चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा उक्लियो

चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा उक्लियो

काठमाडौं, १९ बैशाख । धनगढी एफसीले एफसी चितवनलाई हराएको छ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता अन्तगर्त आज सम्पन्न पहिलो खेलमा धनगढीले चितवनलाई हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज सम्पन्न दिनको पहिलो खेलमा धनगढीले चितवनलाई ३–० को फराकिलो अन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको १६ मिनेटभित्र लगातार तीन गोल गर्दै धनगढीले चितवनमाथि सहज जित हात पार्यो ।

६४ औं मिनेटमा निशान लिम्बुको गोलबाट धनगढीले १–० को सुरुवाती अग्रता लियो । पहिलो गोल गरेको पाँच मिनेट नबित्दै ओलवाले अफिजले गोल गर्दै धनगढीको अग्रतालाई दोब्बर बनाए ।

८० औं मिनेटमा बुद्धबल तामाङले गरेको गोल धनगढीको चितवनमाथि ३–० को जित दिलाउन पर्याप्त भयो ।

जितसँगै धनगढी अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसले चार खेलमध्ये दुईमा जित, एक बराबरी र एकमा हार खेलेर सात अङ्क जोडेको छ ।

पाँच अङ्कसहित बुटबल दोस्रो स्थानमा र चार अङ्कसहित बिराटनगर तेस्रो स्थानमा छ ।

Trending News