
काठमाडौँ, जेठ १२ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समुहले घोषणा गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा काठमाडौँको दुई स्थानमा विस्फोट भएको छ । राजधानीको अनामनगर र सुकेधारामा भएको सिलिण्डर बम विस्फोटमा परि तीन जनाको मृत्यु भइसकेको छ भने ६ जना घाइते भएका छन् ।
विप्लव माओवादीका महासचिव नेत्रबिक्रम चन्दले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार भण्डारफोर र मसाल जुलुस र सोमबार नेपाल बन्दको घोषणा गरेका थिए । विप्लवले घोषणा गरेको नेपाल बन्दकै एक रात अगाडी राजधानीमा विस्फोट हुनुले सो विस्फोटमा विप्लव समुहकै हात रहेको सहजै अनुमान लगाउन सकिन्छ । राजधानीको अनामनगरस्थित घट्टेकुलामा भएको विस्फोटमा विप्लव समुहका एक विद्यार्थी नेता पक्राउ समेत परेका छन् ।
प्रहरी प्रवक्ता विश्राज पोखरेलले सो स्थानमा विप्लव समुहको पर्चा समेत भेटिएको कारण विस्फोटमा सोही समुहको संलग्नता भएको बताएका छन् । त्यसभन्दा ठुलो कुरा विप्लव समुहकै एक कार्यकर्ता घाइते अवस्थामा भेटिनुले उक्त विस्फोटमा सोही समुहको संलग्नता रहेको पुष्टि भएको प्रवक्ता पोखरेलले दियोपोस्टलाई बताएका छन् ।
प्रवक्ता पोखरेलका अनुसार सुकेधारामा भएको विस्फोटमा दुइ जनाको मृत्यु भएको छ । मृत्यू हुनेहरुमा काभ्रे घर भएका र हाल कपन बस्दै आएका ४४ बर्षिय हरि खड्का र चुनिखेल घर भएका सुरेन्द्र महर्जन रहेका छन् । घाइते महर्जन पनि विप्लव संगठनको कार्यकर्ता रहेको प्रहरीले पुष्टि गरेको छ । उनि विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा ६ जना घाइते भएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् । घाइतेहरुको चावाहीलस्थित ओम अस्पताल र वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । डीआइजी पोखरेलका अनुसार राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको र घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालित छन् ।