रकारले फोन गर्नुभयो । उहाँको जिज्ञासा थियो–‘सुदीप तिमीले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत सम्बन्धित समाचार हटाएको हो र ? पैसा लिएर समाचार हटायो भन्ने आरोप छ नी ?’


मैले उहाँलाई केही बेरमै समाचारको लिंक पठाइदिएँ । न समाचार हटेको थियो न त ममाथि लागेको आरोपमा सत्यता थियो । तर, यसरी बजार हल्ला गर्ने काम भने जनसवाल दैनिकका सम्पादक रामजी बगालेले गरेका रहेछन् ।


यो ब्लग प्रकाशन हुनुअघि मैले स्रोत खरिद गर्न आउने सञ्जीव दाहाललाई फोन गरेँ सोधेँ,‘प्रधानमन्त्री आएपछि मलाई थुन्ने कुरा के भयो ?’


उनको जवाफ थियो,–‘त्यो कुरा सकियो । मैले एक पैसा खर्च नगरी मान्छे पत्ता लगाएँ ।’
उनको आवाज स्पष्ट थिएन ।


मलाई अर्को आश्चर्य पनि थियो र उनलाई सोधेँ,– ‘त्यो दिन तपाईंले स्रोत किन्न चेक बोकेर आउनु भएको थियो, त्यो रकमको स्रोत के थियो र कति रकम बोकेर आउनु भएको थियो ?’


उनले निर्धक्क भनिदिए,‘प्रमाण सहित दिएको भए हाम्रो काम हुन्थ्यो । त्यस्तो बेलामा नै हो पैसा खर्च हुने । बुढालाई सबैले डुबाइ हाले । तपाईंलाई एक आउँथ्यो । एक लाखको चेक बोकेर हिँडेको थिएँ । हामीले स्टक ब्यालेन्स नै चलाएको हो । तर तपाईंले लिनु भएन । त्यो बेला लिएको भए हुन्थ्यो ।’


अन्तिम संवादमा मैले भनेँ,‘तपाईंले गलत मान्छेलाई भेट्न आउनु भयो । धन्यवाद ।’


पी खरेल भन्छन्,‘यो कुरा बाहिर ल्याउनु व्यावसायीक बहादुरी हो ।’


म पत्रकारीताको एउटा शिकारु विद्यार्थी हुँ । यो घटनाको समग्र विवरण मैले त्रिभूवन विश्व विद्यालय पत्रकारीता तथा आम सञ्चार विभागका प्रमुख तथा प्रध्यापक पी खरेललाई सुनाएँ । उनले यसरी सैद्धान्तिकरण गरिदिए ।–

यो ठूलो विकृति हो । हामीले यसलाई व्यावसायीक पत्रकारितामा आएको विकृति भन्दा उचित हुँदैन ।

किनभने व्यावसायीक भन्ने वित्तिकै अर्कोतिर जान्छ । पत्रकारीतामा आएको विकृतिको एउटा ठूलो उदाहरण हो । प्रेस चौतारी भनेको धेरै सञ्चारकर्मी सदस्य रहेको संस्था हो । जसलाई मैले नेकपाको एमाले गुट भन्ने गरेको छु ।

नेकपाकै सशक्त गुट र त्यसमा पनि प्रधानमन्त्री ओलीकै निकट रहेको गुटका सदस्यहरुबाट यसरी सोधीखोजी गर्नु नै गलत हो । व्यावसायीक पत्रकारले यस्तो विषयमा सोध्दैन । हिजो विवाह गर्नुभयो र के गर्नु भयो भनेर हामीले कसैलाई सोध्छौँ र ? अरु मान्छेलाई म भन्दिनँ तर पत्रकारलाई त स्रोत सोध्नु हुन्न भन्ने थाहा छ नी । त्यसमाथि यसरी प्रलोभन देखाउनु र यस्तो हर्कत गर्नु सरासर गलत हो ।

यो कुरा प्रकाशनमा आयो भने के होला ? यो कुरा प्रकाशमा आएपछि सम्बन्धित संस्थाले आत्मआलोचना गर्यो भने केही सुधार भयो कि भन्ने ठान्न सक्छौँ । तर, गरेनन् भने आम जनताले थाहा पाउन जरुरी छ । यो बाहिर आउनु निकै आँटिलो काम हो । समाज सशक्त भएर कसैको डिफेन्समा आउनु छैन । यदि यस्तो कुरा कसैले अठोट लिएर सार्वजनिक गर्छ भने त्यो व्यावसायीक बहादुरी हो ।


(नोट : यो ब्लगसँग सम्बन्धित अडियो रेकर्ड र कल रेकर्ड सुरक्षित छ)

Trending News