ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङ भन्छन्,‘राणाकालमा नभएको काम गरेँ’

Diyo post  

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङ यहि जेठ २५ गते हुने परिषदको निर्वाचनमा पुन उम्मेदवारी दिने तयारीमा छन् । एक कार्यकाल अध्यक्षको भूमिका निभाई सकेका गुरुङ पुन अध्यक्ष बन्ने मोहमा किन छन् ?

उनको जवाफ यस्तो छ–

ठमेल पर्यटन विकास परिषदमा विवाद गरेर प्रवेश गरेतापनि कार्यकाल सकिन लाग्यो, के–के गर्नुभयो ?

व्यक्तिगत होइन सामाजिक उपलब्धी हाँसिल गरेको महसुस गरेको छु । समाजसंग आधारित संस्था भएको कारण व्यक्ति भन्दा समाजलाई फाइदा हुनुपर्छ र हामी समाजलाई फाइदा हुने किसिमबाट अगाडी बढिरहेका छौँ ।

समाज भन्नाले कस्तो हो ? जस्तै ठमेल एउटा बनाइएको कृतिम शहर हो, तपाईं अध्यक्ष बनेपछि के योगदान भयो त ?


ठमेल कृतिम शहर नै हो । त्यहाँ विभिन्न किसिमका व्यवसायीक मानिसहरुको बसोबास छ । व्यवसायिक घरानाका मानिसहरुसंगै त्यहाँका स्थायी बासिन्दाहरु अझै बाँकी छन् । यसरी व्यवसायिक घराना र स्थानिय बासिन्दाहरुको संयुक्त रुप ठमेल विकास परिषद हो । यसबाट समस्त ठमेल समाजमा फाइदा भएको मैले महशुस गरेको छु ।

राजधानीको पनि राजधानी भनेर चिनिन्छ ठमेल तर अस्तव्यस्त पनि त्यस्तै छ होइन र ? रात्रिकालिन व्यवसायहरु संचालन हुने कुरा पनि कुरैमा सिमित छ । समाजमा फाइदा भयो भन्नुहुन्छ, यस्तो अस्तव्यस्ततामा फाइदा कसरी भयो ?


अस्तव्यस्त छ र त ठमेल भनिन्छ । ठमेललाई विश्वकै विचित्र शहर भन्न सकिन्छ । होटल, रेस्टुरेन्ट, हस्तकला, नाइट क्लव, मसाज सेन्टर एकै ठाउँमा हुँदैनन् तर ठमेलमा छ । सबै एकै ठाउँमा भएर अस्तव्यस्त भएको हो । संरचना भत्काएर भन्दा पनि यिनिहरुको उचित व्यवस्थापन गर्न सकियो भने अस्तव्यस्त ठमेललाई व्यवस्थित बनाउन सकिन्छ ।


कसरी व्यवस्थित गर्नुहुन्छ ? व्यवस्थापनको योजना कस्तो छ ?


मेरो नेतृत्व आइसकेपछि परिषदले राम्रा कामहरुको शुरुवात गरेको छ । हामीले ठमेलमा ढलको व्यवस्थापन गर्यौँ जुन राणाकालदेखि फेरिएको थिएन ।

ढलको व्यवस्थापन परिषदले नै गरेको हो ?


परिषद आफैले गर्ने भन्ने कुरा होइन । परिषद एउटा माध्यम हो । हामिले टोलटोलमा उपसमिति समेत निर्माण गरेका छौँ । राज्य अथवा महानगरपालिकाले टेण्डर आह्वान गर्छ । टेण्डर पाउने ठेकेदार, टेण्डर आह्वान गर्ने निकाय र टोलटोलका उपसमितिसंग बसेर कसरी काम गर्ने भन्ने कुरामा छलफल गर्छौँ । कुन समयमा विकास निर्माणका कामहरु गर्ने, कुन ढंगले गर्ने भन्ने विषयमा परिषदले मध्यस्तता मात्र गर्ने हो । ठमेल पर्यटकहरुको गन्तव्य भएको कारण विकास निर्माणका काम गर्दा अलि बिचार पुर्याउनुपर्छ ताकी अस्तव्यस्त नहोस् ।


ढल निर्माण काम सक्किनेबित्तिकै सडक कालोपत्रे गरियो र कालोपत्रे हुनासाथ सीसीटिभी जडानको काम सकियो । ढल निर्माण र सडक मर्मतमा महानगरले बजेट पठाएको हो र सीसीटिभी पर्यटन बोर्डको प्रोजेक्ट हो । निर्माण भइसकेका संरचनाहरुको संरक्षण गर्ने काम परिषदको हो ।
अर्को कुरा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानी आयोजनाको कामहरुलाई फ्यासिलेट गरिरहेका छौँ । ठमेलको पर्यटन विकासका लागि भनेर राज्यले कुनैपनि रकमको व्यवस्था गरेको हुँदैन । राज्यले नदिएपछि ती सबैकुराको ब्यवस्थापन परिषदले नै गर्ने हो ।

राज्यले केही दिएन भन्नुहुन्छ, परिषद कसरी बाँचिरहेको छ त ?

परिषदमा अहिले १७ जना छौँ । शुरुमा १७ जनाबाट प्रतिव्यक्ति ५० हजार उठाएर एउटा कोष निर्माण गरेका थियौँ । हामीले नीजि कम्पनीहरुसंग सहकार्य गरेर प्रत्येक बर्ष स्ट्रिट फेस्टीबल गर्छौँ जसबापत सो नीजि कम्पनीहरुले प्रत्येक बर्ष १० लाखको दरले आर्थिक सहयोग गर्नुहुन्छ । विश्व पर्यटन दिवसमा राष्ट्रिय पर्यटन बोर्ड र महानगरपालिकाले पनि सहयोग गरेको थियो ।


यसअघिका बर्षहरुमा पर्यटन दिवसमा र्याली मात्र निकालिने चलन थियो तर यसपाली हामीले ठुलो कार्यक्रम नै गर्यौँ जसका लागि स्वर्गिय पर्यटनमन्त्री रविन्द्र अधिकारीले ठुलो सहयोग गर्नुभयो । स्टेज कार्यक्रममा विभिन्न जातजातिहरुको संस्कृती झल्किने गरि झाँकीहरु प्रस्तुत गरियो । उहाँ आफै दिनभरि कार्यक्रममा सहभागी हुनुभयो । बेलुका डिनर समेत ग्रहण गरेर जानुभयो । ठमेलको पर्यटन प्रवद्र्धनमा पुर्वमन्त्री स्वर्गिय रविन्द्र अधिकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुभयो ।

मन्त्री आउनु र कार्यक्रम सफल हुनु मात्रै ठूलो कुरा हो र ?

कार्यक्रममा मन्त्रीज्यू आउनुभयो त्यसकारण सफल भएको भन्ने हुँदैन । राष्ट्रिय महत्वको कार्यक्रमलाई ठमेलमा ल्याउन सकियो त्यो सफलता हो । पर्यटन बोर्डमा मात्र सिमित रहेको कार्यक्रमलाई ठमेलसम्म ल्याउनु पनि त सफलता हो ।


अर्को कुरा ठमेलमा आउने पर्यटकहरुलाई स्वागत गर्ने र उनीहरुको आवश्यकताहरु अनुसार र मागअनुसारका उत्पादनहरुलाई वितरण गर्ने व्यवस्था पनि मिलाउनु पर्छ । रात्रिकालिन व्यवसायहरु मा नाइट क्लब मात्रै खोल्ने जुन प्रवृत्ति छन् त्यसलाई परिमार्जन गरेर पर्यटकका आवश्यकताहरु अनुसारका बजारहरु खोल्ने प्रक्रियाहरु अगाडी बढीरहेको छ ।


तात्कालिन गृहमन्त्री जनार्दन शर्मा ज्यूले ठमेल, दरबारमार्ग तथा पोखरा जस्ता पर्यटकिय स्थलहरुमा २४ सै घण्टा बजार खुलाउनपर्ने प्रस्ताव गरेका थिए । त्यसैलाई समातेर लविङ गरेका मात्र हौँ । तीन चार चरण वैठक समेत बस्यौँ । अन्त्यमा सिडिओ कार्यालयबाट आह्वान समेत गरिएको भएपनि अहिलेसम्म खुल्न सकेको छैन ।

ठमेल सुरक्षित र व्यवस्थित नभएको हुनाले रात्रिकालिन व्यवसायहरु शुरु हुन नसकेको हो कि ?


त्यस्तो होइन । ठमेल सुरक्षित छ । सुरक्षा व्यवस्थालाई थप कडाई बनाउने प्रवन्ध समेत मिलाइरहेका छौँ । केही गलत गतिविधि भने नियन्त्रणमा आउन सकेको छैन । ठमेलमा तेस्रो लिंगीहरु सडकमै देहव्यापार गरेको भेटिन्छ ।

सरकारले यति धेरै अधिकारहरु दिएका छन् उहाँहरुले पनि व्यवस्थित भएर आफ्नो काम गर्नुपर्ने हो तर मान्नुहुन्न । मैले पटकपटक उहाँहरुको अध्यक्ष संग भेटेर पनि कुरा गरे । तर, केही परिणाम आउन सकेको छैन । उहाँहरुलाई एउटा निश्चित स्थानमा आफ्नो व्यवसाय खोल्नुस बरु हामी सहयोग गर्छौँ तर बाटोबाटोमा नौटंकी नदेखाउनुस भनेका छौँ । आम्दानी गर्न सकिने योजनाहरु ल्याउनुहोस हामी सहयोग गर्छौँ तर बाटोमा देहव्यापार नगर्नुहोस् भनेका छौँ तर उहाँहरु सुन्नुहुन्न ।

ठमेल पर्यटन परिषदमा नेतृत्वमा आउनलाई जहिले विवाद हुन्छ । नेतृत्वमा अहिलेसम्म जो आए उनीहरुले ठमेलका व्यवसायीहरु त्यहाँका स्थानियहरुको विकास भन्दा आफ्नो दूनो सोझ्याउने काम गर्छ भनिन्छ नि । समाज विकास हो की व्यक्तिविकास हो ?


यो सत्य हो । तपाईँहरु टाढै बसेर भएपनि सहि मुल्यांकन गर्नुभएको रहेछ । ठमेल पर्यटन परिषद धेरै पुरानो संस्था हो । २०४७ सालमा स्थापना भएको हो । मैले पुराना फाइलहरु हेर्दा र परिषदको अहिलेसम्मको कामहरुको मुल्यांकन गर्दा मेरो नेतृत्वको टिमले गरेको जस्तो काम अरु कसैले गर्नै नसकेको रहेछ ।

तपाईँले त्यस्तो के गर्नुभयो जो अरुले अहिलेसम्म पनि गर्न सकेका थिएनन् ?


मैले पुर्वाधारको कुरा अघि पनि गरिसके । त्यसमा आर्थिक कुराहरु पनि जोडिन्छन् । भन्नलाई खर्बौँपतिको संस्था भनिन्छ तर संस्था पुरै खोक्रो भइसकेको हुन्छ । पहिले–पहिले आउनेहरुले संस्थामा एक सुका पनि नछोडि जान्थे । मेरो कार्यकालमा त कमसेकम विभिन्न किसिमबाट आर्थिक संकलन गर्ने र संस्थालाई आर्थिक हिसाबमा पनि मज्बुत बनाउने काम भएको छ ।

मैले विभिन्न स्किमहरुबाट पुगनपुग २० लाख त जम्मा गरेर राखिदिएको छु नि त । खर्च कम गर्नका लागि २ जना मात्रै कर्मचारी राखेका छौँ । एउटा कार्यलय सहयोगी र अर्को कार्यलय सचिव । अर्को आर्थिक भार भनेको ट्राफिकको घरभाडा पनि हामीले तिर्नुपर्छ । ट्राफिक हाम्रै कोअर्डिनेशनमा छ । सईसापको नेतृत्वमा कमसेकम २० जनाको कोटा छ उनीहरुको भार हामीले लिनुपर्छ । तर, काम भने उहाँहरु आफ्नै हिसाबले गर्नुहुन्छ ।

अर्को गर्व गर्न लायकको कुरा ठमेलभित्र सवारी साधन निषेध गरियो । तात्कालिन डिआइजी हालका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसंग मिलेर हामीले सो कार्यक्रमलाई सम्पन्न गर्यौँ । अहिले डेढ बर्ष नाघ्यो सो कार्यक्रमले मान्यता पाएको । यसलाइ अझै व्यवस्थित बनाएर संचालन गर्न सक्यौँ भने ठमेल साँच्चिकै ठमेल हुने थियो ।

ठमेललाई सुव्यवस्थित बनाउन तपाइकोे राम्रो योगदान गरेको दावि छ । तर, चुनावको मुखमा सदस्यता थपेर फेरि चुनाव लड्न लाग्नुभएको छ भन्ने छ नि ?


चुनाव आउनुभन्दा करिब ६ महिना अघिदेखि अन्य साथिहरुले ३०० जनाको एउटा समुह तयार पारेका रहेछन् । आफ्नो अनुकुलको वातावरण बनाउनको लागि सो समुह तयार पारेको भनिएको थियो । तर, त्यो समुह निर्माणमा मेरो कुनै भुमिका छैन । उनीहरुले सो समुहलाई पनि सदस्यता दिनको लागि आग्रह गरेका थिए । मैले मेरो समितिको महासचिव र कार्यसमितिका अन्य साथिहरुसंग छलफल र सुझाव लिएँ । उहाँहरुले हुँदैन भन्नुभएको थियो ।


म परिषदको लागि मरिमेट्ने मान्छे । परिषदकै लागि भनेर व्यक्तिगत र पारिवारिक जीवन समेत त्याग गरेको छु । आफ्नो व्यक्तिगत व्यवसायलाई समेत तिलाञ्जली दिएर यहाँसम्म आएको हुँ । त्यतिबेला परिषदमा जोडिनका लागि सदस्यता शुल्क स्वरुप २२ सय लाग्दथ्यो । अन्य साथिहरुले जम्मा पारेको ३ सय जनाबाट करिब साँढे ६ लाख रुपैयाँ जम्मा हुन आउँथ्यो । ६ महिना चुनाव आउन बाँकी छ साधारण सभा पनि बाँकी भएको कारण म किन डराउने भन्ने सोच राखे । आर्थिक रुपले परिषदमा पनि केही रकम जोडिने भएपछि म किन पछि हट्ने भन्ने सोचे र सदस्य थप गरेको हुँ । यसमा मेरो कुनैपनि व्यक्तिगत स्वार्थ छैन । उहाँहरु जसले सो समुहलाई ल्याए उहाँहरुलाई मैले चेतावनी पनि दिएँ, ‘भोली दायाँवायाँ भयो भने जिम्मेवारी तपाईँहरुले लिनुपर्छ ।’


उपसमिति बनाउँदा पनि पहिलेको ट्रेण्ड अनुसार आ–आफ्नो नजिकका मानिसहरुलाई समितिमा राखिन्थ्यो । तर मैले त्यस्तो कैहिल्यै गरिँन । ढलको काम गर्दा निकै नै गाह्रो भएको थियो । बाटो साँघुरो भएको कारणले ढल निर्माण गर्दा घर नै भत्किन सक्ने अवस्थाको सिर्जना भएको थियो । चौतर्फी विरोध भएपछि म आफै मैदानमा उत्रिएर सबैलाई मिलाएर बल्लबल्ल ढलको काम सम्पन्न गरेँ ।

त्यसपछि फेरी खानेपानीमा समस्या उत्पन्न भयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पाइप ढल निर्माण गर्दा ध्वस्त भयो । फेरि केयूकेएलमै गएर त्यहाँका हाकिमहरुलाई विन्ति विसायौँ । अब यस्तो काम हामीबाट हुँदैन गल्ती भयो भनेर विन्ति बिसायौँ, धेरै अनुरोध गरेपछि उहाँहरु पुन नयाँ पाइपलाइन विस्तार गरिदिन सहमत हुनुभयो । यी सबै कामहरु मैले आफ्नो भोट बढाउन भनेर चुनावकै मुखमा गरेको भने होइन ।


अब आउने चुनावमा तपाईँ अध्यक्षका लागि लड्दै हुनुहुन्छ, एक कार्यकाल अनुभव पनि भयो । अबको चुनावी एजेण्डा केके छन् ?


एक कार्यकाल भन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान भएको भए म छोडिदिन्थे । तर, विधानमा एउटा अध्यक्षले दुइ कार्यकालसम्म काम गर्न पाउने भनेर लेखिएपछि मलाई अझै परिषदमा बसेर काम गर्ने इच्छा जागेको हो । पहिलो कार्यकालमा पुरा हुन नसकेका कामहरु दोस्रो कार्यकालमा पुरा गर्नेछु । धेरै छन् छुटफुट कामहरु । ठमेललाई राम्रो हुनु भनेको राष्ट्रलाई राम्रो हुनु हो । ठमेलबाट हुने आयआर्जन राज्यको ढुकुटीमा पनि केही प्रतिशत पुग्छ यसबाट सरकारको राजश्व पनि बढ्छ ।


तपाईँको परिकल्पना के छ ? चुनाव जित्नको लागि केही न केही एजेण्डा त चाहिन्छ नि के छ तपाईँको तयारी ? भोटरहरुलाई के देखाउनुहुन्छ चुनाव जित्नका लागि ? भोटरहरुलाई त्रासमा राख्नुहुन्छ भन्ने आरोप पनि छ नि तपाईँमा ?


मलाई मन नपराउने मानिसहरु पनि छन्, उहाँहरुले मलाई कुन रुपमा हेर्नुहुन्छ त्यो त मलाई थाहा छैन । जो–जोले त्रासको महशुस गर्नुभएको छ उहाँहरुले मलाई गलत रुपमा लिनुभएको छ । मेरो सबैभन्दा प्राथमिकताको विषय भनेको नेपाल भ्रमण वर्ष २०२० हो । राज्यले ल्याएको उद्देश्यलाई सफल बनाउनु मेरो मुख्य एजेण्डा रहेको छ । त्यसलाई सफल बनाउने आधारहरुको पहिलो नम्बरमा पर्यटकको सुरक्षाको विषय रहेको छ ।

पर्यटकको मुख्य गन्तब्य स्थल नेपाल भएको कारण उनीहरुको सुरक्षा हाम्रो जिम्मेवारी हो । ठमेललाई साइबर्ग सिटी बनाउने मेरो ठुलो सपना समेत हो । थप दुई बर्ष काम गर्न पाएभने साइबर्ग सिटीको सपना समेत पुरा गर्नेछु । साइवर्ग सिटीअन्तर्गत प्रत्येक ५० मिटरको दुरीमा सीसीटिभि क्यामेर जडान गरिने छ । चोक–चोक र हरेक एक्जिटहरुमा सिसिटिभि जडान गरिने छ ।

सीसीटिभीसहित लाइभ वेभक्याम समेत जडान गरिने छ । वेभक्यामको व्यवस्था भएपछि विश्वको जुनसुकै स्थानहरुबाट पनि ठमेललाई हेर्न सकिन्छ, यसबाट ठमेलको प्रचारसमेत सजिलै हुन्छ । वेभक्याम भएपछि ठमेल भित्र गलत गतिविधि संचालनमा पुर्ण रुपमा रोक लगाउन सकिन्छ ।


ठमेल भित्र छिर्ने बित्तिकै गार्डेन अफ ड्रिम नाम गरिएको ठुलो पर्खाल रहेको छ । त्यो ठुलो पर्खालहरुमा नेपालका प्रसिद्ध चिजहरुको पेन्टिङ गर्ने, मोडर्न आर्ट प्रतियोगिताहरु गर्ने लगायत थुप्रै कामहरु गर्न सकिन्छ । त्यसका लागि इच्छा र लगनशील हुन जरुरी रहेको छ ।


त्यस्तै पर्यटकिय स्थल तथा पुरातात्विक महत्वका संरचनाहरुको संरक्षण संवद्र्धनमा मैले विशेष जोड दिने छु । जिर्ण अवस्थामा पुगेका संरचनाहरुको जिर्णोद्धार गर्ने विषयमा सरकारसंग पनि लविङ गर्ने र व्यक्तिगत र संगठनात्मक तरिकाले पनि कसरी सम्भव हुन्छ त्यसरी अगाडी बढ्ने छु ।


‘ठमेलमा आवश्यक सवारी साधनहरुलाई निषेध गरेर परिषद र प्रहरी प्रशासनले हामीलाई असाध्यै दुख दियो’ भनेर एउटा ठुलो समुहले हस्ताक्षर संकलन समेत गरेर निवेदन दर्ता गरेका छन् ।

उनीहरुको असन्तुस्टिको विषयमा तपाईँको धारणा के छ ?


ठमेलभित्र यातायातका साधनहरु प्रवेश निषेध गर्नेवित्तिकै ठुलो संख्याका स्थानियहरुले विरोध गरेका थिए । कि सबै बन्द गर्नुपर्यो कि सबै खुलाउनु पर्यो भन्ने उहाँहरुको माग हो । आगामी दिनहरुमा यसलाई पनि मिलाएर लैजाने छौँ । अमृत मार्ग र ज्याठा दुई ठाउबाट प्रवेश गर्ने गरि संचालन गर्ने प्रयास गर्ने छौँ । पर्याप्त पार्किङको स्थानहरु नभएको कारण पनि ठमेलमा यातायात निषेध गरिएको हो । पार्किङका लागि धेरै ठाउँहरु खोज्यौँ तर सबैतिरबाट अस्वीकृत भए ।

समाजकल्याण परिषदको परिसरमा पार्किङको सम्भावना थियो तर उपराष्ट्रपति नै त्यहाँबाट सर्ने भएपछि त्यता पनि मिलेन । लैनचौरमा प्रयास गरिएको थियो तर त्यहाँ पनि नमिलेपछि त्यसलाई अहिलेका लागि थाति राखेका छौँ । स्काउट रहेको स्थानमा सम्भावन देखिएको छ हामी त्यतातिर पनि लविङ गर्दै छौँ ।


ठमेल क्षेत्रहरुमा ठुलाठुला भवनहरु निर्माण हुन थालेका छन् । विभिन्न कम्प्लेक्स र पाँचतारे होटलहरु निर्माण हुने प्रक्रियामा छन् । ठमेल त्यसै पनि धरापमा छ । भुकम्पीय दृष्टिले हेर्दा ठमेल जोखिममा रहेको कुरा भूगर्वविधहरुले समेत बताएका छन् । सबै होटल र व्यवसायका एक जना कर्मचारीहरुलाई भुकम्प आउँदा अपनाउनपर्ने सावधानहरुका विषयमा तालिमहरु समेत दिने व्यवस्था मिलाउन लागेका छौँ । यसबाट केही जोखिमहरुबाट बाँच्न र बचाउन सकिन्छ ।


ठमेल विकास परिषदमा विभिन्न अनियमितताको कुरा पनि आएको छ नी ? पूर्व अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले ट्राफिक दुरुपयोग देखि म्याप बनाउँदा अनियमितता गरेको समेत खुलाशा भएको छ नी ?


ठमेल विकास परिषद पारदर्शी तरिकाले अगाडी बढेको छ । मेरो कार्यकालमा त्यस्ता कुनै अनियमितता भएको भए सम्बन्धित निकाय छानबीन तथा कारबाही गर्न स्वतन्त्र छ । म भन्दा अघिको कार्यकालमा कसैले बदमासी गरेको कुरा मैले नैतिक जिम्मेवारी लिन मिल्दैन । किन भने यो संस्था हो । संस्थामा अध्यक्ष आउने जाने भइरहन्छ । म सुधार गर्न आएको हुँ । मैले गरेर देखाएको पनि छु । मेरो कार्यकालमा सबै कुरा पारदर्शी छ । कुनै स्वतन्त्र निकायले पनि हेर्नसक्छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?


कतिपयले ठमेल सरेर लाजिम्पाट पुग्यो भन्छन् तर ठमेल ठमेल नै रहन्छ काहीँ जाँदैन । ठमेलमा गर्नुपर्ने व्यवस्थापनका कामहरु गरिरहेको छु र आगामी दिनहरुमा अझै व्यवस्थित बनाएर लैजाने कोशिस गर्ने छु । ठमेलभित्र चल्ने रिक्साहरुको व्यवस्थापन पनि एउटा पाटो हो । म प्रत्येक छलफलमा रिक्सा चालकहरुलाई बोलाउँछु, उहाँहरुलाई सुझाव दिन्छु, उहाँहरुबाट पनि लिन्छु । उहाँहरुको दायित्वको बारेमा सम्झाउदै अगाडी बढाउने कोशिस गर्छु ।


आफ्नो पेटको लागि फुटपाथमा समेत व्यापार गरिरहेका हुन्छन् । फुटपाथमा व्यापार गर्नु गलत हो तर उनीहरुको जीवनको पनि त प्रश्न उठ्छ, वाध्यतामै परेर त गरेका छन् । व्यापारीले लखेटेर वा पुलिस आएर नाङलो फालिदिएर मात्रै समस्याको समाधान हुन्छ ? मैले ति फुटपाथका व्यापारीहरुलाई समेत राखेर मिटिङ गर्ने गर्दछु । उनीहरुलाई व्यवस्थित भएर हिँड्न समेत आग्रह गर्ने गरेको छु । ‘कुनै होटल, कम्पनी अथवा व्यवसायका लागि काम गछौ भने सो संस्थाको कार्ड बनाउ, युनिफर्म लगाउ’ भनेर व्यवस्थित हुन आग्रह गरेका छौँ । पर्यटक आउने बित्तिकै लुछाचुरी हुने, यतै तान्ने उतै तान्ने, त्यस्तो प्रवृत्ती नदेखाउ भनेर हामीले सबैमा जनचेतना फैल्याएका छौँ ।

समाज परिवर्तन आफैबाट शुरु गर्नुपर्दछ भन्ने मेरो मान्यता छ । सबै कुरामा राज्यको मुख ताकेर बस्न हुँदैन । राज्यले बजेट देला त्यसपछि कामहरु गरौँला भन्ने मानसिकता राख्नुहुँदैन । हुनसक्ने कुराहरु आफैबाट शुरुवात गर्नसके राम्रो हुन्छ ।

सम्बन्धित खबर