दियोपोस्ट समाचार प्रभाव : कोठा खाली छ भन्दै ठगीधन्दा चलाउने भट्टराई पक्राउ !

दियो पोस्ट  

काठमाडौं, १४ जेठ । फ्ल्याट तथा कोठा खाली रहेको भन्दै फेसबुकमा आफ्नो नम्बर सहित विज्ञापन गर्ने । कोठा हेर्नुअघि आफ्नो इसेवा, आइएमई पे वालेट नम्बरमा १५ सयदेखि ४ हजार रुपैयाँसम्म अग्रिम जम्मा गर्न लगाउने तर पैसा जम्मा भएपछि सम्पर्क विहिन हुने । यसरी काठमाडौंमा २ सय ५० जनाभन्दा बढीलाई ठगी गर्ने गिरोहका नाइके हुन्–रामचन्द्र भट्टराई


कोठा खोजीको नाममा ठगी गर्न उनले सामाजिक सञ्जाल फेसबुकमा छुट्टै पेज नै खडा गरेका थिए–‘रुम एण्ड फ्ल्याट अन रेन्ट इन काठमाडौं’ । उनले यसरी सयौँलाई ठगी गरेको खबर दियोपोस्टले गत वैशाख ६ गते प्रकाशन गरेको थियो । उनै ठगीधन्दाका प्रमुख पात्र रामचन्द्र भट्टराईलाई महानगरीय प्रहरी अपराध महासाखाले पक्राउ गरेको छ ।


भोजपुर जिल्ला साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ९ कुलुङ घर भएका उनलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा चलाउन सिफारिस गरेको छ । महासाखाले उनलाई आईतबार नै पक्राउ गरेको थियो ।


प्रहरी अनुसन्धानका क्रममा भट्टराईले राजधानीका विभिन्न स्थानहरुमा हालसम्म् २५० भन्दा बढी व्यक्तिहरुलाई ठगी गरेको पाइएको छ ।

उनले विभिन्न व्यक्तिको कागजपत्र दुरुपयोग गरी अनाधिकृत रुपमा बैंक खाता खोलेको समेत पाइएको छ । प्रहरीले उनको साथबाट एसर कम्पनिको एक थान ल्याप्टप, विभिन्न कम्पनिको २ थान मोबाइल, विभिन्न बैंकको ५ थान चेक, एक थान पेनड्राइभ, ५ विभिन्न बैंकको एटिएम कार्ड र उनको नागरिकता बरामद गरेको छ ।


उनीबाट ठगिएपछि पत्रकारिताका शिक्षक इन्द्रध्वज क्षेत्री लगायत पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी समेत दिएका थिए । घटनाको विषयमा उपत्यका हेर्ने डिआइजी शैलेश थापा समेत जानकार थिए । उनले एसएसपी किरण बज्राचार्यलाई अनुसन्धानका लागि निर्देशन समेत दिएका थिए ।
यो पनि पढ्नुहोस्

सावधान ! इन्टरनेटबाट कोठा खोज्दा यस्तो ठगीधन्दाको जालमा परिएला !

TATA ADD

सिफारिस